नेपालमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनमध्ये नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २००७ सालमा भएको उदयपुरगढी कब्जाको घटनालाई एक महìवपूर्ण र ऐतिहासिक रूपमा लिइन्छ । आमनागरिकले स्वतन्त्र रूपमा बोल्नसमेत नपाउने अवस्थामा तत्कालीन जिल्लाको प्रमुख प्रशासनिक केन्द्र रहेको उदयपुरगढी कब्जा गर्नु त्यति सजिलो पक्कै थिएन । सन्त नेता भट्टराईको चातुर्यपूर्ण कुशल नेतृत्वले २००७ साल कात्तिक २६ गते राति उदयपुरगढी कब्जा गर्न आफूहरू सफल भएको बताउनुहुन्छ, सोही आन्दोलनका एक मात्र जीवित योद्धा अम्बरबहादुर थापामगर ।
प्रजातन्त्र स्थापनाका लागि २० वर्षको उमेरमा गढी कब्जा जस्तो कठोर काममा जाँदा मरिने कि बाँचिने भन्ने कुनै टुङ्गो थिएन । पुराना कुराहरू सम्झिँदै उहाँले भन्नुभयो, “भारतको जयनगरबाट सिराहाको बस्तीपुर तरियाना हुँदै नेता भट्टराई, रुद्रप्रसाद गिरी, मोहनसिंह ग्राङ्जा मगर, शमशेरबहादुर मगर, पदमबहादुर पाण्डे, गम्भीरबहादुर थापा, लालबहादुर पाण्डे र गौरबहादुर मगरलगायत नेपाली कांग्रेसका धेरै नेता २००७ साल कात्तिक २६ गते साँझ यहाँ आइपुग्नुभएको थियो ।”
कात्तिक महिनाको अँधेरी रातमा पैदल हिँडेर उदयपुरगढी कब्जा गर्न जाँदा स्थानीय वैद्यनाथ खोला तर्दा मात्र हैन उकालो र विकट बाटोको धेरै ठाउँमा नेता भट्टराईलाई आफूले पिठ्युँमा बोकेर पु¥याएको घटना उहाँले सम्झनुभयो । तर, दुःखको कुरा उहाँहरू अहिले कोही पनि जीवित हुनुहुन्न । घरी घरी मनमा तीनै कुराहरूको याद आउने र पीडा महसुस हुने गरेको उहाँ बताउनुहुन्छ ।
प्रजातान्त्रिक आन्दोलनको इतिहासमा त्यो दिनको ऐतिहासिक घटनाको विवरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “हाम्रो रणनीति अनुसार हामी कोही मालपोत कार्यालय, कोही सिपाहीको ब्यारेक, कोही मिलिसिया (प्रहरी) क्याम्प र कोही बडाहाकिमको कार्यालय घेराउ गर्न पुगिसकेका थियौँ । त्यसपछि योजना अनुसार सबैभन्दा पहिले नेता भट्टराईले ग्रिनेट खोलेर पड्काउने र अरू सबैले आआफ्नो जिम्मेवारी अनुसार कार्यालयहरू कब्जा गर्ने भन्ने थियो । सो अनुसार केउरिनीतिरको मोहोडाबाट भट्टराईले ग्रिनेट पड्काउनुभयो अनि हामीहरू सबैले आआफ्नो जिम्मेवारी अनुसार कार्यालयहरू चारैतिरबाट घेराबन्दी गरेर उदयपुरगढी कब्जा गर्न सफल भयौँ ।”
“तत्कालीन बडा हाकिम रातिनै हात माथि उठाउँदै केउरिनीतिर भागेर गए, जमदारको कमान्डमा रहेका १०/१२ जना ब्यारेकभित्रै थुन्यौँ, अनि त्यहाँ ८५ जना मिलिसिया (प्रहरी) लाई पनि सुतिरहेकै अवस्थामा कार्यालयमै बन्धक बनाएर राख्न सफल भयौँ । त्यतिबेला त्यहाँ झ्यालखानामा को को थिए त्यो मलाई थाहा भएन तर त्यो झ्यालखानामा बसेका मानिसहरूले समेत त्यहाँ बसेका सिपाहीहरूलाई आँखामा खुर्सानीको धुलो हालेर हाम्रो आन्दोलनलाई थप सहयोग पु¥याएका थिए,” उहाँले भन्नुभयो । नेता भट्टराई उदयपुरगढी