• १३ असोज २०८१, आइतबार

‘कल्पान्तर’ मञ्चन

blog

काठमाडौँ, माघ २५ गते । नाट्यसम्राट बालकृष्ण समको १२२ औँ जन्मजयन्तीको अवसरमा देशैभरि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । यसै अवसरमा सांस्कृतिक संस्था जमलले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर समको जन्मजयन्ती मनाइएको छ । सांस्कृतिक संस्थानमा विभिन्न विधामा प्रशिक्षण लिएका प्रशिक्षार्थीले आफ्नो आफ्नो विधामा प्रस्तुति दिएका छन् । 

अभिनय प्रशिक्षणको ३१ औँ ब्याचले पुरु लम्सालको लेखनमा सवनम सिलवाल र रामभजन कामतको निर्देशन रहेको नाटक ‘कल्पान्तर’ को मञ्चन गरेको छ । कल्पान्तरले एउटा लेखकको विषयलाई उठान गरेको छ । एउटा कवि आफ्ना सिर्जनाले चर्चित रहेको अवस्थामा पनि उसको पारिवारिक अवस्था र आर्थिक अवस्था कति कमजोर रहेको छ भन्ने कुरा नाटकमा देखाइएको छ । कवि लेखकका रूपमा देशमा स्थापित धेरै व्यक्ति आज पनि उपचारको अभावमा आफ्नो जीवन गुमाइरहेका छन् । राज्यले लेखक कलाकारलाई बेवास्ता गरेको विषय नाटकमा देखाइएको छ । करिब एक घण्टा लामो नाटकमा प्रशिक्षार्थी ब्याचका दुई दर्जन कलाकारको अभिनय रहेको थियो ।

नेपाली नाटक लेखनको इतिहासमा पहिलो मौलिक नाटक लेखकका रूपमा समलाई लिइन्छ । लेखन, अभिनय र निर्देशन तीन वटै पाटामा काम गर्नुभएका समका डेढ दर्जन नाटकका पुस्तक प्रकाशित छन् । कवितात्मक वा गद्यात्मक एवं सुखान्त वा दुःखान्त दुवै सिर्जनामा समलाई अब्बल मानिन्छ । समलाई आधुनिक नेपाली नाटकका प्रारम्भकर्ता पनि भन्ने गरिन्छ ।