• ७ मंसिर २०८१, शुक्रबार

बसाइँसराइ घटाउने गरी काम गरेका छौँ

blog

तुम्बेवा गाउँपालिका पाँचथरकोे सुदूरदक्षिणी क्षेत्रमा रहेका साबिक आङना, मौवा, हाङ्गुम र ओलने गाविसलाई समेटेर बनेको हो । सदरमुकाम फिदिमबाट करिब ७२ किलोमिटर दुरीमा रहेको यस गाउँपालिकालाई तमोर कोरिडोरले छोए पनि केन्द्र र वडा कार्यालय पुग्ने सडक त्यत्ति भरपर्दा छैनन् । भूगोल र जनसङ्ख्याका दृष्टिकोणले यो गाउँपालिका जिल्लाको सबैभन्दा सानो स्थानीय तह हो । यो गाउँपालिकालाई सरकारले सुक्खा क्षेत्रका रूपमा सूचीकृत गरेको छ । गाउँपालिकाका अध्यक्ष बाबुराम खड्कासँग गोरखापत्रका फिदिम समाचारदाता राधा लुइटेलले गर्नुभएको कुराकानी : 

यहाँले गाउँपालिकाको नेतृत्व लिएपछि परिवर्तनका लागि के कस्ता प्रयास गर्नुभयो ? 

नेतृत्वमा नरहँदा पनि तुम्बेवाको विकास कसरी गर्न सकिएला ? भन्ने हुटहुटी जागिरहन्थ्यो । गाउँपालिकाका नागरिकसँग जोडिएका जनजीविकाका सवालमा म जानकार छु । अहिले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक यातायात र विद्युत् जस्ता आधारभूत आवश्यकतालाई नागरिकका घरदैलोमा पु-याउन व्रिmयाशील छौँ । यस्ता काममा हुन सक्ने भ्रष्टाचार, ढिलासुस्तीलाई दृष्टिगत गरेर अगाडि बढिरहेका छौँ । भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीतिलाई अङ्गीकार गर्दै जनताले अनुभूति गर्ने गरी काम थालेका छौँ । त्यसका सकारात्मक परिणाम पनि देखिन थालेका छन् । 

सुक्खा क्षेत्रका रूपमा घोषित यस गाउँपालिकामा कृषि क्षेत्रको प्रवर्धनका लागि कस्तो नीति छ ?

कृषिप्रधान भनिँदै आए पनि देश खाद्यान्न, फलफूल र माछामासु आदि केहीमा पनि पूर्ण आत्मनिर्भर छैन । तुम्बेवा गाउँपालिका पनि त्यसबाट अछुतो छैन । त्यसैले गाउँपालिकालाई दुग्ध पदार्थ, कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित भैँसीपालन र बाख्रा पकेट क्षेत्र घोषणा गरिएको छ । ती क्षेत्रका किसानलाई अनुदानको व्यवस्था गरेका छौँ । 

कृषि क्षेत्रमा आधुनिकीकरण र निःशुल्क रूपमा बिउबिजन, विषादी तथा विभिन्न बिरुवा, फलफूलका बोट वितरण पनि गर्दै आएका छौँ  । कृषि क्षेत्रको विकासका लागि सिँचाइ महŒवपूर्ण रहेकाले दिगो र गुणस्तरीय सिँचाइ योजना बनाई कार्यान्वयनको तयारी गरिरहेका छौँ ।

गाउँपालिकामा खानेपानीको ठुलो समस्या रहेको जनगुनासो छ नि ? त्यसको समाधानका लागि के गर्दै हुनुहुन्छ ?

तुम्बेवा गाउ“पालिका सुक्खाग्रस्त क्षेत्र नै हो । यहाँको समस्यालाई दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारको लगानीमा तमोर लिफ्ट खानेपानी आयोजना अगाडि बढाइएको छ । यद्यपि बाढीले नदीको सतह गहिरिनुका साथै सडक अभावलगायतका कारण सबै घरधुरीसम्म पानी पु-याउन कठिनाइ भइरहेको हो । अब यहाँ सञ्चालनमा रहेका साना र मझौलासँगै ठुला आयोजनालाई व्यवस्थित गरी खानेपानी समस्या समाधानमा गाउँपालिका लागिपरेको छ ।

तुम्बेवामा बसाइँसराइको अवस्था भयावह बन्दै छ । यसलाई रोक्ने केही योजना बनाउनुभएको छ ?

