• ७ मंसिर २०८१, शुक्रबार

गिडिदहलाई प्रमुख पर्यटकीय केन्द्र बनाउने लक्ष्य छ

blog

पर्यटकीय सम्भावनायुक्त तातोपानी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा विशेष जोड दिँदै आएको छ । पालिकाका प्रायः सबै वडामा कच्ची सडकको पहुँच पुगेको छ । वडा नम्बर ७ र ८ का केही बस्तीमा भने सडक स्तरोन्नति गर्नुपर्ने अवस्था छ । पालिकाले स्वास्थ्य चौकी भवनको निर्माण, योजनाको दिगो व्यवस्थापनका लागि योजना बिमा, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्धन तथा रैथाने बालीको उत्पादकत्व वृद्धिका क्षेत्रमा कामलाई केन्द्रित गरेको छ । प्रस्तुत छ, नेपाली कांग्रेसका तर्फबाट पालिका अध्यक्षमा निर्वाचित नन्दप्रसाद चौलागाईंसँग पालिकाको विकास निर्माणलगायत समसामयिक विषयमा केन्द्रित रही गोरखापत्रका जुम्ला समाचारदाता नेत्र शाहीले गर्नुभएको कुराकानी :

 

 अध्यक्षमा तपाईं निर्वाचित भएपछि प्राप्त उपलब्धि के के हुन् ?

पालिकाको आन्तरिक स्रोतमार्फत प्रशासकीय भवन निर्माण गरी सोही भवनबाट सेवा प्रवाह भएको छ । तीन हजार तीन सय घरमध्ये आठ सय घर बिमा कार्यक्रमबाट लाभान्वित भएका छन् । गर्भवती, ज्येष्ठ नागरिक र अति विपन्न नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा तथा स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको छ । आठ वटा विद्यालय भवन र पाँच किमी सडक निर्माण गरेका छौँ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उत्कृष्ट पाँचभित्र पर्न सफल भएका छौँ । श्रमदान अभियानमार्फत एक दर्जन योजनाको निर्माण र मर्मतका काम गरिएको छ । वडा नं. ४ र ८ मा सञ्चार सेवा सुचारु गरेका छौँ । औद्योगिक ग्राम स्थापना, पालिका अन्तर्गतका सम्पूर्ण कार्यालयमा डिजिटल हाजिर जडान, समयमै योजना सम्झौता र पालिकाबाट सञ्चालन हुने योजनाको वैशाख मसान्तभित्रै भुक्तानी दिने नीतिलाई कार्यान्वयनमा ल्याइएको छ । जुम्लाकै ठुलो गिडिदह सम्मेलनको आयोजनामार्फत गिडिदहको पहिचान गरी प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिपरेका छौँ । न्यायिक समिति प्रभावकारी रूपमा सञ्चालन गर्न न्यायिक इजलास निर्माण गरेका छौँ । स्थानीय पहिचान झल्किने आफ्नै पालिका गान र प्रतीक निर्माण गर्नुका साथै विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी मिलान, सडक मानव उद्धार तथा पुनस्र्थापना, १९ वटा विभिन्न स्थानीय कानुन निर्माण र कार्यान्वयनलगायतका थुप्रै कामलाई उपलब्धिका रूपमा लिएका छौँ ।  

– पालिकाका मुख्य समस्या के के छन् ? तिनको समाधान कसरी गर्ने योजना छ ?

हाम्रो मात्र नभएर अन्य थुप्रै पालिकाले विभिन्न समस्या भोग्दै आएका छन् । मुख्य समस्या भनेकै बजेट व्यवस्थापन हो । अहिले पनि पालिकाको आन्तरिक आयस्रोत वार्षिक ३० लाख रुपियाँभन्दा बढी छैन । सीमित स्रोतका कारण वडा नं. ७ र ८ का बस्तीमा सडक पुगे पनि बर्खाको समयमा गाडी गुड्न असम्भव नै छ । छरिएर रहेका बस्तीका कारण एक मात्र स्वास्थ्य संस्था रहेको ताम्ती स्वास्थ्य चौकीमा गएर सेवा लिन कठिन छ । शिक्षा, सञ्चार र सरसफाइलाई विशेष ध्यान दिँदा पनि सोचे अनुरूपको परिणाम हात पार्न सकिएको छैन । सधैँ माथिल्लो तहका सरकारको मात्र मुख ताक्नुभन्दा आफ्नै पालिकाको आम्दानी वृद्धि गर्न राजस्वको दायरा वृद्धि गर्ने, अनलाइन माध्यमबाट राजस्व सङ्कलन गर्ने, विभिन्न सरोकारवालासँग समन्वय र साझेदारी बढाउने योजना छ । वडा नं. ७ र ८ का नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सुविधायुक्त स्वास्थ्य संस्था भवनको निर्माण गर्ने र सडक स्तरोन्नति गरी एम्बुलेन्स सेवा प्रभावकारी बनाउने योजना छ । यसका साथै यसअघि जनतासँग अध्यक्ष कार्यक्रममार्फत सञ्चालन भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने योजनामा छु ।

– पालिकाको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?

नेपालको संविधानको धारा २३२ मा सङ्घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध र धारा २३५ मा समन्वयको कुरालाई स्पष्ट उल्लेख गरिएको छ । तीनै तहका सरकार एकअर्कासँग परिपूरक रहेकाले समन्वय नहुने कुरै भएन । विशेष गरी पालिकामा आन्तरिक आयस्रोतको अभावका कारण ठुला योजना सञ्चालन गर्न नसकिने हुँदा प्रदेश र सङ्घ सरकारसँग नगुहारी हुन्न । त्यसै गरी कानुनी अस्पष्टता देखिएको खण्डमा रायसुझाव, परामर्श लिनेलगायतका विषयमा समन्वय हुँदै आएको छ । 

– तातोपानी पर्यटकीय सम्भावनाको पालिका हो, के के काम भइरहेका छन् ?

