लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन २ गते । विद्याकी देवी सरस्वती पूजाको आराधनासँगै बटेश्वर गाउँपालिकास्थित शिव शक्ति माध्यमिक विद्यालयले छ कोठे र चार कोठे भवनको उद्घाटन गरेको छ ।
विद्यालयले बुधबार बसन्त पञ्चमीको अवसरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष राम अशिष महतोद्वरा छ कोठे “शिव भवन” र चार कोठे “शक्ति भवन” को उद्घाटन गरेको हो ।
गाउँपालिका अध्यक्ष महतोले सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको गुनासो भए पनि यो विद्यालयले शिक्षामा फड्को मारेको बताउनुभयो । शिक्षामा सुधार हुनु गाउँपालिकाको लागि गर्वको विषय रहेको उहाँको भनाइ छ । उहाँले शिक्षालाई गुणस्तरीय बनाउन विद्यालय र शिक्षकलाई प्रोत्साहन गर्न गाउँपालिका सधै तयार रहने बताउनुभयो ।
आगामी दिनमा विद्यालयले अझैं प्रगति गर्ने भन्नुहुँदै गाउँपालिका अध्यक्ष महतोले शिक्षा क्षेत्रमा विद्यालयले आमुल परिवर्तन ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।
नमूना गुरुयोजना अन्तर्गत नेपाल सरकारको आर्थिक सहयोग तथा गाउँपालिका र विद्यालयको प्राविधिक सहयोगमा निर्माण भएको उक्त दुई वटा भवन विद्यालयको तेस्रो तल्लामा अवस्थित छन् ।
सोही दिन गाउँपालिका अध्यक्षले विद्यालय परिसरमा तीन तल्ले १२ कोठे प्रशासनिक भवनको समेत शिलान्यास गर्नुभयो ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रमोद शरण केवट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यको उपस्थिति रहेको थियो ।