खानेपानी समस्या, शिक्षा, स्वास्थ्य र सडक यातायातको असुविधाका कारण यहाँका बासिन्दा बसाइँ सर्ने क्रम बढ्दो छ । यसको दीर्घकालीन समाधानका लागि सुरु भएर अधुरा रहेका खानेपानी र सडक निर्माण आयोजनालाई पूर्णता दिने, विद्यालयमा गुणस्तरीय शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच र उत्पादनलाई बढाउन गाउँपालिकाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गरिरहेको छ । स्थानीय तहमा नै जनताको सबै आधारभूत आवश्यकता पूरा गर्न सकेमा बसाइँसराइ कम हुन सक्थ्यो भन्ने विश्वासले हामी काम गरिरहेका छौँ । 

यस क्षेत्रको पर्यटन विकासका लागि पनि केही काम भएका छन् कि ?

तुम्बेवा गाउँपालिकामा पर्यटन प्रवर्धनको पर्याप्त सम्भावना छ । यो ऐतिहासिक, प्राकृतिक, मौलिक, सांस्कृतिक तथा धार्मिक रूपमा विविधतायुक्त क्षेत्र हो । तीमध्ये तुम्बेवा मन्दिर, इन्द्रावती मन्दिर, जालपा, धुवाँ राजा धुवाँ रानी जस्ता क्षेत्रको संरक्षण तथा संवर्धन गर्दै अगाडि बढिरहेका छौँ। बिपी स्मृति र सहिद पार्क निर्माणाधीन छन् । यहाँ आधुनिक र प्राविधिक रूपमा फिटनेससहितको पार्क निर्माण भइरहेका छन् । खेल पर्यटनलाई प्रवर्धन गर्न प्रत्येक वर्ष खुला अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजाना गरिरहेका छौँ । यसले पनि पर्यटन विकासमा टेवा पुगेको छ ।

यहाँका उत्पादनको बजारीकरणका लागि पनि केही काम गर्दै हुनुहुन्छ कि ?

स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणका लागि ऐतिहासिक हाटबजार जस्तै पञ्चमीबजार, औँसीबजार, दशमीबजार, त्रिवेणीबजार, तिल्केनी, वलने र जोरसल्ले आदिलाई व्यवस्थित गर्ने योजना बनाएका छौँ । कृषकले बजार र मेलामा वस्तुको उचित मूल्य पाएका छन् । निर्यातमा सहजताका लागि बाटोघाटो मर्मत र व्यवस्थापनमा लागेका छौँ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले के कस्ता काम गरिरहेको छ ?

हामीले  शिक्षा र स्वास्थ्यलाई विकासको मुख्य आधारका रूपमा लिएका छौँ । शिक्षकलाई प्रोत्साहनका लागि मासिक रूपमा तलब भत्ता भुक्तानीको समेत व्यवस्था गरेका छौँ । विद्यालयको भौतिक संरचना र शैक्षिक सुधारका कार्यव्रmमलाई अगाडि बढाएका छौँ । शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिबिचको चारखम्बे समन्वयात्मक नीतिलाई जोड दिँदै निरन्तर छलफल गर्दै आएका छौँ । छलफलमा आएका सुझावलाई आत्मसात् गर्दै पालिकाभित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो मुख्य प्राथमिकता छ । गाउँवासीलाई स्वास्थ्य सेवा प्रदान गर्न पनि उत्तिकै संवेदनशील छौँ । शारीरिक अभ्यासका लागि ब्याडमिन्टन कभर्ड हल, योग साधना केन्द्र आदिको स्थापना गरिएको छ । जहाँ नियमित अभ्यास र योगसाधना गराइन्छ । सुत्केरी, अशक्त, अपाङ्गता भएका र दीर्घरोगीका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको छ । प्रत्येक तीन-तीन महिनामा घरघरै स्वास्थ्यकर्मी गएर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालेका छौँ । यसबाट नागरिकले निकै सुविधा पुगेको महसुस गरेका छन् । 

गाउँपालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? 

हाम्रो गाउँपालिकाका पाँच वटै वडामा कच्ची सडक निर्माण भएको छ । ती सबै अस्तव्यस्त जस्तै छन् । ती सडक ग्राभेल गरी सदावहार रूपमा पालिकाको सदरमुकाम जोड्ने र पालिका अन्तर्गतका मुख्य बजारहरूलाई ढलान गरी सडक लाइट, गमला र सिसी क्यामरा जडान गरी व्यवस्थित गरिँदै छ । सडक सञ्जाललाई प्राथमिकतामा राखेका छौँ । पालिकाको सदरमुकामदेखि कोरिडोर जोड्ने चार लेन बाटोको काम तीव्र रूपमा भइरहेको छ ।