• ७ मंसिर २०८१, शुक्रबार

कृषिमा आधारित पालिकाको सपना छ

blog

महोत्तरी जिल्लाका साबिक पिपरा, सहोडवा, बनौलीदनौली, रतौली र एकरहिया गाउँ विकास समितिलाई समेटेर २०७३ मा पिपरा गाउँपालिका बनेको छ । धार्मिक, शैक्षिक र कृषि कार्यमा अब्बल पालिकाका रूपमा विकसित हुँदै गएको यो पालिकामा बौधीमाई मन्दिर, विद्यापति डिह जस्ता ऐतिहासिक धरोहर छन् । पूर्वमा जनकपुर उपमहानगरपालिका, पश्चिममा महोत्तरी गाउँपालिका, दक्षिणमा मटिहानी नगरपालिका र उत्तरमा लोहरपटी नगरपालिकासँग सीमा जोडिएको यस पालिकामा सात वडा छन् । २०७८ को जनगणना अनुसार ४० हजार ५३५ जनसङ्ख्या रहेको छ भने आठ हजार ३०२ घरपरिवार बसोबास गर्छन् । यहाँ सबभन्दा बढी बोलिने भाषा मैथिली ९३.२७ प्रतिशत हो । धर्मको आधारमा ९१.८७ प्रतिशत हिन्दु छन् भने ७.६९ प्रतिशत इस्लाम धर्मावलम्बी छन् । पछिल्लो निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट पालिकाको अध्यक्षमा निर्वाचित रामजानकी यादवसँग गोरखापत्रका जलेश्वर समाचारदाता महेशकुमार दासले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

पालिका अध्यक्ष भएको डेढ वर्षको अवधिमा के के काम गर्नुभयो ? 

हामीले निर्वाचित भएको दिनदेखि नै जनतासँग गरेको वाचा अनुसार मूल रूपमा पाँच वटा कामलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । शिक्षाको अवस्था एकदम खस्कँदो थियो । स्वास्थ्यको अवस्था पनि त्यस्तै थियो । 

हामी आएदेखि नै २४ घण्टा आकस्मिक स्वास्थ्य सेवाको सुरुवात ग-यौँ । रगत पिसाब जाँच, भिडियो एक्सरेलगायतको जाँच गर्ने सामग्री जोहो गरेर जनताले सर्वसुलभ ढङ्गले उपचार पाउने सुनिश्चित पालिकाले गरेको छ । त्यस्तै सिँचाइका लागि वर्षामा आश्रित यहाँका किसानका लागि हामीले सिँचाइ सुविधा कसरी प्राप्त गर्छन् त्यसमा केन्द्रित भएर काम ग¥यौँ । यहाँ ८० प्रतिशत जनता कृषिमा आधारित छन् । सिँचाइका लागि हामी थुपै्र काम गरेका छौँ । प्रत्येक वडामा विद्युतीकरण गर्ने र ११ हजारको विद्युत् सबै वडाका खेत खेतमा सप्लाई गरिसक्यौँ । स्यालो ट्युबेल जडान गर्नेदेखि विद्युतीकरण गरेर पहिलादेखि अलपत्र डिप ट्युबेलमा पम्पहरू जडान गरेर सञ्चालन गरेका छौँ । दुई वटा पुराना डिप ट्युबेललाई मर्मत सम्भार गरी सिँचाइमा पहुँच पु-याएका छौँ । किसानका लागि उन्नत जातको धान, गहुँ र मुगीलगायतका बिउबिजन वितरण गरेका छौँ ।

स्वास्थ्य, शिक्षामा के काम भएका छन् ?

दुई वटा वडा कार्यालय निर्माण गरेका छौँ । सङ्घ र पालिकाको लगानीमा स्वास्थ्य भवन निर्माण गरेका छौँ भने पालिकाभित्रका चार वटा विद्यालय भवन निर्माण भएका छन् । सात वटै वडामा २८ स्थानमा ट्रान्सफर्मर जडान गर्न भ्याएका छौँ । यस्तै पाँच किलोमिटर पक्की सडक निर्माण, ३.५ किलोमिटर ग्राभेल सडक निर्माण र २.५ किलोमिटर कच्ची सडक निर्माण कार्य पूरा गरेका छौँ । त्यसै गरी १३ वटा पोखरीमा घाट निर्माण, सबै वडामा बाह्रै महिना हिँडडुल गर्न सक्ने खालको सडकको पहुँच पु¥याउने काम गरेका छौँ । गाउँपालिकाबाट अन्य पालिकाको पहुँच सडक सुदृढ बनाइएको छ । यसै गरी २५ शøयाको पिपरा जनता अस्पताल निर्माण भई सञ्चालनमा आइसकेको छ । बौधीमहरानी, भोल्हीपोखरी र पिपराबजार शौन्दर्यीकरणका लागि विस्तृत अध्ययन (डिपिआर) तयार  गरिसकेका छौँ भने पालिकाभित्र हुने सम्पूर्ण कारोबारलाई डिजिटल प्रविधिमा रूपान्तरण गरिसकेका छौँ । 

हालसम्मको कार्य अवधिमा साँच्चिकै गर्व गर्न लायकका के के काम भएका छन् ?

