• १३ साउन २०८१, आइतबार

थानकोट–चन्द्रागिरि सडक : थप छ करोड बजेट विनियोजन

blog

थानकोट–चन्द्रागिरि सडकको स्तरोन्नति गरिँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, माघ २४ गते । सरकारले थानकोट–चन्द्रागिरि सडकमार्गलाई थप छ करोड बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्ग नाम गरेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप खेपेको भन्दै आलोचना भएपछि सरकारले सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ ।

उक्त सडक हेर्ने सडक डिभिजन कार्यालय काठमाडौँका सूचना अधिकारी प्रमोद खतिवडाका अनुसार यस आयोजनाका लागि चालू आर्थिक वर्षका लागि २२ करोड रकम माग गरिए पनि पहिले दुई करोड मात्र बजेट विनियोजन भएको थियो । अहिले थप पाँच करोड ९९ लाख बजेट विनियोजन भएको उहाँको भनाइ छ ।


बजेट अभाव भएको भन्दै कार्यालयले सडक सुधारको काम गरेपछि सडकमार्गको थानकोट–चन्द्रागिरि खण्ड उच्च जोखिमयुक्त रहेको छ ।

थानकोटबाट चन्द्रागिरितर्फ उकालाेमा पाँच सयमिटर कालोपत्र गर्न सम्झौता भए पनि मागेको बजेटको १० प्रतिशत कम आएपछि अन्य तर्फ काम गर्न नसकिने खतिवडाको भनाइ छ ।

उहाँले भन्नुभयो, “यस सडकका लागि माग गरिएको २२ अर्ब रुपियाँ थियो । पहिले दुई करोड रुपियाँ मात्र बजेट विनियोजन भएको थियो । अहिले थप पाँच करोड ९९ लाख बजेट छुट्याइएको छ । यसले बाटो चौडा गर्ने र बाटोको साइज मिलाउने काम मात्र गर्न सकिन्छ ।”

यो आर्थिक वर्षमा यस सडक खण्डका लागि कुल सात करोड ९९ लाख बजेट परेको छ । उहाँका अनुसार यस सडकमा कालोपत्रे गर्ने योजना रहेपनि बजेटको अभावका कारण तत्काल गर्न सकिने सम्भावना छैन ।


रौतहट चन्द्रपुर, बारा निजगढ, पर्सा, वीरगन्ज, मकवानपुर हेटौडा र थाहा नगरलगायत स्थान जाने छोटो दूरीको मार्ग चन्द्रागिरि सडकमा दैनिक हजारौँ यात्रु जोखिम मोलेर हिँड्ने गरेका छन् ।

यस सडकखण्डमा तीन साता अघिमात्र सवारी दुर्घटनामा एकै परिवारका चार जनाले ज्यान गुमाएका थिए ।


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।