प्रकृतिले सिर्जना गरेका संरचनाको सुसञ्चालनका लागि नियमित ऋतु परिवर्तन भइरहन्छ । यो मानव र अन्य जीव तथा जैविक समाज व्यवस्थापन गर्ने प्रकृतिको अनिवार्य चक्र हो । यो चक्रमा खलबली आउनु भनेको पृथ्वीमा समस्या आउनु हो किनभने ऋतु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । यसले जीवन र जगत्मा खासै ठुलो नकारात्मक प्रभाव पार्दैन । यसमा जीवदेखि वनस्पतिसम्म सोही अनुरूप समायोजन हुन्छन् तर जलवायु परिवर्तनका कारण हुने छिटो छिटो तापक्रम वृद्धिमा त्यो सम्भव छैन । यसले कतिपय जीव र वनस्पतिको अस्तित्व लोप हुने अवस्थामा पु¥याउँछ । अहिले त्यस्तै भइरहेको छ ।
पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ । यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलनमा रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ, त्यति नै विकिरण पुनः अन्तरिक्षमा पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा असन्तुलन भएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ । पछिल्लो दुई सय वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बनडाइ अक्साइड जस्ता हरित गृह ग्यास र ओजन तह विनाश गर्ने क्लोरोफ्लोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिनप्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम वृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्यधिक प्रयोग, औद्योगिकीकरण आदि जस्ता क्रियाकलाप पर्दछन् । यसबाट मानव सभ्यताले अनेक चुनौतीको सामना गर्नु परिरहेको छ ।
विगतमा सुख र खुसीको खोजीमा मानवले जे ग¥यो त्यो आज मानवकै लागि घाँडो भएको छ । भौतिक वस्तुले सम्पन्न भएकाहरू त्यसबाट निम्तिएका विकारका कारण विरक्तिएर आध्यात्मिक सुखको खोजीमा लागेका छन् । मानवसिर्जित वस्तुहरूको अत्यधिक प्रयोगले मानिसको जीवन नै मेसिन जस्तो बनेपछि अति विकसित भनिएका मुलुकका नागरिक प्राकृतिक जीवनको खोजीमा भौँतारिन थालेका छन् । प्रकृतिको सबभन्दा सुन्दर सिर्जना मानव भएका कारण पनि मानिस यसबाट पर रहनै सक्दैन । भौतिकताको चरम उपभोगले अनेक विपत्तिको सामना गर्नु परेपछि अहिले यसको विकल्प प्रकृति नै हो भन्ने निष्कर्षमा मानव पुगेको छ ।
आज विश्वमा प्राकृतिक संरक्षणका लागि धेरै बजेट छुट्याइन्छ भने अनेक कार्यक्रम आयोजना हुन्छन् तर जलवायु सन्तुलनमा राख्न विश्व एकमत हुन सकेको छैन । एकले अर्कोलाई दोष देखाएर उम्कने प्रयासको निरन्तरता जारी छ । अहिलेको समस्या के हो भने विज्ञान र प्रविधिमा अभूतपूर्व प्रगति गरेर मानव जीवन जति सहज बन्यो भनियो त्यति नै सङ्कट निम्तिएको यथार्थबाट कोही अछुतो रहन सकेको छैन । मानिसको जीवन सुखदायी बनाउने नाममा भौतिक सुविधातिर मात्र ध्यान दिँदा प्राकृतिक सन्तुलनको ख्याल गरिएन, जसको परिणाम अहिले विश्व नै जलवायु परिवर्तनको मारमा परेको छ । शक्तिशाली र धनीदेखि गरिब मुलुकसम्म यसको पन्जामा पर्दै गएका छन् ।
