• ९ मंसिर २०८१, आइतबार

बजार व्यवस्थापन समृद्धिको आधार

blog

आर्थिक विकासका लागि बजार अत्यन्त महत्वपूर्ण आधार हो । उत्पादित वस्तु र सेवाको व्यवस्थित तथा दिगो बजार व्यवस्थापनले मात्र विकास र समृद्धि गतिशील बन्न सक्छ । त्यसैले आन्तरिक रूपमा उत्पादित वस्तु र सेवालाई आन्तरिक बजारको माग अनुसार सम्बन्धित स्थानमा पु¥याउने हो भने मुलुक आत्मनिर्भरको बाटोमा अगाडि बढ्ने वातावरण बलियो बन्छ । दिगो र विश्वासिलो आन्तरिक बजार व्यवस्थापनले अन्तर्राष्ट्रिय बजारमा पनि विश्वास र पहुँच बढ्दै जान्छ ।

बजार व्यवस्थापनबिचको अन्तरसम्बन्धलाई ध्यानमा राखेर आन्तरिक बजार र बाह्य बजारमा अन्तरद्वन्द्वको स्थिति आउन नदिन बजार व्यवस्थापन प्रणालीलाई राज्य र निजी क्षेत्रको सहकार्यमा व्यवस्थित बनाउने रणनीतिक योजना कार्यान्वयनमा ल्याउनु पर्छ । उत्पादनको न्यायिक वितरणलाई बजारको माध्यमबाट जनताको घरदैलोमा पुर्‍याउन आन्तरिक बजार सञ्जालको व्यवस्थापनलाई व्यवस्थित गरिनु पर्छ । राज्यले उत्पादन र उपभोक्ताबिचको सन्तुलनलाई योजनाबद्ध ढङ्गले व्यवस्थापन गरेर आन्तरिक बजारलाई बलियो बनाउँदै बाह्य बजारसँग प्रतिस्पर्धा गर्ने रणनीति अङ्गीकार गर्न सक्नु पर्छ ।

मुलुकलाई आर्थिक रूपमा सबल बनाउन र आत्मनिर्भर अर्थतन्त्रको बाटोमा अगाडि बढाउन एकीकृत आन्तरिक बजार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर तीनै तहका सरकारले आआफ्नै आन्तरिक बजारको व्यवस्था गर्नु पर्छ । त्यसले उत्पादन र वितरण व्यवस्थित गर्नुका साथै आन्तरिक तथा बाह्य बजारलाई व्यवस्थित गर्न सहज वातावरण बनाउने गर्छ । आन्तरिक बजार व्यवस्थापनको नीतिले भौतिक पूर्वाधारमा सुधार हुने र मुलुक औद्योगिकीकरणको बाटोमा अगाडि बढ्न पनि सहज वातावरण बन्छ । 

भौतिक पूर्वाधारको विकास र बजार व्यवस्थापनका कारण औद्योगिक विकासले गति लिनुका साथै नयाँनयाँ विज्ञान र प्रविधि भित्रिने वातावरण बन्ने, क्रमिक रूपमा आन्तरिक मागभन्दा बढी उत्पादन क्षमताको विकास गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रवेश र प्रतिस्पर्धा गर्ने, आन्तरिक कच्चा पदार्थको राम्रोसँग खपत हुने, उद्यमशील जनशक्तिको विकास भई राष्ट्रिय पुँजीले बढवा पाउने, आन्तरिक रोजगारी सिर्जना हुने अवसर बढेर जान्छ । मुलुक सङ्घीयतामा अघि बढिसकेको अवस्थामा एकीकृत बजार व्यवस्थापनका लागि स्थानीय तह, प्रदेश र सङ्घीय स्तरका छुट्टाछुट्टै आन्तरिक बजारको व्यवस्थापन गर्नु जरुरी देखिन्छ ।

स्थानीय तहले स्थानीय उत्पादनको आधारमा नगरस्तरीय तथा गाउँस्तरीय एकीकृत आन्तरिक बजार व्यवस्थापन गर्नु पर्छ भने आवश्यकताको आधारमा सङ्कलन केन्द्रहरूको व्यवस्था गरी नियमित रूपमा एकीकृत आन्तरिक बजारमा पु¥याउने व्यवस्था गर्नु पर्छ । सङ्कलन केन्द्रहरूमा त्यस क्षेत्रका आमजनतालाई आवश्यक पर्ने वस्तु तथा सेवा सरल र सहज तरिकाले सुपथ मूल्यमा उपलब्ध गर्ने व्यवस्था स्थानीय एकीकृत आन्तरिक बजार व्यवस्थापनले गर्नु पर्छ । स्थानीय तहका लागि आवश्यक आयात गर्नुपर्ने वस्तु तथा सेवा प्रदेशस्तरीय सङ्कलन केन्द्र र प्रदेशस्तरीय एकीकृत आन्तरिक बजारबाट आयात गर्ने व्यवस्था गर्नु पर्छ । साथै अन्य स्थानीय तहस्तरीय एकीकृत आन्तरिक बजारहरूबिच पनि आयात निर्यातको प्रबन्ध मिलाउनु पर्छ । स्थानीय एकीकृत आन्तरिक बजार व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनु पर्छ । स्थानीय तह राजनीतिक रूपमा स्थायित्व प्राप्त र जनताको घरदैलोको सरकार भएकोले स्थानीय एकीकृत आन्तरिक बजारलाई व्यवस्थित बनाई जनतालाई उत्पादनमा जोड्नु पर्छ ।

