नयाँदिल्ली, असार १८ गते । प्रधानमन्त्री नरेन्द्र मोदी पाँच राष्ट्रको भ्रमणका लागि बुधबार घानातर्फ प्रस्थान गर्नुभएको छ । उहाँले यही जुलाई ५ देखि ८ सम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुहुने कार्यक्रम छ भने अन्य विभिन्न मितिमा घाना, ट्रिनिडाड एण्ड टोबागो, अर्जेन्टिना र नामिबियाको भ्रमण गरी नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने जनाइएको छ ।
ब्रिक्स सम्मेलनपछि उहाँले दक्षिण अमेरिकी मुलुक ब्राजिलको राजकीय भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको ब्राजिलको यो चौथो भ्रमण हुनेछ । शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री मोदीले धेरै द्विपक्षीय बैठकहरू गर्नुहुनेछ । ब्राजिलको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री मोदी ब्रासिलिया जाने र ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भासँग व्यापार, रक्षा, ऊर्जा, अन्तरिक्ष, प्रविधि, कृषि, स्वास्थ्य र नागरिक र नागरिकबीचको सम्बन्धलगायत क्षेत्रहरूमा दुई देशबिचको रणनीतिक साझेदारी विस्तार गर्न द्विपक्षीय छलफल गर्ने उल्लेख छ ।
प्रधानमन्त्री मोदीले सुरुमा अफ्रिकी मुलुक घानाको भ्रमण गरी त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग द्विपक्षीय साझेदारी, आर्थिक, ऊर्जा, रक्षा र विकास सहयोगको माध्यमबाट यसलाई अगाडि बढाउन विषयमा छलफल गर्ने जनाइएको छ । भ्रमणले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाई इकोवास (पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुह) र अफ्रिकी सङ्घसँगको भारतको सम्बन्धलाई बलियो बनाउन दुई देशको साझा प्रतिबद्धतालाई पुष्टि गर्ने उल्लेख गरिएको छ ।
विगत तीन दशक यता घाना भ्रमण गर्ने उहाँ पहिलो भारतीय प्रधानमन्त्री हुनुभएको छ । भ्रमणको दोस्रो चरणमा, प्रधानमन्त्री मोदीले जुलाई ३ र ४ गते ट्रिनिडाड एण्ड टोबागोको आधिकारिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यो प्रधानमन्त्रीको रूपमा उहाँको पहिलो भ्रमण र १९९९ पछि ट्रिनिडाड एण्ड टोबागोको प्रधानमन्त्री स्तरमा पहिलो द्विपक्षीय भ्रमण हुनेछ ।
भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले ट्रिनिडाड एण्ड टोबागोका राष्ट्रपति क्रिस्टिन कार्ला काङ्गालु र प्रधानमन्त्री कमला पर्सद बिसेसरसँग वार्ता गरी द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र त्यहाँको संंसद्को संयुक्त सत्रलाई पनि सम्बोधन गर्ने बताइएको छ । तेस्रो चरणमा प्रधानमन्त्री मोदीले जुलाइ ४ र ५ मा अर्जेन्टिनाको भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री मोदीले अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईसँग जारी सहयोगको समीक्षा रक्षा, कृषि, खानी, तेल र ग्याँस, नवीकरणीय ऊर्जा, व्यापार लगायतका क्षेत्रहरूमा द्विपक्षीय साझेदारी बढाउने उपायबारे छलफल गर्ने कार्यक्रम छ । भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री मोदीले जुलाई ९ मा नामिबियाको राजकीय भ्रमण गर्ने जनाइएको छ । यो प्रधानमन्त्रीको नामिबियाको पहिलो भ्रमण र भारतबाट नामिबियाको तेस्रो प्रधानमन्त्रीको भ्रमण हुनेछ ।
भ्रमणमा प्रधानमन्त्री मोदीले राष्ट्रपति नेतुम्बो नन्दी-नदैतवाहसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ भने नामिबियाका संस्थापक तथा प्रथम राष्ट्रपति स्वर्गीय साम नुजोमालाई पनि श्रद्धाञ्जलि अर्पण गर्ने जनाइएको छ । उहाँले नामिबियाको संसद्लाई पनि सम्बोधन गर्ने विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको भ्रमण नामिबियासँग भारतको ऐतिहासिक सम्बन्धको पुनरावृत्ति भएको जनाइएको छ । रासस/एएनआई