• १५ वैशाख २०८१, शनिबार

शीर्ष क्रमका ब्याटरले जिम्मेवारी निर्वाह सकेनन् : कप्तान रोहित

blog

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल । फाइल तस्बिर

काठमाडौं, फागुन ३ गते। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नामिबियाविरुद्ध शीर्ष क्रमका ४/५ ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताउनुभएको छ।

आइसिसी विश्वकप लिग–२ (२०२४–०२७) को पहिलो खेलमा नामिबियासँग हार पछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले शीर्ष क्रमका ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताउनु भएको हो। 

उहाँले करिब ४५ मिनेट जति आफ्ना ब्याटरले धैर्य राखेको भए पनि अवस्था फरक हुने उल्लेख गर्दै नामिबियाका बलरको पनि  बलिङ तारिफयोग्य रहेको बताउनुभयो। नामिबियाका बलरले पिचको कन्डिसनलाई राम्रोसँग प्रयोग गरेकाले सफलता पाएको रोहितको भनाइ छ। कप्तान रोहितले विशेषत रुबेन ट्रम्पलमेन र डेब्युटेन्ट ज्याक ब्रसेलले राम्रो क्षेत्रमा कन्डिसनअनुसार बलिङ गरेको गरेको बताउनुभयो।

बलिङ राम्रो गरेपछि कन्डिसनमा पनि साथ पाएको रोहितले बताउनुभयो। उहाँले तल्लो क्रमसम्म आफ्ना ब्याटर रहे पनि ब्याटिङ युनिटले पाएका अवसरलाई सदुपयोग गर्न नसकेको धारणा राख्नुभयो। राम्रो साझेदारी बनेपछि पनि त्यसलाई राम्रो स्थितिमा पुर्‍याउन नसक्नुले पनि ब्याटिङमा समस्या बनेको उल्लेख गर्नुभयो। एक दिवसीय क्रिकेटमा शीर्ष ४/५ ब्याटर महत्त्वपूर्ण रहने भएकाले उनीहरू छिटै पभेलियन फर्किँदा समस्या भएको बताउनुभयो। नेपालका प्रशिक्षक मोन्टी देसाईले यो हारलाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै सुरुमा दबाब झेल्न नसक्दा समस्या भएको बताउनुभयो।

आजको खेल कन्डिसन पनि चुनौतीपूर्ण रहेको र त्यसलाई खेलाडीले बुझ्न नसकेको बताउनुभयो। यद्यपि, यसबारे अब टोलीले काम गर्ने योजना पनि सुनाउनु भयो। उहाँले भीम सार्की र कुशल मल्लको साझेदारी भने महत्त्वपूर्ण रहेको बताउनुभयो। नामिबियाविरुद्ध २३०/२४० रनको योगफल भए त्यो पर्याप्त रहन सक्ने उल्लेख गर्नुभयो।

नामिबियाका कप्तान जेरार्ड इरास्मसले नेपालविरुद्ध राम्रो क्रिकेट खेल्न सकिएको उल्लेख गर्दै टस जित्नु पनि आफूहरूका लागि केही फाइदा मिलेको बताउनुभयो। नेपाललाई एक सय ३२ रनमा रोक्नु नै सबैभन्दा ठुलो सफलता रहेको धारणा राख्नुभयो। आफूहरूले नेपालका हरेक खेलाडीका लागि छुट्टै रणनीति बनाएर बलिङ नगरेको उल्लेख गर्नुभयो।