सहदेव बस्नेत
जाजरकोट, मङ्सिर २७ गते । बढ्दो वन विनास, अतिक्रमणका कारण नाङ्गिँदै गएका छेडागाडका सामुदायिक वन पछिल्लो समय हरियाली देखिन थालेका छन् । ‘माई फरेष्ट चाइल्ड’ परियोजनाले छेडागाडका १२ वटा सामुदायिक वनमा वृक्षारोपण गरेपछि हरियाली देखिन थालेका हुन् ।
सामुदायिक सहभागितामार्फत सञ्चालन गरिएको यस अभियानअन्तर्गत नगरपालिकाका १२ वटा सामुदायिक वनको ३० हेक्टर क्षेत्रफलमा रिट्ठो, अमला, सिसौ, बाँस, अम्लिसो, टुनी जातका ४८ हजार बढि बिरुवा रोपिएको छ ।
परियोजनाले जिल्लाको छेडागाड नगरपालिका १, ४, र १२ नं. वडाका विभिन्न १२ सामुदायिक वनमा आफ्नो कार्यक्षेत्र बनाई दिगो वन विकास र व्यवस्थापनका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गरिरहेको छ । परियोजनाका कार्यक्रम संयोजक गणेश पाण्डेले ती सामुदायिक वनहरूमा बोट बिरुवाहरू मासिँदै गएको ३० हेक्टर बढी क्षेत्रमा करिब ४८ हजार बिरुवा रोपिसकिएकोे जानकारी दिनुभयो ।
वन ‘फडानी, आगलागी अतिक्रमण र जथाभावि रूपमा गरिएको विकास निर्माणका कार्यले वन मासिँदै गएपछि सो क्षेत्रमा स्थानीय वन समूह मार्फत वृक्षारोपण गरिएको संयोजक पाण्डेले बताउनुभयो ।
वन तथा वातावरण संरक्षणका लागि ‘माई फरेष्ट चाइल्ड’ परियोजना पाइलट प्रोजेक्टको रूपमा रहेको भन्दै यो अभियान स्थानीय समुदायमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।
परियोजनाले वृक्षारोपण गरी वन हरियाली बनाउने मात्रै नभई यसमा समुदायलाई जोडेर उनीहरूको जीवनशैली परिवर्तन गर्ने परियोजनाको उद्देश्य रहेको छ । ‘‘यो काम केवल वृक्षारोपणमा सीमित छैन, परियोजनाले वनसम्बन्धी सबै अभिलेख व्यवस्थापन, युवाको भूमिका, विद्यालय सुधार र सामुदायिक निगरानीसम्मका क्रियाकलापलाई समेत परियोजनाले जोड्ने छ ।’’ उहाँले भन्नुभयो ।
कार्यक्रमलाई थप प्रभावकारिता बढाउन स्थानीय सरकार, सब–डिभिजन वन कार्यालयसँगको समन्वय गरिरहेको छ । ‘माई फरेष्ट चाइल्ड’ परियोजनाले सञ्चालन गरेको यो वृक्षारोपण अभियानले वन क्षेत्र संरक्षण, माटो कटान नियन्त्रण, जैविक विविधता विस्तार तथा स्थानीय समुदायमा वातावरणीय सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।