छिन्चु समाचारदाता
सुर्खेत, वैशाख १७ गते । राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । शाहीको सोमबार राति ९:३० बजेतिर मृत्यु भएको हो । अत्यधिक मदिरा सेवनका कारण उहाँको मृत्यु भएको हो । राउटे समुदायमा तीन जना मुखिया हुन्छन् । राउटे समुदायमा तीन गोत्र छन् । तीन गोत्रमध्ये उहाँ कल्याल गोत्रबाट मुखिया हुनुभएको थियो ।
राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएका छन् । शाहीले एउटा समूहको नेतृत्व गर्दै वराहताल गाउँपालिका–८, सुर्खेतको सोतखोलामा बस्दै आउनुभएको थियो । अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर नगरपालिका–१३ को करेखोलामा बस्दै आएको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटेको सङ्ख्या घटेर अब १३५ भएको छ । त्यो समुदायमा मदिराकै कारण धेरैले अकालमै ज्यान गुमाउने गरेका छन् ।