शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख १७ गते । स्वास्थ्य कार्यालय ओखलढुङ्गा रुम्जाटारका कार्यालय प्रमुख अहमद मन्सुरीको निजी मेडिकलमा नेपाल सरकार मार्फत निःशुल्क वितरण हुने औषधी विक्री गरिएको तथ्य फेला परेको छ ।
प्रमुख मन्सुरीको मेडिकलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने विभिन्न प्रकारका औषधी विक्रीका लागि राखिएको पाइएको हो । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा र औषधी व्यवस्था विभाग विराटनगरले गरेको संयुक्त अनुगमनमा सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा रहेको मन्सुरीको पदमा मेडिकल हलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधी फेला परेका छन् । अनुगमन पश्चात् टोलीले उक्त मेडिकल हल सिल गरेको छ ।
नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधी विक्रीका लागि राखिएको पाइएकाले पदमा मेडिकल हल सिल गरिएको ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकाल (पौडेल)ले बताउनुभयो । प्रमुख मन्सुरीले जिल्ला स्वास्थ्य कार्यालयबाट सरकारी औषधी लगेर आफ्नो निजी मेडिकल हल मार्फत विक्री गरेको हुन सक्ने स्थानीयले आशङ्का गरेका छन् । यस अघि पनि प्रमुख मन्सुरीलाई जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको सामाग्री दुरुपयोग गरेको आरोप लागेको थियो । यस विषयमा प्रमुख मन्सुरीले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ ।
कामको सिलसिलामा अहिले फिल्डमा रहेकोले अनुगमन र सिल गरिएको बारेमा आफूलाई जानकारी नभएको प्रमुख मन्सुरीले बताउनुभयो । यसका साथै सिद्धिचरण नगरपालिका–१२ मा रहेको श्रेष्ठ मेडिकलमा अवैध लागु औषध फेला परेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा र औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनका क्रममा मेडिकलमा प्रतिबन्धित लागु औषध फेला पारिएको हो ।
यस मेडिकल मार्फत चिकित्सकको प्रिस्क्रिप्सन बिना औषधी विक्री, विना इजाजत पशु औषधी र विषादी विक्री गर्ने गरिएको समेत फेला परेकोले यसलाई पनि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । श्रेष्ठ मेडिकल यस अघि पनि पटक पटक सिल र कारबाही गरिएको थियो ।
अवैध गतिविधि गर्ने दुवै वटा मेडिकललाई सम्बन्धित निकाय बाट कानुन अनुसार कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।