• १६ भदौ २०८१, आइतबार

हिल्सा सिमकोट सडक आयोजनालाई बजेट अभाव

blog

आयोजनाको निर्माणाधीन च्याछरा सडक ।

राजन रावत

हुम्ला, फागुन २५ गते । हिल्सा सिमकोट सडक आयोजनालाई बजेट अभाव भएको छ । आयोजनालाई कवाडीदेखि हिल्सासम्म काम गर्ने योजना बढी तर मन्त्रालयबाट बजेट कम विनियोजित भएपछि बजेटको अभाव देखिएको हो । 

आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले चालु आर्थिक वर्षमा आयोजनालाई बजेटको अभाव देखिएको बताउनुभयो । आयाेजानले हुम्ला जिल्ला भित्र पर्ने कर्णाली कोरिडोरको कवाडीदेखि चीनसँगको सिमाना हिल्सासम्म सडक निर्माणको काम गर्दै आएको छ । उहाँले यी क्षेत्रमा एउटा नयाँ सडक निर्माण र छ वटा वडा स्तरोन्नति गरी सात वटा सडकका योजना रहेको बताउँदै पाँच वटा पक्की पुल निर्माण कार्य भई रहेको बताउनुभयो । 

त्यसै सलीसल्लादेखि हिल्साको १२५ दशमलव नौ किलो मिटर सडक खण्डमा पाँच वटा कल्भर्टहरू पनि निर्माणाधीन अवस्थामा छन् । एउटा योजनाको बजेट ३० करोडसम्म रहेको छ । अधिकांश योजनाहरूको निर्माण कार्य धमाधम भइरहेको छ । चालु आर्थिक वर्षका यी सडक, पुल र कल्भर्ट निर्माणका लागि ३० करोड पाँच हजार बजेट मात्र विनियोजित गरिएको छ । जब कि आयोजनालाई सत्तरीदेखि ८० करोड बजेट वार्षिक आवश्यक पर्छ ।

आयोजनाको लेखा प्रमुख विजय रोकायाले विनियोजित बजेटमध्ये १७ करोड भुक्तानी दिई सकिएको छ भने आठ करोडको बील उठेको बताउनुभयो । उहाँले काम गर्ने समय अझै बाँकी भएको कारण हालको बजेट अपुग हुने निश्चित भएको बताउनुभयो । अब पाँच करोड मात्र बाँकी रहनेछ । 

आयोजनाका निर्माणाधीन योजनाहरू बहुवर्षीय छन् । उहाँले बजेट अपुग हुने देखिएपछि आयोजनाले २१ करोड बजेट थप माग गरेको एक महिनाभन्दा बढी भएको भएपनि हालसम्म बजेट नआएको बताउनुभयो । उहाँले बजेटको अभाव हुने देखिएको कारण समय मै बजेटको व्यवस्था गर्न मन्त्रालय र विभागलाई आग्रह गर्नुभयो । केही योजनाको निर्माण कार्य बजेट अभावको जानकारी गएपछि काम सुस्ताएको छ । आयोजनाले हालसम्म साठी प्रतिशत भौतिक प्रगति हासिल गरेको छ भने ३९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।