• २६ वैशाख २०८१, बुधबार

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोहको प्रत्यक्ष प्रसारण

blog

काठमाडौँ, फागुन ७ गते । आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस । क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते यो  दिवस मनाइन्छ । 

१०४ वर्षीय जहानियाँ शासनविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिको बलमा राणा शाहीले घुँडा टेक्न पुगेको दिन २००७ साल फागुन ७ गतेको स्मरणमा यो दिवस मनाउन थालिएको हो । 

सोमबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश श्विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसहित उच्च सरकारी कर्मचारीको उपस्थिति रहेको छ । 

नेपाली सेनाले सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै बिगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने,  सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । 

समारोहमा निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी सार्वजनिक तथा सामुदायिक सङ्घ–संस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्ध–प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारणको बाक्लो उपस्थिति देखिन्छ । 

दिवसको अवसरमा विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने मूल समारोह समितिले यसअघि नै निर्णय गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट गौरवमय मौलिक पहिचान तथा विशेषता झल्कने विद्युतीय प्रचार सामग्री समुचित प्रचार–प्रसारका लागि परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पठाइसेको जनाएको छ । 

यसैगरी, सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरेर विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने क्रम सुरु भएको छ । 

यसैगरी, स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । 

काठमाडौँ उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख सम्मिलित समिति गठन गरेको छ । सरकारले सरसफाइ, प्रभात फेरि, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी जस्ता विविध कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन लागेको हो ।