गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ६ गते । नेकपा (एमाले) का सांसद भगवती चौधरीले मिटरब्याजीहरु तानासाही प्रवृत्ति देखाएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बैङ्किङ कसुर तथा सजाय ऐनसम्बन्धी दोस्रो संशोधन विधेयकमाथि छलफलमा भाग लिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । स्थानीय प्रशासनदेखि जिल्ला प्रशासनमा काम गर्नेहरूका लागि मिटरब्याजी समस्या व्यापार बनेको उहाँले बताउनुभयो । समस्या समाधानका लागि प्रस्तावित ऐनले स्पष्ट बोल्नुपर्ने उहाँले चर्चा गर्नुभयो ।
तीन दिन चेक अनादर, तीन महिना बुझ्न र तीन महिना अदालत जाने व्यवस्था विधेयकमा उपयुक्त नरहेकाले त्यसलाई सच्याएर जानुपर्ने उहाँले सुझाव दिनुभयो । सहकारी बैङ्क ऐन २०७४ मा अझ केही प्रावधान स्पष्ट हुन आवश्यक रहेको उहाँले सुझाव दिनुभयो ।
सम्बन्धित कसुरहरू विधेयकमा समेट्न सकिए राम्रो हुने उहाँले बताउनुभयो । सरकारी बैङ्कलाई नियमन गर्ने ऐन बन्ने भएकाले यसमा स्पष्ट व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ । दुई वर्षको सजायको विषय पनि कमजोर भएको उहाँले बताउनुभयो ।