• २८ पुस २०८१, आइतबार

तरकारी खेतीबाट मनग्गे आम्दानी

blog

मीना कँडेल

कावासोती, माघ २४ गते । पूर्वी नवलपरासीका किसानले पछिल्लो समय तरकारी खेतीबाट मनग्गे आम्दानी गरिहेका छन् । जिल्लाको कावासोती नगरपालिका–२ मा भूमिसरा र श्यामकुमारी ठाडामगरले तरकारी खेतीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ । ६० वर्षीय भूमिसरा विगत पाँच वर्षदेखि कावासोतीमा तरकारी खेती गर्दै आउनुभएको छ । तरकारी खेतीले जीवन नै फेरिएको छ । आफैँले तरकारी खेती गरी आम्दानी गरेपछि कसैसँग माग्न नपर्दा खुसी लागेको भूमिसरा बताउनुहुन्छ । 

“एकै घरका सासू बुहारी मिलेर गरे के हुँदैन भनेर आफ्नै गाउँठाउँमा व्यावसायिक रूपले तरकारी उत्पादन गर्दै आएका छौँ,” भूमिसराले भन्नुभयो, “सासू बुहारी एकीकृत तथा पशुपन्छी कृषि फार्म दर्ता गरेर तरकारीका साथै पशुपालन गरेका छौँ । मौसम अनुसार करेला, बोडी र घिरौँला, काँक्रो, घिउ सिमी र आलु लगाइएको छ ।” मौसमी तरकारी लगाइने उहाँ बताउनुहुन्छ । श्यामकुमारी ठाडाले उत्पादित तरकारी कहाँ बेच्ने भन्ने चिन्ता नभएको बताउनुभयो । कावासोती क्षेत्रमा नै उत्पादित तरकारी खपत हुँदै आएको छ । जीविकोपार्जनका लागि मात्र नभएर व्यावसायिक ढङ्गबाट कृषि कार्य गर्दा राम्रो आम्दानी गर्न सकिने ठाडा परिवारको भनाइ छ ।

यस्तै देवचुली नगरपालिका–१६ मा नर्सुल्ला मियाँले व्यावसायिक तरकारी खेतीबाट मनग्गे आम्दानी गर्न सफल हुनुभएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको दुई बिघा जमिनमा खेती गर्नुभएका मियाँले वार्षिक तीन सिजनमा तरकारी उत्पादन गर्ने गर्नुभएको छ । यहीँ व्यवसायबाट घरघडेरी जोड्नुका साथै छोराछोरीको शिक्षादिक्षा र विवाहसमेत गरेको मियाँले बताउनुभयो । 

व्यवसायबाट राजमार्ग छेउमा १२ कट्ठा जमिन जोड्न सफल हुनुभएका मियाँका छोराछोरी पनि अहिले तरकारी खेतीमा संलग्न छन् । उहाँले भन्नुभयो, “मेहनत गरे कृषि क्षेत्रमा राम्रो गर्न सकिन्छ, धैर्य र लगनशीलता चाहिन्छ । लगाएकोमध्ये आठ कट्ठाको तरकारी बिक्री भइसकेको छ । अहिले काउली, बन्दा, ब्रोकाउली बेच्न भ्याइनभ्याइ भएको छ । काँक्रो, करेला पनि लगाएको छु, अहिले बेचिरहेको छु ।” 

अर्का देवचुली–१६ कै नौसाद मियाँले पनि दुई बिघा जमिनमा तरकारी खेती गर्नुहुन्छ । उत्पादन भएको तरकारी खरिद गर्न ग्राहक बारीमै आउँछन् । बजारको खासै पिर छैन । तीन सिजन तरकारी फलाउने मियाँले अहिले धान भित्राए पछि टमाटर, भेन्डी, घिरौँला लगाउनुभएको छ । तरकारीले लागत अनुसारको मूल्य पाए सबै खर्च कटाएर एक सिजनमा ६० हजारसम्म बचत हुने उहाँको भनाइ छ । तरकारी खेतीबाट नै मियाँले छोराछोरीको पठनपाठन औषधोपचारलगायतको घरखर्च राम्रोसँग चलाउनुभएको छ । 

कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लामा व्यावसायिक तरकारी खेती गर्ने किसानका लागि आर्थिक वर्ष २०८०/८१ मा २० लाख रुपियाँ अनुदानका लागि विनियोजन गरी कार्यक्रम गरेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।