कब्जाका सिलसिलामा करिब २२ दिन जति उदयपुरगढी आसपासमा रहनुभएको र यसबेला डुम्रे, बर्रे, केउरिनी चारैतिर नेपाली कांग्रेसका चारतारे झन्डा मात्र फहराएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गढी कब्जा भएको एक महिनापछि २००७ साल मङ्सिर ७ गते अर्का नेता रुद्रप्रसाद गिरीले भक्तबहादुरसिंह ठकुरीलाई उदयपुर जिल्लाको कायम मुकायम बडाहाकिम बनाइदिनुभयो । थापामगरले भन्नुभयो, “त्यतिबेला यी कांग्रेसीहरू हुन यिनिहरूले छोएको पानी पनि नखानु भन्ने उर्दी राणाहरूले जारी गरेका थिए र जहीँतहीँ बास बस्न पनि पाइन्न थियो । त्यही भएर होला नेताहरू भारतको जयनगरतिर बस्नुहुन्थ्यो र म पनि उतै गएर बसेको थिएँ । पछि जनकपुरमा पार्टीको अधिवेशन हँुदा म पनि त्यहाँ गएको र त्यही बेला बिपीलगायत सबै नेतासँग भेट भएको हो ।” गाउँमा कांग्रेसका नाममा लुटपाट मच्चिएको र खाडल खनेर पैसा सुनलगायतका चल सम्पत्ति लुकाएर लुटाहाबाट सम्पत्ति जोगाउन आमाबुबा सफल हुनुभएको प्रसङ्ग उहाँले स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “जतिबेला हामीले आन्दोलन गरेका थियौँ त्यतिबेला नेपाली समाजमा व्यापक गरिबी, अशिक्षा र अभावहरू थिए । केही जजमान गर्ने बाहुन केटाले पढ्न पाए पनि अहिलेको जस्तो दलित, आदिवासी, जनजाति, महिला र चेलीबेटीहरू शिक्षाबाट वञ्चित हुन्थे । प्रजातन्त्र स्थापनापछि गाउँमा जताततै स्कुल स्थापना भए र सबै बालबालिकाले पढ्ने लेख्ने अवसर पाए, यो त्यही २००७ सालको आन्दोलनको प्रतिफल हो ।” मुलुकमा प्रजातन्त्र स्थापना भएको यतिका वर्ष बितिसक्दा पनि जति विकास हुनुपर्ने हो, त्यो हुन नसकेकोमा आफूलाई कता कता दुःख लाग्ने गरेको भन्दै उहाँले देशका सबै राजनीतिक दल मिलेर अगाडि बढ्न सके मात्रै विकासको गति पनि छिटो हुने बताउनुभयो । “अहिलेको संविधानले दलित, जनजाति, आदिवासी महिला र चेलीबेटीलाई अधिकार सम्पन्न बनाएको र यो नै प्रजातन्त्रको एउटा प्रतिफल हो,” उहाँले भन्नुभयो ।
उदयपुर जिल्लाको साबिक डुम्रे गाउँ विकास समितिको वडा नं ५ हाल उदयपुरगढी गाउँपालिका वडा नं ४ मा बुवा छोटु थापामगर र आमा रुकुमायाको कोखबाट विसं १९८७ साल वैशाख महिनामा जन्मुभएका थापामगर उमेरले ९४ वर्ष पुग्नुभएको छ । सँगै लडाइँ लडेका भट्टराई मुलुकको प्रधानमन्त्री पनि हुनुभयो तर आफूलाई भने कसैले नहेरेको र राजनीतिक पीडितहरूले सुविधाहरू लिए भन्ने कतै कतै सुनेको तर आफूले भने अहिलेसम्म केही नपाएको उहाँको दुःखेसो छ । उहाँ भन्नुहुन्छ, “अब त वृद्ध भइयो दबाइ पनि खाइरहनुपर्ने अवस्था छ, स्नातक उतीर्ण गरेकी नातिनी पनि बेरोजगार छिन्, नातिनीले कतै जागिर पाएदेखि धेरै खुसी हुने थिएँ ।” हो जीवित हुँदा बेवास्ता गर्ने र मरेपछि गुणगान गाएर सालिक बनाउने र नेता आएर अनावरण गर्ने परिपाटीको अन्त्य गरी थापामगर जस्ता योद्धाहरूको खोजी गरेर राज्यले सहयोग गर्न अति आवश्यक छ ।