काठमाडौँ, माघ २५ गते । काठमाडौँ महानगरपालिकामा सुधारसहितको पार्किङको व्यवस्थापनका लागि सरोकारवालाले माग गरेका छन् । महानगरभित्र कुनै पनि स्थानमा व्यवस्थित पार्किङ स्थान वा भवनको विकास भई नसकेको भन्दै सार्वजनिक स्थानमा रहेका पार्किङहरू पूर्णरूपमा हटाउँदा अव्यावहारिक र असान्दर्भिक भएको उनीहरूको भनाइ छ ।
महानगरको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले सयौँ वर्षदेखि स्थापित बजार तथा प्रशासनिक भूगोलमा स्थानीय सरोकारवालासँग छलफल नगरी चालिएको कदमप्रति आपत्ति रहेको बताउनुभयो । यस क्षेत्रमा ४० प्रतिशत व्यावसायिक कारोबार घटेको गुनासोसमेत आइरहेको भन्नुहुँदै उहाँले पार्किङ हटाउने विषयमा आफूलाई समेत जानकारी नभएको भनाइ राख्नुभयो ।
महर्जनले भन्नुभयो, “ठुलो व्यापारिक क्षेत्र भएकोले विकास, समृद्धिको सवालमा जुन चासो, सवाल छ यसमा प्रतिबद्ध छौँ । सम्पूर्ण जनताको अभिमतलाई सम्मान गर्छौँ । समिति ठाउँमा कमीकमजोरी सच्याउँदै पार्किङ निःशुल्क गरिनुपर्छ ।”
महानगरको पुरानो कार्यालय भवन रहेको जग्गामा निर्माण भइरहेको सांस्कृतिक भवनलाई आवश्यक लिफ्ट जडान गरी पार्किङ भवनको रूपमा रूपान्तरण गर्न पनि उनीहरूले माग राखेका छन् । स्थानीय राजनीतिक दलहरू नेपाली काँग्रेसका सभापति शालिग्राम तण्डुकार, नेकपा [एमाले] का उपाध्यक्ष बेखानारायण महर्जन, नेकपा [माओवादी केन्द्र] का मनोज मानन्धर, जनता समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य राधाकृष्ण महर्जनसहित स्थानीय व्यावसायिक सङ्घ–संस्थाका प्रतिनिधिले बुधवार संयुक्त रुपमा महर्जनलाई ज्ञापन पत्र बुझाएका छन् ।