• १३ साउन २०८१, आइतबार

मूल्य अनुसार दुधको गुणस्तर नभएको गुनासो

blog

काठमाडौँ, फागुन १२ गते । मूल्य अनुसार दुधको गुणस्तर नभएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् । वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या र समाधानसम्बन्धी सरोकारवालाबिच नेपाल डेरी एसोसिएसनले आयोजना गरेको कार्यव्रmममा सो गुनासो गरेका हुन् । 

दुधको मूल्य उच्च छ, त्यस अनुसार गुणस्तर नरहेको गुनासो सरोकारवालाको रहेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुधको गुणस्तर निकै कमजोर रहेको र त्यसमा ध्यान दिन डेरी उद्योगीलाई आग्रह गर्नुभयो । उहाँले मूल्य मात्र निर्धारण गरेर हुँदैन, गुणस्तरीय दुध पनि उपभोक्तालाई दिनुपर्ने बताउनुभयो । 

अहिले दुधमा देखिएको समस्या डेरी उद्योगीले जबरजस्ती सिर्जना गरेको बताउँदै उहाँले किसानको नाममा समस्या नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ केही डेरी उद्योगीले किसानको नाममा जबरजस्ती समस्या सिर्जना गरेका छन् त्यस्तो नगर्न आग्रह गर्नुभयो । दुध खपत बढाउने काम सरकारको होइन, यसमा उद्योगीले आफैँ मेहनत गर्नुपर्ने बताउँदै उहाँले सरकारले नीति निर्माणमा कतै समस्या छ भने नीतिगत रूपमा सहजीकरण गरिदिने हो सबै काम सरकारले मात्र नगर्ने धारणा राख्नुभयो । डेरी विज्ञ एवं नेपाल दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धक अजबलाल यादवले दुधको मूल्य उच्च छ तर यसको गुणस्तर दिनदिनै खस्कँदै गएको गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, “अहिलेका युवाले नेपालको दुध रुचाउँदै रुचाउँदैनन्, खास गरी जो विदेशबाट फर्केका छन् तर पनि विश्वमै सबैभन्दा महँगो दुध नेपालमा छ ।” उहाँले भारतभन्दा नेपालको दुध लिटरमा १७ रुपियाँ महँगो रहेको बताउँदै उहाँले विश्वमा कतै पनि दुधको मूल्य लिटरको १२० रुपियाँ नरहेको बताउनुभयो । 

दुधको मूल्य निर्धारण मापदण्ड परिवर्तन गरी गुणस्तर अनुसार मूल्य निर्धारण गर्न उहाँले सुझाव दिनुभयो । अर्का डेरी विज्ञ नारायण श्रेष्ठले पनि विश्वमै नेपालको दुध सबैभन्दा कमजोर रहेको बताउनुभयो । “नेपालमा तीन प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफ भएको दुध पाइन्छ, अरू देशको तुलनामा यो कम हो,” उहाँले भन्नुभयो, “जब कि भारतमा ४.५ फ्याट, ८.५ एसएनएफ, चीनमा ३.१ फ्याट, ८.१ एसएनएफ, अमेरिकामा ३.२५ फ्याट, ८.२५ एसएनएफ, युकेमा ३.५ एसएनएफ भएको दुध पाइन्छ ।”

अन्य देशको दुध नेपालको भन्दा गुणस्तरमा राम्रो छ तर यहाँ न गुणस्तर छ न मूल्य सस्तो छ, त्यही भएर यस्तो समस्या देखिएको उहाँले बताउनुभयो । दुधको मूल्य बढी भएका कारण बिक्रीमा समस्या आएको उहाँले बताउनुभयो । 

डिडिसीका अर्का पूर्वमहाप्रबन्धक राजेन्द्र गोपालले पनि दुधको मूल्य उच्च भएका कारण अहिले त्यसमा समस्या देखिएको बताउनुभयो । दुधको मूल्य बढेपछि माग कम हुन्छ, मूल्य कम भएपछि माग बढ्छ, त्यसैले अहिले देखिएको बढी भएको दुध तथा दुग्ध पदार्थ बिक्री गर्नका लागि मूल्यमा समायोजन गर्नुपर्ने सुझाव दिनुभयो । डेरी विज्ञहरू सियाराम साह, लोकनाथ पौडेल, कृषि उद्यम केन्द्र (एफएनसिसी) का सभापति डिबी बस्नेत, पशु सेवा विभागका अधिकारी रेशम ज्ञवालीलगायतले पनि दुधको गुणस्तरमा ध्यान दिन सुझाव दिँदै खपत बढाउने मूल्य निर्धारण गर्न आग्रह गर्नुभयो । 

डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा डेरी उद्योगी सुमित केडियाले अत्यधिक मौज्दात रहेका कारण किसानलाई समयमा भुक्तानी गर्न नसकेको बताउनुभयो । सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराए आफूहरू किसानको बक्यौता रकम भुक्तानी गर्ने धारणा राख्दै सरकारले कर समायोजन गरे आफूहरू दुधको मूल्य घटाउन तयार रहेको बताउनुभयो ।