प्रदेश सरकारले आफ्नो भूमिका बढाउन बजार व्यस्थापनको कार्यक्रमलाई अगाडि सारेर प्रदेशको विकास र समृद्धिमा जिम्मेवार सरकारको दायित्व बहन गर्नु पर्छ । प्रदेशको एकीकृत बजार व्यवस्थापनमा विशेष नीति तथा कार्यक्रम ल्याई प्रदेशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउने र प्रदेशका निर्यातजन्य वस्तु तथा सेवाको उत्पादन बढाई अन्य प्रदेश तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने रणनीति लिएर काम गर्न सके प्रदेशको भूमिका प्रति जनताको आकर्षण पनि बढेर जाने छ ।

प्रदेशभित्रको आन्तरिक उत्पादनका लागि प्रदेशस्तरीय एकीकृत आन्तरिक बजारले व्यवस्थापन गरी बजारको सुनिश्चितता गर्न सकेको खण्डमा उत्पादक र लगानीकर्ताको आत्मबल बढ्नुका साथै समृद्ध प्रदेश बनाउन सहज हुने छ । प्रदेश सरकारले आवश्यकताको आधारमा प्रदेशका विभिन्न व्यापारिक स्थानमा प्रदेशस्तरीय सङ्कलन केन्द्रहरूको व्यवस्था गरी केन्द्रमार्फत सङ्कलित वस्तु तथा सेवालाई नियमित रूपमा प्रदेशस्तरीय एकीकृत आन्तरिक बजारमा पु¥याउने व्यवस्था गर्नु पर्छ । सङ्कलन केन्द्रमा त्यस क्षेत्रका आमजनतालाई आवश्यक पर्ने वस्तु तथा सेवा सरल र सहज तरिकाले सुपथ मूल्यमा उपलब्ध गर्ने व्यवस्था प्रदेशस्तरीय एकीकृत आन्तरिक बजारमार्फत गर्नु पर्छ । 

प्रदेशले तोकेको सङ्कलन केन्द्रहरूमा स्थानीय तहस्तरीय एकीकृत आन्तरिक बजारबाट निर्यात गर्ने वस्तुलाई सङ्कलन गर्ने व्यवस्थापन प्रदेशस्तरीय एकीकृत आन्तरिक बजारले गर्नु पर्छ । प्रदेशस्तरीय सङ्कलन केन्द्रलाई त्यस क्षेत्रको प्रादेशिक आन्तरिक बजारको रूपमा विकास गर्दै स्थानीय तह अन्तर्गतका एकीकृत आन्तरिक बजार र प्रदेशस्तरीय एकीकृत आन्तरिक बजारबिचको साझा बजारको रूपमा विकास गर्नु पर्छ । 

प्रत्येक प्रदेशले प्रदेशस्तरीय एकीकृत आन्तरिक बजारमार्फत आआफ्नो प्रदेशलाई आवश्यक पर्ने वस्तु तथा सेवा आयात तथा निर्यात गर्ने व्यवस्था मिलाई मुलुकभित्र आन्तरिक बजार व्यवस्थापनलाई व्यवस्थित गर्नु पर्छ । त्यसरी आन्तरिक उत्पादनको खपत तथा बिक्री वितरणको व्यवस्था मिलाई आन्तरिक उत्पादन र प्रयोगलाई पहिलो प्राथमिकता दिनु पर्छ । मुलुकको आन्तरिक बजार उत्तर दक्षिणमा मात्र सीमित रहेको अवस्थामा पूर्वपश्चिम र सिङ्गो मुलुकमा नै बजार व्यवस्थापन व्यवस्थित गर्न सङ्घीय एकीकृत आन्तरिक बजारको पनि आवश्यक हुन्छ । त्यसरी विकास गरिएको एकीकृत आन्तरिक बजार व्यवस्थापनले मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।

