• २० वैशाख २०८१, बिहिबार

राष्ट्रिय सभा

उन्नाइस सदस्यको शपथ आज

blog

काठमाडौँ, फागुन २१ गते । राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले सोमबार शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिँदै छ । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुने जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिने भएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउनुहुने प्रवक्ता गिरीले जानकारी दिनुभयो । 

सङ्घीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यमध्ये एक जनाले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रेनु चन्दले मातृभाषामा शपथ लिनुहुने छ । उहाँ नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित हुनुभएको हो । 

गत माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रिय सभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् । शपथग्रहण गरेका सदस्य सोमबार नै राष्ट्रिय सभाको बैठकमा सहभागी हुने छन् । राष्ट्रिय सभाको सोमबारको बैठक अपराह्न १ बजेर १७ मिनेटमा बस्ने तय गरिएको छ । 

माओवादी केन्द्र ठुलो दल

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सत्तारूढ नेकपा (माओवादी केन्द्र) ठुलो दल बनेको छ । राष्ट्रिय सभामा सो दलको प्रतिनिधित्व गर्ने सदस्यको सङ्ख्या १७ पुगेको छ । प्रतिनिधि सभामा भने माओवादी केन्द्र तेस्रो ठुलो दल हो । 

राष्ट्रिय सभामा नेपाली कांग्रेस दोस्रो ठुलो दल बनेको छ । सो दलको सदस्य सङ्ख्या १६ छ । यसअघि ठुलो दल रहेको नेकपा (एमाले) तेस्रो हैसियतमा पुगेको छ । प्रतिनिधि सभामा नेपाली कांग्रेस ठुलो र नेकपा (एमाले) दोस्रो ठुलो दल हो । 

प्रतिनिधि सभामा राष्ट्रिय दलको हैसियत नपाएको नेकपा (एकीकृत समाजवादी) भने राष्ट्रिय सभाको चौथो ठुलो दल हो । सो दलको सदस्य सङ्ख्या आठ छ । राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति छैन । 

अध्यक्षको निर्वाचन

राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्ने गरी सम्भावित कार्यसूची तय गरिएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आइतबार मध्यरातमा सकिँदै छ । 

राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुन महिनाका लागि तयार गरेको सम्भावित कार्यसूचीबमोजिम अध्यक्षको निर्वाचन यही फागुन २९ गते गर्ने तय भएको थियो । 

सचिवालयका प्रवक्ता गिरीले भन्नुभयो, “एक तिहाइ सदस्य निर्वाचित भएर आउनुभएको छ । कार्यव्यवस्था समिति पुनर्गठन हुन सक्छ । पुनर्गठित समितिले कार्यसूची हेरफेर नगरेमा सम्भावित मितिमै अध्यक्षको निर्वाचन हुन्छ ।”