• ८ मंसिर २०८१, शनिबार

नेपाल सङ्गीत विद्यालयमा स्नातक तह अध्यापन

blog

काठमाडौँ, फागुन ३ गते । नेपाल सङ्गीत विद्यालयले स्नातक तहको सङ्गीतको अध्ययन गराउने भएको छ । नेपाल म्युजिक सेन्टर शैक्षिक गुठी तथा गुठीद्वारा सञ्चालित नेपाल सङ्गीत विद्यालयको १८ औँ वार्षिक उत्सव कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । 

गुठीका अध्यक्ष तथा लोक सेवा आयोगका पूर्वअध्यक्ष तीर्थमान शाक्यको अध्यक्षतामा बुधबार सम्पन्न कार्यक्रममा प्रवीणता प्रमाणपत्र तहको अध्ययन गराइरहेका विद्यालयमा स्नातक तह पनि अध्ययन अध्यापन गर्ने भएको जनाएको छ ।  

नेपाल सङ्गीत विद्यालय विगत १८ वर्षदेखि निरन्तर औपचारिक सङ्गीत शिक्षाका लागि र नेपाली लोकसङ्गीत तथा जातीय सङ्गीतको खोज अनुसन्धानका लागि सशक्त तवरबाट कार्य गर्दै आएको छ । नेपाल म्युजिक सेन्टर ट्रस्टका संस्थापक अध्यक्ष सन्तोष शर्माले आफूले नेपालमा सङ्गीतको औपचारिक शिक्षाको विकास र विस्तारका लागि विद्यालय स्तरदेखि विश्वविद्यालय स्तरसम्मको कक्षा सञ्चालन गर्न चाहेको र हाल कक्षा १२ सम्म सञ्चालनसमेत भइरहेकाले अब छिट्टै स्नातक तहको सङ्गीत कक्षा सुरु गर्ने जानकारी दिनुभयो । 

नेपाली लोकसङ्गीतको खोज अनुसन्धानका लागि काम गर्दै आएको र जीवनभर काम गर्न चाहेकाले नेपाल सरकारले आवश्यक सहयोग र वातावरण दिए अझ सशक्त तवरले अगाडि बढ्न सकिने भनाइ उहाँको छ । सोही अवसरमा विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै यस विद्यालयले औपचारिक र अनौपचारिक दुवै विधाको शिक्षा प्रदान गर्दै आइरहेको र अब छिट्टै स्नातक स्तरको समेत सम्बन्धन लिई पठनपाठन सुरु गर्ने धारणा राख्नुभयो । कार्यक्रममा शास्त्रीय सङ्गीत, नेवारी नृत्य, सेमिक्लासिकल, सेमिक्लासिकल नृत्य, लोकगीतलगायतका साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।