• १६ भदौ २०८१, आइतबार

घोषणामा पूर्ण साक्षर माझी बालबालिका निरक्षर

blog

राधाकृष्ण डुम्रे

वालिङ, माघ २५ गते । स्याङ्जाको गल्याङ नगरपालिका–९, कालीगण्डकी नजिकै रहेको माझी बस्तीका बालबालिका विद्यालय जाँदैनन् । विद्यालय जान उनीहरूलाई अभिभावकले प्रेरित पनि गर्दैनन् । यसको एउटै कारण हो घर नजिकै विद्यालय नहुनु ।

छिमेकी गाउँका बालबालिका विद्यालय गइरहँदा यो गाउँका बालबालिकाका हरेक दिन मनोरञ्जन र खेलमा रमाएर बित्ने गरेको छ । विद्यालयको मुख देख्न नपाउनुमा गाउँमा विद्यालय नहुनु हो । उनीहरूलाई पढ्नका लागि कालीगण्डकी नदी तरेर अर्को प्रदेशमा जानुपर्ने बाध्यता छ । यही बाध्यताका कारण अभिभावक आफ्ना बालबालिकालाई पढ्न पठाउँदैनन् । 

स्थानीय श्यामबहादुर माझीले भन्नुभयो, “बस्ती नजिक स्कुल छैन । टाढाको स्कुल पठाउन सकिएन ।” उहाँले गाउँका बालबालिकालाई पढ्नु पर्छ भन्ने सामान्य जानकारी पनि छैन । माझी बस्तीमा १७ घरपरिवार छन् । उनीहरूका १९ जना बालबालिका विद्यालयको पहुँचबाट टाढा छन् । केही बालबालिका भने पढ्नका लागि छिमेकी जिल्ला पाल्पा पुग्ने गरेको स्थानीयको भनाइ छ । पढ्न गएकाहरू पनि तह अनुसारको पढ्ने उमेर नाघेका छन् ।  

माझी समुदायका अधिकांश मानिस पढ्न र लेख्न जान्दैनन् । स्थानीय दिलकुमारी माझीले गाउँमा विद्यालय नभएका कारण आफूहरू शिक्षाबाट वञ्चित हुनुपरेको गुनासो गर्नुभयो । उहाँले विद्यालय नभएका कारण आफूहरू अन्य गाउँको तुलनामा हरेक हिसाबले पछिपरेको बताउनुभयो । उहाँले छोराछोरीलाई विद्यालय पठाउन सहज हुने खालको सचेतना आफ्नो बस्तीमा आवश्यक रहेको बताउँदै भन्नुभयो, “छोराछोरीलाई पाल्पा पठाउन कुनै अप्ठ्यारो थिएन तर यहाँको संस्कार नै यस्तै बनेको छ । छोराछोरी पढाउन एकल प्रयासले हुने अवस्था नै छैन ।” 

गल्याङ नगरपालिकाले भने माझी समुदायका बालबालिकालाई पढ्ने व्यवस्था गरिएको दाबी गरेको छ । नगरपालिकाका वडा नं. ९ का अध्यक्ष नामदेव खनालले माझी बस्तीबाट आधा घण्टाको दुरीमा विद्यालय रहे पनि विद्यार्थी आफैँ अनुपस्थित रहेको दाबी गर्दै भन्नुभयो, “बालबालिकालाई शिक्षामा अगाडि ल्याउन र विद्यालय जाने वातावरण बनाउन पहल जारी छ ।” 

शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले धेरै विद्यार्थी विद्यालय नजाने आफूहरूलाई जानकारी नरहेको भन्दै यसबारेमा आफूले बुझ्ने र समस्या भएको भए समाधानका लागि पहल गर्ने बताउनुभयो । पठित धेरै भएको जिल्लाका रूपमा स्याङ्जालाई लिइन्छ । स्याङ्जालाई २०७१ सालमा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको थियो । जिल्लाका ८१.७ प्रतिशत नागरिक साक्षर रहेको २०७८ सालको राष्ट्रिय जनगणनाले देखाएको छ ।