• ८ मंसिर २०८१, शनिबार

लैङ्गिक समानताका लागि सांस्कृतिक कार्यक्रम

blog

काठमाडौँ, फागुन ५ गते  । लैङ्गिक समानता, न्याय र शान्तिका लागि विश्वव्यापी अभियानका रूपमा उर्लंदो सय करोड (वन विलियन राइजिङ) अभियानका सन्दर्भमा यहाँ विविध सांस्कृतिक कार्यक्रम र चित्रकलाको आयोजना गरिएको छ । 

भृकुटीमण्डपमा आयोजना भइरहेको ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्च २०२४  कार्यक्रम अन्तर्गत टेवा, सङ्गत नेपाललगायत ३५ वटा महिलावादी संस्थाले उर्लंदो सय करोड अभियानलाई चेतनामूलक नाटक, कविता, गीत, गजल वाचन, सांस्कृतिक नृत्यका कार्यक्रमसहित मनाएको छ । 

सन् २०१२ देखि विश्वभरका महिला, बालिकामाथि भइरहेको अन्याय र शोषणविरुद्धको अभियान उर्लंदो सय करोड अभियान हिंसाको प्रतिरोध सिर्जनात्मक ढङ्गले मञ्चमा प्रस्तुत गर्दै मनाउँदै आएको सङ्गत नेपालका  संयोजक दुर्गा सापकोटाले जानकारी दिनुभयो । 

अमेरिकी नारीवादी अभियानकर्मी नाटक लेखक तथा प्रस्तोता इभ एन्सलरको पहलमा सुरु भएको यस अभियानलाई विगत ११ वर्षदेखि विशेष गरी भ्यालेन्टाइनको दिन मनाउँदै आएकोमा नेपालमा चलिरहेको पाँचदिने विश्व सामाजिक मञ्च अन्तर्गत  मनाइएको आयोजकले जनाएको छ । 

सो अवसरमा टेवाकी संस्थापक रिता थापाले भारतकी महिला अधिकारकर्मी कमला भासिनले यस अभियानलाई नेपाल र भारतमा व्यापक बनाउनुभएको स्मरण गर्नुभयो । उहाँले महिला, किशोरीमाथि गरिने हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिँदै हिंसा र अन्यायको विरोध महिलाले सिर्जनात्मक तरिकाले गर्छन् भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । धिमे बाजाको प्रस्तुतिसहित सुरु भएको कार्यक्रममा रक्षा नेपालका कलाकारले वन्धन तोडौँ भन्ने सन्देशसहितको सो अभियानसँग सम्बन्धित गीतमा नृत्य प्रस्तुत गर्नुभयो । 

कार्यक्रममा कविता वाचन, ह्विलचेयर नृत्य, नाटक, म्युजिकल मोनोलग र विभिन्न कलाकारले हिंसाविरुद्ध विविध प्रस्तुति प्रस्तुत गर्नुभयो ।