चङ्खेली समाचारदाता
हुम्ला, मङ्सिर २७ गते । अत्यधिक चिसो बढेपछि हुम्लाका अधिकांश विद्यार्थीलाई वार्षिक परीक्षा खुला चौरमा घाममा बसेर दिनुपर्ने बाध्यता रहेको छ । हिमपात नहुँदै चिसो बढ्दा कक्षाकोठामा परीक्षा दिन सकिने अवस्था नभएपछि विद्यालयले यसरी चौरमा घाम तापेर परीक्षा दिने व्यवस्था गरेको हो ।
अदानचुली गाउँपालिका–१, कल्खेगाउँको जनकल्याण माध्यमिक विद्यालयमा गत मङ्सिर २१ गतेबाट सुरु भएको वार्षिक परीक्षा खुला चौरमा परीक्षा दिने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक परबहादुर थापाले बताउनुभयो ।
चिसोका कारण कक्षाकोठामा बसेर परीक्षा दिँदा चिसोले परीक्षार्थीले लेख्न नसक्ने अवस्था आएपछि डेस्क बेन्च चौरमा राखेर परीक्षा दिएका छन् भने मष्टादेव आधारभूत विद्यालयका विद्यार्थी चौरमा ढुङ्गा बिछ्याएर परीक्षा दिने गरेका छन् ।
सो विद्यालयमा मात्रै नभए जिल्लाका सबै विद्यालयमा सबै कक्षाका परीक्षा चौरमा दिने व्यवस्था गरिएको छ । भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक कालीबहादुर शाहीले बताउनुभयो । जिल्लामा हिमपात नभएको भए पनि चिसो माइनस डिग्री सेल्सियसमा झरेपछि विद्यार्थीलाई खुला चौरमा घाम तापेर परीक्षा दिने व्यवस्था गर्नुपर्ने बाध्यता आएको छ ।
जिल्लाका ताँजाकोट, अदानचुली, सिमकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकाका विद्यालयमा पनि बाहिर परीक्षा लिने गरिएको छ । विद्यालयले आफ्नो अवस्था अनुसार वार्षिक परीक्षा दिने व्यवस्था गर्दै आएका छन् । जिल्लाको शैक्षिक सत्र वैशाख महिनामा सुरु भएर यतिबेला सकिने गरेको छ ।