• १६ वैशाख २०८२, मङ्गलबार

पोखरीमा डुबेर दुई बालकको मृत्यु

blog

नागेन्द्रकुमार कर्ण
महोत्तरी, वैशाख १६ गते ।
महोत्तरीको मनरासिश्वा नगरपालिकामा दुई बालकको डुबेर मृत्यु भएको छ । सो नगरपालिका– १ बस्ने विकेशकुमार सिंहको १२ वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरी डाक्नेश्वर नगरपालिका–९ लखनपट्टी घर भई मामा घर आएका रुपेश सिंहका ११ वर्षीय छोरा आयुष भन्ने आदित्य सिंहको डुबेर मृत्यु भएको हो ।

स्थानीय युवा सुनिल पाण्डेयले सोमबार साँझ मनरासिश्वामा रहेको महादेव मन्दिरको पोखरीमा नुहाउन गएका बेला दुवैको डुबेर मृत्यु भएको जानकारी दिनुभयो । सोमबार साँझ गर्मी भएको भन्दै दुबै जना सो पोखरीमा नुहाउन पुगेका थिए ।

रातिसम्म पनि दुवै बालक घर नफर्किएपछि खोजतलास गर्दै जाँदा पोखरीको मुहारमा दुवै जनाको कपडा र चप्पल राखिएको तथा दुवैको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको स्थानीय युवा पाण्डेयले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पनि घटनाको पुष्टि गर्दै दुवै बालकको शवलाई प्रादेशिक अस्पताल जलेश्वरमा मङ्गलबार पोस्टमार्टम गरी शव परिवारजनलाई जिम्मा लगाइसकेको जनाएको छ । मनरासिश्वाको महादेव मन्दिरको पोखरीमा केही महिना अगाडि पनि एक वृद्धकाे डुबेर मृत्यु भएको थियो ।