लहान समाचारदाता
लहान, जेठ ४ गते । लहान नगरपालिकाद्वारा चर्को गर्मीबाट जोगिन सामुदायिक विद्यालयलाई पङ्खा वितरण गरिएको छ । जस्ता (टिना) ले छाएको विद्यालय भवनमा गर्मीको समयमा शिक्षण कार्य असहज भइरहेकोले विद्यालयले माग गरे अनुसार पङ्खा वितरण गरिएको हो ।
पहिलो चरणमा लहान नगरपालिकाले १७ वटा माध्यमिक विद्यालयमा ३३० वटा पङ्खा वितरण गरिएको लहान नगरपालिका शिक्षा शाखाले जनाएको छ । एक कक्षा एक पङ्खा, एक विद्यालय एक कम्प्युटर ल्याब, हरेक विद्यालयमा विद्यालय घेर्न सुरक्षित पर्खाल, एक कक्षा एक शिक्षकको नीति अनुसार पहिलो चरणमा ३३० थान पङ्खा वितरण गरिएको शिक्षा शाखाका प्रमुख अमिरीप्रसाद यादवले बताउनुभयो ।
पङ्खा वितरण कार्यक्रममा शिक्षा शाखा संयोजकसमेत रहनुभएका नगरप्रमुख महेशप्रसाद चौधरीले सामुदायिक विद्यालयमा रहेको भौतिक आवश्यकता र विद्यालयको सौन्दर्यीकरण गर्न वृक्षरोपण र फूल लगाउने कार्यलाई निरन्तरता दिइनुका साथै यस वर्ष ५९ वटै सामुदायिक विद्यालयमा पङ्खा वितरण गरिरहेको जानकारी दिनुभयो ।
‘सामुदायिक विद्यालयको भौतिक पक्ष र शैक्षिक पक्षको विकासका लागि आठ करोड बजेट विनियोजन गरेका छौँ । आउने २०८४ सम्ममा सामुदायिक विद्यालयको भौतिक रूपमा मुहार फेरिने निश्चित छ । शैक्षिक प्रगतिका लागि अभिभावकमा जागरण र विद्यालयमा अनुशासनसहितको शिक्षण कार्य ल्याउन लागेका छौँ,” नगरप्रमुख चौधरीले भन्नुभयो ।
हामीले गरेको हरेक माग लहान नगरपालिकाले पूरा गरिरहेकोले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नयाँ रणनीति आवश्यक रहेको सगरमाथा माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम सिंहले भन्दै यस शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयले निकै गति लिइने बताउनुभयो ।