सङ्घीय एकीकृत आन्तरिक बजार व्यवस्थापनले मुलुकमा उत्पादन नहुने वस्तु र सेवालाई प्रदेशहरूको माग अनुसार अन्तर्राष्ट्रिय बजारबाट झिकाइ प्रदेशस्तरीय एकीकृत आन्तरिक बजारहरूमा उपलब्ध गराउने काम गर्नु पर्छ । त्यस्तै प्रदेशहरूले अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर उत्पादन गरेका वस्तु तथा सेवालाई सङ्घीय एकीकृत आन्तरिक बजारले अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहज व्यवस्थापन गर्न जरुरी देखिन्छ । सङ्घीय सरकारले आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्धन गर्न प्रदेश तथा स्थानीय सरकारलाई प्रोत्साहन गर्दै आन्तरिक बजारलाई सङ्गठित र मजबुत बनाउन पहिलो प्राथमिकता दिएर काम गर्नु पर्छ । 

निजी क्षेत्रका आफ्नो उत्पादनलाई एकीकृत आन्तरिक बजारमार्फत वा निजी क्षेत्रको आफ्नै व्यवस्थापनमार्फत बजारको खोजी गर्न स्वतन्त्रता दिनु पर्छ तर राज्यले एकीकृत आन्तरिक बजारमा उपलब्ध वस्तु तथा सेवा आमजनतामा अपर्याप्त रहेको ठहर गरेमा निजी क्षेत्रसँग समन्वय गरी निजी क्षेत्रको उत्पादनलाई एकीकृत आन्तरिक बजारमा ल्याएर आपूर्ति गर्ने नीति अङ्गीकार गर्नु पर्छ । त्यसले आन्तरिक उत्पादनको खपत बढ्ने र आत्मनिर्भर अर्थतन्त्रको विकासमा महत्वपूर्ण टेवा पुग्नुको साथै राज्य र निजी क्षेत्रको सम्बन्ध पनि सुमधुर बन्छ ।

मुलुकको आफ्नो स्वतन्त्र र एकीकृत आन्तरिक राष्ट्रिय बजारको विकासले कुनै पनि वस्तु र सेवाको उत्पादन तथा आपूर्तिमा सहज हुनका साथै बजारलाई मध्यनजर राखी उत्पादनमा जोड दिन सकिन्छ । त्यसरी विकास गरिएको बजार प्रणालीको व्यवस्थाले अर्थतन्त्र सुदृढ भई मुलुकको भौतिक विकासमा पनि ठुलो सफलता प्राप्त हुन्छ । त्यसैले साझेदार अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू र राज्यले त्यसतर्फ ध्यान केन्द्रित गरी आन्तरिक बजार व्यवस्थापन र उत्पादनमा जोड दिनु पर्छ, जसले आन्तरिक उत्पादन प्रवर्धन हुनुका साथै रोजगारीको पनि राम्रो अवसर मिल्ने छ ।

किसान र सङ्कलन केन्द्रबिचको मूल्यको अन्तर, सङ्कलन केन्द्र र सम्बन्धित तहका आन्तरिक बजारबिचको मूल्य अन्तर केवल व्यवस्थापन लागत र न्यून मुनाफा राखी उत्पादकले उचित मूल्य पाउने व्यवस्था गरिनु पर्छ । बजार व्यवस्थापनमा दलाल बिचौलियालाई कुनै भूमिका दिनु हुँदैन । आन्तरिक बजार व्यवस्थापनमा राज्य, निजी क्षेत्र र सहकारीले एकीकृत रूपमा सहकार्य गरेर अगाडि बढ्ने समन्वयात्मक भूमिका निर्वाह गर्नु पर्छ । आन्तरिक एकीकृत बजार व्यवस्थापन प्रणालीको विकासले सङ्घीयतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ ।

मुलुकको उत्पादनको पहिलो बजार छिमेकी मुलुकहरूलाई बनाउँदै थप उत्पादन तेस्रो मुलुकको आवश्यकतालाई ध्यानमा राखेर भरपर्दो, सहज र दिगो बजारको व्यवस्थापन गरी उत्पादनमा केन्द्रित हुनु पर्छ । नेपालले दुई विशाल अर्थतन्त्र र जनसङ्ख्या भएका छिमेकी मुलुकलाई आफ्नोे भरपर्दोे अन्तर्राष्ट्रिय बजारको रूपमा साथ लिएर अगाडि बढ्न सकेको खण्डमा आर्थिक रूपमा फड्को मार्न लामो समय लाग्दैन । छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकतालाई मध्यनजर राखेर निर्यातमुखी उत्पादनमा जोड दिँदै व्यापार घाटाको अन्त्य गर्ने रणनीति लिन आवश्यक देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय वस्तु तथा सेवाको उत्पादनमा विश्वासनीयता कायम गर्दै बाह्य बजारको विस्तारमा जोड दिनु पर्छ । अन्तर्राष्ट्रिय बजार विस्तारका लागि आफ्ना व्यापारिक राष्ट्रहरूसँग घनिष्ठ सम्बन्ध बनाएर अगाडि बढ्नु अपरिहार्य छ ।

Author

डा. ज्ञानेन्द्रबहादुर कार्की