• १६ भदौ २०८१, आइतबार

शालीन मृत्यु प्रकरण

भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षण कुर्दै प्रहरी

blog

वसन्त पराजुली

भरतपुर, फागुन २२ गते । चितवनको रत्ननगर नगरपालिका–१० मा अवस्थित एकता शिशु निकेतन स्कुलमा अध्ययनरत छात्रा शालीन पोखरेलको मृत्यु प्रकरणमा परिवारको दाबी र पोस्टमार्टम रिपोर्ट बाझिएसँगै मुद्दालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा प्रहरीले थप परीक्षणको रिपोर्ट कुर्ने भएको छ ।

‘ह्याङ्गिङ’ भन्ने शव परीक्षण रिपोर्ट आएसँगै प्रहरीले अनुसन्धानलाई निष्कर्षमा पु-याउन अब भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षणलाई कुर्ने भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताउनुभयो । “परिवारको किटानी जाहेरीभन्दा फरक ढङ्गले पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरी अनुसन्धानलाई निष्कर्षमा पु-याउन भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षणको रिपोर्ट कुर्नुपर्ने भएको छ,” उहाँले भन्नुभयो । 

त्रिवि शिक्षण अस्पतालले शालीनको मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको प्रहरीलाई जनाएको छ । आइतबार प्राप्त शव परीक्षण रिपोर्टमा ‘ह्याङ्गिङ’ अगाडि शालीनको बलात्कार नभएको पनि उल्लेख भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । 

फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालीन पोखरेल मृत फेला परेकी थिइन् । होस्टेलको कोठाभित्रै झुन्डिरहेको अवस्थामा भेटिएकी शालीनको बलात्कारपछि हत्या भएको आरोप लगाउँदै  उनका परिवारले प्रहरीमा हत्याको किटानी जाहेरी दिएका छन् ।

सोही जाहेरीका आधारमा प्रहरीले सो स्कुलका प्रधानाध्यापक बालहरि देवकोटासहित तीन शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । “हत्या वा आत्महत्या दुरुत्साहन भन्ने कुरा सबै रिपोर्ट आएपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ । एउटा पोस्टमार्टम रिपोर्टले मात्रै समग्र अनुसन्धानमा निर्णय गर्न सकिँदैन,” भण्डारीले भन्नुभयो ।

अहिले प्रहरीले भिसेरा टेस्ट, फरेन्सिक रिपोर्ट र सुसाइट नोटको परीक्षण प्रहरी प्रधान कार्यालयमा रहेको प्रयोगशालामा भइरहेको छ । यो रिपोर्ट आउन अझै केही दिन लाग्न सक्ने बताइन्छ । परिवारले भने शव परीक्षण रिपोर्टलाई विश्वास गर्न सकिरहेको छैन । अनुसन्धान अझै सशक्त बनाउन परिवारले सार्वजनिक रूपमै माग गरिरहेका छन् । 

कक्षा ८ मा पढ्ने १४ वर्षीय पोखरेल प्लास्टिकको डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनी दुई वर्षदेखि सोही होस्टेलमा बस्दै आएकी थिइन् । उनका बुवा र आमा दुवैले दोस्रो विवाह गरेपछि छोरी होस्टेलमा बस्न थालेकी हुन् । यो घटनाबारे सामाजिक सञ्जालमा विभिन्न कोणबाट प्रश्न उठाइएको छ । 

भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारी यस्ता घटनाको सत्यतथ्य पहिचानका लागि फरेन्सिक विज्ञहरूलाई घटनास्थलको समेत अध्ययन गराउनुपर्ने बताउनुहुन्छ । “प्रहरीको पनि घटनास्थल अध्ययन र मुचुल्का उठाउने शैली वैज्ञानिक छ तर अझै यसैलाई सहयोग गर्न घटनास्थलमा विज्ञ टिमबाटै फरेन्सिक गराउन सकिएको भए अझै राम्रो हुने थियो,” उहाँले भन्नुभयो ।