• १६ भदौ २०८१, आइतबार

सिरियानाकामा खानेपानीको समस्या

blog

राजपुर गाउँपालिका-१ सिरियानाका खोलामा रहेको जरुवाबाट खानेपानी बोकेर ल्याँदै महिलाहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, फागुन २४ गते । हिउँदमा खोलामा पानी सुक्ने भएपछि राजपुर गाउँपालिका-१ सिरियानाका निवासी मनकुमारी पुनलाई खानेपानीको समस्याले सताउन थालेको छ । घर नजिकै रहेको सिरिया खोलामा जरुवा बनाएर खानेपानीको जोहो गर्दै आउनुभएकी पुनलाई सुक्खा समयमा खोलासँगै जरुवा पनि पानी सुक्ने भएका कारण पानीकै लागि कति खोला चहार्नुपर्ने हो भन्ने चिन्ताले सताउने गरेको बताउनुहुन्छ ।   

खोलामा पानी सुक्न थालेपछि खानेपानीकै लागि बिहानै ३-४ बजे उठेर खोलामा पानी खोज्दै हिँड्नुपर्ने बाध्यता हुने गरेको बताउनुहुन्छ । बर्षाैंदेखि खानेपानीका लागि गाउँपालिकासँगै नेताहरूलाई भनेपनि समस्या समाधान हुन नसकेको भन्दै पुनले भन्नुभयो, "गाउँमा खानेपानी नहुँदा पानीकै लागि खोलामा घण्टौँसम्म खोज्दै हिँड्नुपर्ने बाध्यता छ।" खानेपानीका लागि खोलामा खोज्दै हिँड्नुपर्ने र पानी जमेको ठाउँ भेटिए छेउमा जरुवा बनाएर गर्मी समयमा पानीको व्यवस्था गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

पानीकै समस्या कारण व्यक्तिगत सरसफाइ, शौचालय प्रयोगसँगै गाईबस्तुलाई समेत समस्या पर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, "खोलामा पानी बग्दासम्म त समस्या हुँदैन । खोलाको छेउछाउमा जरुवा बनाए पानी आइहाल्छ तर पानी बग्न छोड्यो भने जरुवा पनि सक्न थाल्छन् अनि मानिसलाई मात्रै होइन गाईबाख्रालाई पनि पानीको समस्या हुने गर्दछ ।" गाउँमा दीर्घकालीन खानेपानी समस्या समाधानका लागि व्यवस्थित खानेपानी योजना आवश्यक रहेपनि नेताहरूले ध्यान नदिएको उहाँको गुनासो छ । 

खानेपानीका लागि मनकुमारीको जस्तै गुनासो छ, सिरियानाका निवासी इन्दिरा घर्तीको पनि । खानेपानीको समस्या पटक-पटक नेताहरूलाई सुनाए पनि समाधानका लागि पहल नगरिदिँदा सुक्खायामसँगै पानी पर्दा समेत खानेपानीको समस्या भोग्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । निर्वाचनका क्रममा नेताहरूले स्वच्छ र सफा खानेपानीको नारा ल्याउने जितेपछि खानेपानीको व्यवस्था गर्ने आश्वासन दिने गरेपनि निर्वाचन जितेपछि जनतालाई बिर्सिदा जनता खोलाको पानी खानुपर्ने बाध्यतामा रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, "निर्वाचनका क्रममा जनतालाई आश्वासन दिनुहुन्छ तर जितेपछि बिर्सिने बानीले जनताले दुःख पाउनुपर्ने अवस्था छ ।" 

खानेपानीका लागि व्यवस्था भइदिए खोलाको पानी खानुपर्ने बाध्यता हट्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, "गाउँमा खानेपानीका लागि धारा, कुवा छैनन् । पानीका लागि जरुवाकै भर हो तर गर्मी समयमा जरुवामा पानी सुक्ने हुँदा समस्या हुन्छ, वर्षादमा खोलाले जरुवा पुरिएर समस्या गर्छ ।" पानीको अभावका कारण घरायसी कामसँगै शौचालय प्रयोग गर्न समेत समस्या हुने गरेको घर्ती बताउनुहुन्छ ।

मनकुमारी र इन्दिराको मात्रै खानेपानीको समस्या होइन सुक्का समयमा खोलामा पानीको श्रोत सुक्दा जरुवा सुक्ने भएका कारण सिरिया नाकामा बस्तीमा बसोबास गर्ने ४२ घर परिवारलाई पानीको समस्या हुने गरेको छ । जरुवा नसुक्दासम्म खोलाकै पानी ल्याएर खानेदेखि घरासायी काममा प्रयोग गर्ने गरेपनि सुक्खा समयमा पानी सुक्ने भएका कारण समस्या हुने गरेको स्थानीय टेकबहादुर पुन बताउनुहुन्छ । 

राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवि यादवले भने नाकाक्षेत्रमा खानेपानी समस्या समाधानका लागि गाउँपालिकाले पानीको मुहान संरक्षणदेखि पाइपका माध्यमबाट गाउँसम्म पानी लग्ने व्यवस्था गरिरहेको र त्यही क्रममा केही बस्ती छुटेको हुन सक्ने बताउनुभयो । छरिएर रहेका बस्तीसँगै खानेपानीको मुहान सुक्ने समस्या कारण नाकाक्षेत्रका बस्तीहरूमा खानेपानीको समस्या बढ्न थालेपछि गाउँपालिकाले स्थानीय समुदायलाई नै अग्रसर बनाएर मुहान संरक्षणसँगै खानेपानीका लागि पाइप विस्तार गरेर बस्तीबस्तीसम्म पुर्‍याउने काम गरेकाले पहिलेको तुलनामा पछिल्लो समय धेरै सहजता भएको बताउनुभयो । उहाँले भन्नुभयो, "नाकाक्षेत्रका बस्तीहरूमा खानेपानीको सुविधा पुर्‍याउनका लागि काम गरिरहेका छौँ तर नाका क्षेत्रमा छरिएर रहेका बस्तीका कारण अहिले पनि केही ठाउँमा खानेपानीको समस्या छ ।"