• १३ असोज २०८१, आइतबार

स्वर्गीय अमर नेम्वाङ साहित्य स्मृति पुरस्कार तुम्खेवा र बाँस्कोटालाई

blog

स्वर्गीय अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट सम्मानति विमला तुम्खेवा र गिरिराज बाँस्कोटा। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, माघ २६ गते। साहित्यकार अमरराज नेम्वाङको स्मृतिमा स्थापना भएको स्वर्गीय अमर नेम्वाङ लिम्बू स्मृति साहित्य सम्मान स्रष्टा द्वय विमला तुम्खेवा र गिरिराज बाँस्कोटालाई प्रदान गरिएको छ।

स्वर्गीय अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले एक सार्वजनिक कार्यक्रम आयोजना गर्दै उहाँहरुलाई सम्मान सहित पुरस्कार अर्पण गरेको हो।

तुम्खेवालाई आख्यान र बाँस्कोटालाई नियात्रा विधाबाट पुरस्कारका लागि छनौट गरिएको प्रतिष्ठानका सस्थापक मुनिन्द्र नेम्वाङले बताउनुभयो। प्रमुख अतिथि तथा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्वेले शुक्रबार फिदिममा आयोजित एक कार्यक्रममा नगद ५० हजार पुरस्कार सहित दोसल्ला र कदर पत्र मार्फत सम्मान गर्नुभएको हो । पुरस्कृत स्रष्टा तुम्खेवा सञ्चारिका समूह नेपालकी अध्यक्ष हुनुहुन्छ भने बाँस्कोटा पत्रकार महासंघ पाँचथरका अध्यक्ष हुनुहुन्छ।

सोहि कार्यक्रममा प्रतिष्ठानले स्वर्गीय अमर नेम्वाङ लिम्बू स्मृति छावृत्तिबाट  ज्योती मावि आङसराङकी छात्रा प्रेमा लावतीलाई पुरस्कृत गरिएको छ। 

सोही अवसरमा प्रतिष्ठानले आगलागीमा ज्यान गुमाउनुभएका हिलिहाङ ७ का सेसे पन्दाक, फिदिम ५ का सनिप खाती, फाल्गुनन्द १ का मनकुमार नेम्वाङ र मिक्लाजुङ ७ का सरिता राईका परिवारलाई राहत स्वरुप नगद १० हजार रुपियाँका दरले राहत रकम उपलब्ध गराएको छ। 

बाढी पहिरोमा ज्यान गुमाएका हिलिहाङ ७ का तिलकुमार तामाङ, आशिष माझी र एलिसा माझी, फालेलुङ ४ की जुना सावदेन, फिदिम १० का सन्जोग लोवा र फिदिम ५ का राजकुमार राईको परिवारलाई पनि नगद १० हजारका दरले राहत रकम उपलब्ध गराइयो।

तत्कालीन फाल्गुनन्द गाउँपालिका अध्यक्षसमेत रहनुभएका नेम्वाङको २०७५ साल माघ २६ गते निधन भएको थियो। उहाँको परिवारका सदस्यले प्रतिष्ठान स्थापना गरेर पुरस्कार छात्रवृत्ति र राहत उपलब्ध गराउदै आएको छ 

स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मानबाट यसअघि डाक्टर देवी क्षेत्री दुलाल, मुनाराज शेर्मा, डा. गोविन्दराज भट्टराई, वीर नेम्वाङ, विना थिङ, शारदा सुब्वा, श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत भइसक्नुभएको छ।

पुरस्कार, राहत र सम्मान वितरण कार्यक्रमको संयोजन याक्थुङ लेखक संघले गरेको हो।