• १२ साउन २०८१, शनिबार

निःशुल्क आँखा शिविरले एक सय बढीको जीवनमा उज्यालो

blog

ताप्लेजुङ, फागुन १९ गते । करिब तीन वर्षपछि आँखाको दृष्टि पुनःस्थापित भएपछि पाँचथरको हिलिहाङ गाउँपालिका-५ का ५५ वर्षीय वमप्रसाद योङ्हाङ र उहाँको परिवारमा यतिबेला खुसियाली छाएको छ । 

मोतियाबिन्दुका कारण पूर्णरुपमा आँखाको दृष्टि गुमाउनुभएका योङ्हाङ पुनःउज्यालो जीवनमा फर्किएपछि खुसियाली छाएको हो । योङ्हाङको दुवै आँखाको शल्यक्रिया भएको हो । यता फुङ्लिङ नगरपालिका १० फुरुम्बुकी ७५ वर्षीय मनकुमारी लेछर्बो खुसी हुनुहुन्छ । केही वर्षदेखि आँखाको समस्या भोगिरहनुभएकी लेछर्बोले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी हुनुभएको हो । 

नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइत र उहाँको टिमले योङ्हाङ र लेछर्बोसहित एक सय बढीको जीवनमा उज्यालो फर्काइदिएको छ । ताप्लेजुङमा आयोजित आँखा शिविरमा विभिन्न समयदेखि मोतियाबिन्दुका कारण ज्योति गुमेपछि अन्धकारमा परेका १५४ जनाको सफलतापूर्वक शल्यक्रिया भएको छ । शल्यक्रिया गरिएका मध्ये धेरै जसोले न्यूनरुपमा देख्ने गरेका थिए ।

बिहीबार भएको शल्यक्रियापछि शुक्रबार बिहान एक सय दुई जना बिरामीको आँखामा लगाइएको पट्टी खोलिएको थियो । पट्टी खोल्ना साथ अँध्यारोबाट उज्यालोमा फर्किएका बिरामीमा खुसीको सीमा थिएन । ज्योति फर्किएपछि केहीले गीत गाउँदै नाच्नुभएको थियो भने केहीले आफन्तसँग खुसियालीका साथ कुरा गरिरहनुभएको देखिन्थ्यो । आँखाको पट्टी खोल्दै थप अवस्थाबारे बुझ्न डा.रुइत एकएक गर्दै सबैको साथमा पुग्नुभयो । 

यही क्रममा उहाँलाई हात जोडेर सबैले धन्यवाद पनि दिए । शुक्रबार ५२ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा बुधबारदेखि सञ्चालन भएको शिविरमा छिमेकी जिल्लासहितका गरी १०२ जनाको शल्यक्रिया भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । शिविर उक्त उपचार केन्द्रमै सञ्चालन भएको हो । नेत्र ज्योतिसङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसनसँगको सहकार्यमा र तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

शिविरको पहिलो र दोस्रो दिन एक हजार ३२७ जनाले आँखा परीक्षणसहित उपचार सेवा लिएका बताइएको छ । मोतियाबिन्दुका बिरामीको छनोटका लागि जिल्लाको मैवाखोला र मिक्वाखोलामा फागुन १३ र १४ गते शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट ३७ जना मोतियाबिन्दुका बिरामीको पहिचान भएको थियो । यस्तै यहाँस्थित शिविरबाट परीक्षण गरी मोतियाबिन्दुको पहिचान गरिएको थियो । परीक्षणका क्रममा ४० वर्षभन्दामाथि उमेर समूहका सेवाग्राहीलाई चस्मा तथा आवश्यकताअनुसारका औषधि निःशुल्क उपलब्ध गराइएको थियो । 

शिविरमा डा.रुइत आउने सुनेपछि सामान्यदेखि जटिल प्रकृतिका बिरामीको बाक्लो उपस्थिति थियो । जिल्लाको ओलाङचुङ्गोलामा जन्मिनुभएका डा.रुइत यसअघि फक्ताङ्लुङ गाउँपालिकामा आयोजित शिविरमा आउनुभएको थियो । यो पटक उहाँको परिवार नै गृह जिल्लामा आएर उपचार सेवामा संलग्न भएको छ । रासस