• १६ भदौ २०८१, आइतबार

ओलम्पिक खेलाडीहरूलाई गण्डकी सरकारको मासिक पाँच हजारसहित सम्मान

blog

सम्मानित भएका खेलाडीहरु । तस्बिर : गण्डकी प्रदेश सरकार सचिवालय

काठमाडौँ, फागुन २३ गते । गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरूलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक पाँच हजार (वार्षिक ६० हजार) रुपियाँ सहित खेलाडीलाई बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरूमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनीषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सधैँ रहिरहोस् भन्ने उद्देश्य रहेको बताउनुभयो ।

‘‘हिजो राष्ट्रकालागि खेल्नुभएका खेलाडीहरू आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उहाँहरूलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो,’’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्तर्गत यस वर्ष प्रदेश खेलकुद परिषद्मा सूचीकृत भएका पाँच सय ९४ जना र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका एक सय जनाको स्वास्थ्य बिमा गरेको छ । 

खेल क्षेत्रको विकास, खेलाडीको सम्मान र नयाँ पुस्तालाई खेल तर्फ आकर्षित गर्न प्रदेश सरकारले खेल मैदान स्तरोन्नति, विद्यालय, जिल्ला स्तरीय प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो ।

प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्ष र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, नेपाल ओलम्पियन खेलाडी सङ्घका अध्यक्ष दीपक विष्ट लगायतको उपस्थिति रहेको थियो । 

सम्मानित भएका खेलाडीहरू । तस्बिर : गण्डकी प्रदेश सरकार सचिवालय