जिल्लाकै सबैभन्दा ठुलो ताल गिडिदह, तातोपानी धारा, बाबिरो मष्टा मन्दिरलगायत थुप्रै पर्यटकीय स्थल हामीसँग छन् । यिनै क्षेत्रको संरक्षण, प्रवर्धन र पर्यटनमैत्री संरचनाको विकासमार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना र व्यवसायलाई बढवा दिने लक्ष्य छ । गिडिदह पहिचान तथा दस्ताबेजीकरणका लागि पालिका तथा वडा नं. ४ को नेतृत्वमा गिडिदहको क्षेत्रफल यकिन गर्नका लागि सम्पूर्ण काम सकाएका छौँ । गिडिदहमा पर्यटकको सहजताका लागि पदमार्ग र धर्मशाला निर्माण सकिएको छ । तातोपानी धारालाई थप व्यवस्थित बनाउन प्रत्येक वर्ष भौतिक संरचना निर्माणमा लगानी गर्दै आएका छौँ । तातोपानी गाउँपालिका–२ मा अवस्थित तातोपानी धारा प्रवर्धन गर्न लागिएको छ । तातोपानी धाराबाट मात्रै एक वर्षमा २६ हजार ६६६ जनाले टिकट काटेर नुहाएका छन् । यसबाट आठ लाख रुपियाँ राजस्व उठेको छ । यस्तै मार्सी धानको उत्पत्ति स्थल मानिने लाछुज्युलोमा मार्सी धानको पहिचान प्रवर्धनका लागि प्रत्येक वर्ष महोत्सवका रूपमा रोपाइँ दिवस मनाउँदै आएका छौँ । 

– यो दुई वर्षको अवधिमा के कस्ता चुनौती भोग्नुभयो ?

जुनसुकै क्षेत्रमा पनि नेतृत्वमा रही काम गर्दा हरेक प्रकारका चुनौतीको सामना त गर्नै पर्छ । समस्या र चुनौतीबिनाका यात्रा त्यति फलदायी नहुन सक्छन् । हामी निर्वाचित भएलगत्तै शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकतामा राखेको थिएँ । सोही अनुरूप प्रत्येक विद्यालयमा गई अनुगमन गर्दा विद्यार्थी र शिक्षकको अनुपात न्यायोचित नदेखिएकाले तत्काल विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी मिलान गर्दा शिक्षकले नै त्यस कार्यविरुद्ध मुद्दा गर्नुभयो । पछि जिल्ला अदालत हुँदै उच्च अदालतसम्म पुग्दा उच्चले हाम्रो पक्षमा फैसला ग¥यो । कर्मचारी व्यवस्थापनदेखि प्रत्येक वर्ष लाखौँ रुपियाँ खर्च गरेर भाडाका घरबाट सञ्चालन हुँदै आएका शाखा आफ्नै प्रशासनिक भवनमा सार्दासम्म अनेकौँ चुनौती सामना गर्नु प¥यो । यससँगै राजनीतिक दबाब र बजेट व्यवस्थापनको चुनौती पनि कम छैनन् । 

– समृद्ध पालिका बनाउन बाँकी अवधिमा के गर्ने योजना छ ?

हाम्रो नारा नै ‘प्राकृतिक स्रोत र सम्पदाको खानी, सुखी र समृद्ध हाम्रो तातोपानी’ छ । यसैबाट प्रस्ट छ, उपलब्ध स्रोतसाधनको उचित प्रयोग गरी पालिकालाई सुखी र समृद्ध बनाउने । सोही अनुरूप पालिकाभित्र रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्र पहिचान गरी त्यसको प्रवर्धन गर्ने, रैथाने बाली उत्पादनमा जोड दिई बजारीकरणमा सहजीकरण गर्ने, युवालाई सिपमूलक तालिममार्फत आयआर्जनका काममा संलग्न गराउने योजना छ । अति विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी एमबिबिएस अध्ययन गराउने, शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाइलाई विशेष जोड दिने र उक्त कार्य गर्न एक्लैले सम्भव नहुने भएकाले विभिन्न सरोकारवाला सरकारी निकाय, गैसस र निजी सङ्घसंस्थासँग समन्वय र साझेदारी गर्ने योजना छ ।    

– तपाईंको कार्यकालमा कति बजेट र खर्च भएको छ ? 

गत आर्थिक वर्ष २०७९/८० मा चालु र पुँजीगत गरी कुल ६३ करोड ७४ लाख ९४ हजार बजेटमध्ये ५० करोड २९ लाख ९६ हजार खर्च गरी ७८.९ प्रतिशत खर्च गर्न सफल भएका थियौँ । यसमा पुँजीगत बजेट २६ करोड ९२ लाखमध्ये १९ करोड ७० लाख रुपियाँ खर्च गरी ७३ प्रतिशत र चालुतर्फ कुल ३६ करोड ८२ लाखमध्ये ३० करोड ५९ लाख रुपियाँ खर्च गरी ८३ प्रतिशत खर्च भएको थियो ।

चालु आवको कुल बजेट ५५ करोड ६० लाखमध्ये २० करोड २० लाख रुपियाँ खर्च गरी ३६.३३ प्रतिशत खर्च गर्न सफल भएका छौँ । पुँजीगत शीर्षकतर्फ १८ करोड १९ लाखमध्ये चार करोड पाँच लाख रुपियाँ खर्च गरी २२.२८ प्रतिशत र चालुतर्फ ३७ करोड ४० लाखमध्ये १६ करोड १४ लाख रुपियाँ खर्च गरी ४३.१६ प्रतिशत खर्च गरेका छौँ ।