मैले साँच्चिकै गर्व गर्न लायकको काम कृषि क्षेत्रकै छ जस्तो लाग्छ । कृषि मेरो प्रमुख प्राथमिकतामा रहेकाले नदीबाट खेर गएको पानी हामीले कसरी अधिकतम प्रयोग गर्ने भनी फाकट निर्माण गरेर प्रयोगमा ल्याएका छौँ । हामीसँग ठोस योजना नभएकाले माटोको बाँध बाँधेर निरन्तरता दिँदै आएका छौँ तर पनि समस्या अझै पनि छ । त्यस्तै कोची सिँचाइ योजनाको माध्यमबाट सात वटै वडामा सिँचाइ पु¥याउनका लागि निर्माण कार्य भइरहेको छ । विगतदेखि निर्माण भएको तर अलपत्र अवस्थामा रहेको विग्ही सिँचाइ सेक्टर योजनालाई व्यवस्थित रूपमा सञ्चालन गर्न ठुलो रकमको आवश्यकता छ तर हामीसँंग बजेट त्यति छैन । विभिन्न दातृ निकायसँग बजेट मागेका छौँ । 

त्यस्तै विद्यमान बेरोजगारीलाई न्यूनीकरण गर्नका लागि सङ्घ सरकारको समन्वयमा रोजगार केन्द्र स्थापना गर्न लागेका छौँ । किसानका लागि शीतभण्डार (कोल्ड स्टोर)  निर्माण कार्यको सुरुवात भइसकेको छ । त्यस्तै वैदेशिक रोजगारबाट फर्केकाको सिप र कलालाई प्रयोग गर्न प्रदेश सरकारसँग सहकार्य गरेर वैदेशिक रोजगार बजार भनेर सञ्चालन गर्न लागेका छौँ । पालिकाका कामकारबाही पारदर्शी बनाउन समय समयमा सार्वजनिक सुनुवाइको माध्यमबाट पृष्ठपोषण लिने  र सूचनाहरू अनलाइनको माध्यमबाट सार्वजनिक गर्दै आएका छौँ । हामी आएदेखि सुशासनको प्रत्याभूति दिनकै लागि पालिका बैठकको निर्णय सार्वजनिक गर्ने गरेका छौँ ।

कामकाजमा के कस्ता चुनौती देखिएको छ ? 

दलगत व्यवस्था भएका कारण राम्रो खालको कामको पनि विरोध गर्ने चलन नै भइसकेको छ । काम हुँदै नहोस् भन्ने दृष्टिकोणले हाम्रो पालिकाको गौरवका योजनाको काम पनि बाधित हुने अवस्था छ । पालिकामा हामीले गौरवका योजनामध्ये पालिकाको आफ्नै भवन छैन । पालिका भवन निर्माण गर्ने काम अगाडि बढिसकेको छ । भोल्हीपोखरी बनाउने र बजार व्यवस्थापन गर्ने हाम्रो गौरवको योजनामध्येको काम छ तर यी कार्यमा विभिन्न किसिमबाट दलले बाधा अवरोध गर्ने गरेका छन् । भुक्तानी दिएकै छैनौँ, काम सुरु भएको पनि छैन तर त्योभन्दा पहिले नै मुद्दा परिहाल्छ । उजुरी पर्नु आफैँमा एउटा सुन्दर पक्ष हो तर उजुरी पर्दाखेरि सम्बन्धित जाँच एजेन्सीहरू जाँचबुझ गर्छन् । यहाँका कर्मचारी भन्छन्, त्यसमा मुद्दा प-यो कसरी काम सञ्चालन गर्ने ? अनावश्यक उजुरी हामीकहाँ समस्या र चुनौती दुवै बनेको छ । 

तपाईंमाथि भाषण बढी र काम कम गर्ने गरेको आरोप छ नि ?  

मैले जति तपाईँलाई भनेको छु । तपाईँ फिल्डमा गएर एकचोटि निरीक्षण गर्दाखेरि मैले भनेको जति काम भएको छ कि छैन देखिहाल्नु हुन्छ नि ! आरोप पूर्णतः निराधार छ । 

सङ्घ र प्रदेश सरकारबाट कस्तो सहयोगको अवस्था कस्तो छ ? 

सङ्घ र प्रदेशबाट पाउने अपेक्षा अनुसारको सहयोग नपाए पनि आंशिक रूपमा प्रदेशबाट केही सहयोग र सुविधा पाएका छौँ । स्वास्थ्यको क्षेत्रमा पिपराले प्रदेश सरकारबाट सुविधा पाए पनि अन्य क्षेत्रमा केही पाउन सकेको छैन । प्रदेश सरकारले धेरै काम नगरिदिँदा पालिकामा कर्मचारी अभाव भएकै कारण चाहेको जति काममा फड्को मार्न सकिएको छैन । यस वर्षमा अहिलेसम्म तीन वटा प्रशासकीय प्रमुखको हेरफेर भएको छ, यसले कार्य फितलो भएको छ । 

आगामी साढे तीन वर्षमा के कस्ता काम गर्ने योजना छ ? 

हाम्रो पालिका जनकपुर–अयोध्या रामायण सर्किट कोरिडोरमा पर्ने गाउँपालिका हो । यो पालिका जनकपुरसँग जोडिएको छिमेकी पालिका भएको हुनाले हामीले धार्मिक रूपमा यसको विकास गरेर पर्यटक भिœयाउने सोच बनाएका छौँ । सामुदायिक विद्यालयलाई निजी विद्यालयको तुलनामा राम्ररी सञ्चालन गर्ने सोच रहेको छ । गाउँपालिकाको भवन, सिँचाइ आयोजना र बजार व्यवस्थापनलाई आउँदा वर्षमा प्राथमिकतामा राखेर काम गर्दै जाने छौँ । हामीले पिपरा पालिकालाई धार्मिक नगरीका रूपमा विकास गरेर धार्मिक कोरिडोरको स्वरूप दिने सोच छ र यो पालिका कृषिमा आधारित पालिका बनाउने सपना छ ।