• १९ वैशाख २०८१, बुधबार

घट्यो दलहरूको आम्दानी

blog

काठमाडौँ, फागुन ८ गते । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ ।

निर्वाचन आयोगमा राजनीतिक दलले बुझाएको आव २०७९/८० को वार्षिक आयव्ययको विवरण अनुसार सङ्घीय संसद्को दोस्रो ठुलो दल नेकपा (एमाले) ले मुद्दती निक्षेपमा १० करोड रुपियाँ जम्मा गरेको छ । त्यसबाहेक एमालेले चार वटा कोषमा करिब पाँच करोड १३ लाख २२ हजार रुपियाँ रहेको जनाएको छ । 

तर सो पार्टीले जम्मा आयभन्दा खर्च बढी भएको विवरणमा उल्लेख गरेको छ । आयोगमा बुझाइएको विवरणमा नेकपा (एमाले) ले जम्मा आय करिब आठ करोड ९७ लाख २२ हजार रहेको जनाएको छ । सो दलले आव २०७९/८० मा ११ करोड ६० लाख खर्च भएको उल्लेख गरेको छ ।  आव २०७८/७९ मा भने सो दलको कुल आय २२ करोड ८० लाख रहेको थियो । जम्मा खर्च २१ करोड ७९ लाख थियो । 

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ । सङ्घीय संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले २०७९/८० मा तीन करोड ६४ लाख ७६ हजार आम्दानी देखाएको छ । अघिल्लो आवको कांग्रेसको आम्दानी ११ करोडले घटेको छ । कांग्रेसको कुल खर्च सात करोड ९९ लाख छ । अघिल्लो आवमा कांग्रेसको कुल खर्च करिब १८ करोड थियो । कांग्रेसले चार करोड ३५ लाख घाटामा रहेको जनाएको छ । तर सो दलको अल्पकालीन लगानी शीर्षकमा दुई करोड छ । 

आव २०७९/८० मा सबैभन्दा बढी आम्दानी गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि हो । पहिलो निर्वाचनबाटै राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल सो दलले २०८० असारसम्म छ करोड ५० लाख रुपियाँ आम्दानी गरेको छ ।  सो दलको जम्मा खर्च करिब पाँच करोड आठ लाख छ । कर्जासहितको खुद बचत एक करोड ४५ लाख ४७ हजार रहेको रास्वापाले बुझाएको विवरणमा उल्लेख छ ।  सत्ता नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले भने आव २०७९/८० मा तीन करोड ४८ लाख ४१ हजार आम्दानी गरेकोमा तीन करोड ८१ लाख खर्च गरेको छ । सो दलले बुझाएको विवरण अनुसार करिब ११ करोड रुपियाँ विभिन्न कोष र सञ्चय शीर्षकमा राखिएको छ । माओवादी केन्द्रले विशेष तथा कर्मचारी कोषमा एक करोड ६७ लाख तथा सञ्चित शीर्षकमा नौ करोड ५५ लाख राखेको छ । राप्रपाले आव २०७९/८० मा आठ करोड ४९ लाख ६९ हजार आम्दानी गरेको छ । सो पार्टीले बुझाएको विवरण अनुसार करिब सात करोड ६५ लाख रुपियाँ सोही अवधिमा खर्च भएको छ । 

आव २०७८/७९ मा भने राप्रपाको आम्दानी तीन करोड २१ लाख थियो । सोही अवधिमा खर्च भने दुई करोड ५७ लाख थियो । जसपा नेपालले आव २०७९/८० सम्म जम्मा आम्दानी मौज्दात विवरणमा एक करोड तीन लाख रुपियाँ उल्लेख गरेको छ । आयव्ययको विवरण बुझाएका दलमध्ये जनमत पार्टीको हिसाबकिताब रोचक देखिन्छ । आव २०७८/७९ मा एक करोड ७० लाख व्यक्तिविशेषबाट लिएर कर्जा देखाएको जनमत पार्टीको आव २०७९/८० मा समेत एक करोड २० लाख व्यक्तिगत सापटीका आधारमा कर्जा देखाएको छ । सो पार्टी करिब दुई करोड ८३ लाख ७१ हजार रुपियाँ घाटामा रहेको जनाएको छ । अघिल्लो वर्ष जनमतको घाटा एक करोड ६१ लाख थियो ।