एक दशकअघि साइन्स जर्नलमा प्रकाशित शोधमा युरोपमा हुने जातीय द्वन्द्व र अफ्रिकामा हुने गृहयुद्धका कारण बढ्दो तापमानलाई मानिएको छ । अमेरिकी वैज्ञानिकहरूले गरेको यो अध्ययन अनुसार विश्वव्यापी तापमानमा दुई डिग्री सेन्टिग्रेड बढोत्तरी भए, व्यक्तिगत हिंसा १५ प्रतिशत र सामूहिक हिंसा ५० प्रतिशतले बढ्ने सम्भावना रहेको छ । उनीहरूले जलवायु परिवर्तनको हालको स्थिति कायम रहेमा संसारमा हिंसाको मात्रा निकै बढ्ने छ । यो शोधमा सक्रिय क्यालिफोर्निया विश्वविद्यालयका मार्सल बर्कका अनुसार अनुसन्धानका लागि विभिन्न कालखण्ड र महाद्वीपको अध्ययन गर्दा जलवायु परिवर्तन र हिंसाबिच गहिरो सम्बन्ध रहेको खुलासा भएको छ । अध्ययन अनुसार खडेरीका बेला भारतमा घरेलु हिंसामा वृद्धि हुनु र अमेरिकामा लु चलेको बेला लुटपाट, बलात्कार र हत्याको घटनामा वृद्धि हुनु यसको उदाहरण हो ।
सन् १९६० को दशकपछि पृथ्वीमा भएको द्रुत औद्योगिक विकास तथा जनसङ्ख्या वृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरूले औँल्याउँदै आएका छन् । मूलतः जीवाश्म इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका कारण भूमण्डलीय तापक्रम बढेको हो । कोइला, खनिज तेल र ग्यास जस्ता वस्तुको बढ्दो दोहनले वायुमण्डलमा बढी कार्बनडाइअक्साइड पुग्दछ । जङ्गल फँडानी र भूक्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बनडाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधिका गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेका हुन्छन् ।
यो अवस्थाको सबभन्दा गहिरो असर प्राकृतिक स्रोतसाधन र सम्पदाले भरिपूर्ण नेपाल जस्ता हिमाली मुलुकमा परेको छ । जलवायु परिवर्तनको मूल कारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले नेपाल नै सबैभन्दा बढी प्रभावित छ । यसले नेपालको हिमाललगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पर्दै गएको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, खडेरी जस्ता प्राकृतिक विपत्को जोखिमसमेत बढिरहेको छ ।
विश्व तापमान वृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील क्षेत्र भनेको हिमनदी हो । हिमनदीको आकार हिमपात र हिउँ पग्लिने क्रमको अनुपातमा निर्भर गर्दछ । यसको प्रत्यक्ष असर नेपालका हिमाली क्षेत्रमा देखा परिसकेको छ । नेपालका कैयौँ हिमताल उच्च जोखिममा छन् । पूर्वदेखि सुदूरपश्चिमसम्म रहेका अनेक हिमतालको अवस्था जोखिमपूर्ण रहेको छ । यी ताल कुनै पनि बेला विस्फोट हुनसक्ने भविष्यवाणी दशकअघि नै गरिएको छ ।
अर्को डरलाग्दो समस्या हिमताल विस्फोटको मात्र होइन, हिमालको उजाडता पनि हो । तापक्रम वृद्धिका कारण हिमालमा चट्टान देखा पर्न थालेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथामा हिउँ घटिरहेकोमा आरोहीहरूले चिन्ता व्यक्त गरिरहेका छन् । त्यस्तै पर्यटन व्यवसायलाई बढावा दिने नाममा हिमाल आरोहणको अनुमति जथाभावी दिँदा त्यहाँ प्रदूषण पनि बढ्दो छ । सगरमाथामा मात्र वार्षिक हजारौँ टन फोहोर थुप्रिने गरेको छ ।
