• १३ असोज २०८१, आइतबार

मत्स्येन्द्र्नाथ र भोटो जात्रा तस्बिर प्रदर्शनी

blog

लेखनाथ समाचारदाता

लेखनाथ, माघ २४ गते । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा रातो मत्स्येन्द्र्रनाथ र भोटो जात्राबारे तस्बिर प्रदर्शनी सुरु भएको छ । सङ्ग्रहालयको २१ औँ स्थापना दिवसका अवसरमा पाटन दरबार सङ्ग्रहालय र हनुमान ढोका दरबार सङ्ग्रहालयको सहकार्यमा सो प्रदर्शनी गरिएको हो ।

रातो मत्स्येन्द्र्रनाथ र भोटो जात्राको फोटो प्रदर्शनी माघ २८ सम्म चल्ने छ । प्रदर्शनी पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । 

पोखरा महानगरका प्रमुख आचार्यले हिमाली क्षेत्रको रहनसहन, संस्कृति र परम्परा झल्काउन र जीवन्त राख्न म्युजियम महत्वपूर्ण रहेको बताउनुभयो । यो प्रदर्शनीले देशका दुई महानगरबिच सांस्कृतिक आदानप्रदान हुने जनाउनुभयो ।

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले ललितपुर वरिपरि मनाइने ऐतिहासिक जात्राबारे पोखरेलीलाई जानकारी दिन पाउँदा निकै खुसी लागेको सुनाउनुभयो । सम्पदाको संरक्षण वर्तमान अवस्थामा मात्र नभई भोलिका लागि पनि हो भन्ने कुराको चेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । रातो मत्स्येन्द्र्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनीमा राखिएको छ ।

हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्बिर पनि प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदा तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्वयुद्धका लागि तयार पारिएका नेपाली सेना, विसं १९९० को महाभूकम्प आदि झल्कने २२ तस्बिर पनि छन् ।  

जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौथो आरोहण गर्दा खिचेका तस्बिरसमेत प्रदर्शनीमा राखिएका छन् । हेनिजले सन् १९९५ मा अन्नपूर्ण चौथो आरोहण गर्नुभएको थियो । 

सन् २००२ देखि निर्माण थालिएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय २००४ फेब्रअरी ५ मा उद्घाटन भएको थियो । सङ्ग्रहालयमा विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा, आरोहण इतिहास, जानकारी तथा गतिविधि बुझाउन तस्बिर तथा सामग्री प्रदर्शनीमा राखिएका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ९८ हजार पाँच सय ३८ जनाले सङ्ग्रहालय भ्रमण गर्दा डेढ करोड रुपियाँ आम्दानी भएको छ ।