• १३ साउन २०८१, आइतबार

किसानको भुक्तानीका लागि डिडिसीलाई सहुलियत ऋण

blog

काठमाडौँ, फागुन १६ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध किसानलाई भुक्तानी दिलाउनका लागि दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रका डेरी उद्योगीलाई सहुलियत ऋणका लागि सहजीकरण गर्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुध किसानलाई तत्कालै भुक्तानी दिलाउन निर्देशन दिएपछि कृषि मन्त्रालय त्यसका लागि पहल सुरु गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको भोलिपल्ट मङ्गलबार किसानले समयमा भुक्तानी नभएको भन्दै ललितपुरमा दुध पोखेर विरोध जनाएका छन् । कृषि मन्त्रालयले सहुलित ऋण अनुदानमा डिडिसीलाई ३० करोड रुपियाँ दिने भएको छ । 

कृषि मन्त्रालयका पशुपन्छी तर्फका सचिव डा. रेवतीरमण पौडेलले डिडिसीलाई दिइने ३० करोड रुपियाँ सहुलियतमा अनुदान ऋण उपलब्ध गराउने बताउनुभयो । त्यसका लागि अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति पनि दिइसकेको उहाँले बताउनुभयो । प्रक्रिया सुरु भएको छ, यो हप्ताभित्र डिडिसीले सो रकम पाउने बताउँदै उहाँले सो रकमबाट डिडिसीले किसानको बक्यौता रकम भुक्तानी गर्ने बताउनुभयो ।

निजी क्षेत्रका डेरी उद्योगीले पहल गरेका त्यसका लागि पनि मन्त्रालयले सहजीकरण गरिदिने उहाँले बताउनुभयो । त्यसका लागि निजी क्षेत्रले सबै प्रक्रिया पूरा गरेर निवेदन दिनुपर्ने उहाँले बताउनुभयो । 

यो महिनाभित्र जसरी पनि किसानको बक्यौता रकम भुक्तानी गराउन मन्त्रालयले पहल गर्ने उहाँले बताउनुभयो । डिडिसी तथा निजी क्षेत्रको गरी किसानलाई भुक्तानी गर्नुपर्ने पाँच अर्बभन्दा बढी रकम बाँकी रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । त्यसमध्ये सबभन्दा बढी रकम डिडिसीको बक्यौता रहेको बताइएको छ । डिडिसीका अनुसार ५० करोड रुपियाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ । 

दुधका किसानहरू मङ्गलबारदेखि आन्दोलन सुरु गरेका छन् । ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि किसानले दुध पोखेर भुक्तानीका लागि दबाब दिएका हुन् । भुक्तानी नपाएको तथा उत्पादित दुध बिक्रीसमेत नभएको भन्दै किसानले ८० लिटर दुध सडकमा पोखेर विरोध जनाएका हुन् ।

विरोध प्रदर्शनअघि किसानले प्रमुख जिल्ला अधिकारीलाई ११ बुँदे मागपत्र बुझाएका थिए । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध किसानले दुध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरणमा सहज गर्नुपर्ने र किसानको दुधको भुक्तानी नियमित उपलब्ध गराउन माग गरेका छन् । 

जिल्लामा दैनिक एक लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको छ । जसमध्ये ७० देखि ७५ हजार लिटर दुध बिक्री गर्ने गरिएको ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ । 

सङ्घका अध्यक्ष कृष्णप्रसाद सापकोटाले नेपालमा दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानमा केन्द्रीय सरकार तथा प्रदेश सरकार सकारात्मक नेदेखिएकाले सङ्घ र अन्य सङ्घ सङ्गठनहरूको ऐक्यबद्धता जनाउँदै आन्दोलन सुरु गरेको बताउनुभयो ।