जलवायु परिवर्तनले कतिपय जीव तथा पशुपन्छी लोप हुँदै गइरहेका छन् । मौसम अनुसार फल्ने–फुल्ने वनस्पति समयमै फल्दैनन्–फुल्दैनन् । चरा तथा जनावरको प्रजनन कार्य अनियमित हुन थालेको छ । यसले गर्दा पन्छी तथा अन्य जनावरको खाद्य चक्रमा असन्तुलन हुन गई सिङ्गो पारिस्थितिक प्रणाली (इको सिस्टम) मा नै खलल हुने सम्भावना बढेको छ । त्यसै गरी अनेक किसिमका रोगव्याधिको सम्भावना पनि बढेको छ । हिमाली क्षेत्रमा लामखुट्टे देखा पर्नु यसैको कारण हो ।
तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा तापक्रम बढेर हिउँ पग्लने क्रममा विस्तार हुँदै तीव्रता उन्मुख छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चव्रmमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुन गई व्यापक बसाइँसराइ हुने छ । यसको सुरुवात भइसकेको पनि छ । नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धेरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ । जलवायु परिवर्तनले गरिबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइमा पर्नेछन्, जसले गर्दा बसाइँसराइको समस्या तीव्र रूपमा बढ्दै गएको छ ।
जलवायु परिवर्तनका कारक मानिएको धनी तथा औद्योगिक मुलुकहरूले पनि यसबाट उत्पन्न हुने सङ्कटसँग जुध्न सक्ने अवस्था छैन । धनी मुलुकको छिमेकमा रहेको गरिबीको सागर बाँच्नकै लागि बसाइँ सर्नुपर्ने अवस्थाको सिर्जनाले ती मुलुकहरू स्वयं आर्थिक–सामाजिक सङ्कटमा पर्दै जाने निश्चित जस्तै छ । यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, खानेपानी तथा खाद्यान्नको अभावले अर्को समस्या सिर्जना गर्ने छ । नेपालकै कुरा गर्ने हो भने यहाँ पर्ने जलवायु परिवर्तनको प्रभावले दक्षिण र दक्षिणपूर्वी एसियाको करोडौँ मानिसका लागि खानेपानीको अभाव हुनुका साथै खाद्यान्न उत्पादनमा पनि व्यापक कटौती हुने छ । हिमाल पग्लिँदै जाँदा मैदानी भाग डुबानमा पर्ने र यसले खाद्यान्न उत्पादनमा व्यापक कटौती हुनुका साथै मानिस विस्थापित हुनुपर्ने आकलन गरिसकिएको छ ।
विश्वव्यापी रूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थता लुकाउन सकिने विषय होइन । हरितगृह ग्यासको प्रमुख कारकका रूपमा देखिएको कार्बनडाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ तर यसमा कुनै भूमिका नहुने नेपाल किन पीडित भइरहने भन्ने प्रश्नको उत्तर छैन ।
धनी र औद्योगिक मुलुकले कार्बनडाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्नसक्ने अवस्था प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको छ । हिमाली क्षेत्रमा खाद्यान्न बालीको उत्पादन चक्र बदलिएको छ । तराई र हिमाली क्षेत्रमा तापक्रम वृद्धिको अनुपात पनि मिल्दो छैन । हिमाली क्षेत्रमा छिटो तापक्रम बढिरहेको विभिन्न तथ्याङ्कले देखाइरहेको छ । यसले गर्दा नेपालको कृषि प्रणालीमा ठुलो असर परिरहेको छ । यो समस्याले हाम्रो आर्थिक अवस्थालाई ठुलै धक्का दिइरहेको छ । आर्थिक–सामाजिक जीवनमा दैनिक जसो पर्दै गएको प्रभाव न्यूनीकरणका उपायका साथै पाउनु पर्ने क्षतिपूर्तिका लागि दह्रो आवाज र कदम चाल्नु पर्छ । हरितगृह सञ्चितिबाट प्राप्त रकम जलवायु परिवर्तनबाट प्रभावित क्षेत्रको उत्थान र प्रभाव न्यून गर्दै प्राकृतिक संरक्षणमा उपयोग गर्नु अति आवश्यक छ ।