काठमाडौँ, माघ २३ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियनको अधिकारको विषय समेट्नु नहुने बताउनुभएको छ।
मगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफलमा भाग लिँदै मन्त्री शर्माले विधेयकमा ट्रेड युनियन अधिकारको विषय राख्नु आवश्यक नभएको बताउनुभएको हो।
उहाँले विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था नगरिएको भन्दै फेरि सो विषयलाई उल्लेख गर्नु आवश्यक नभएको बताउनुभयो।उहाँले कर्मचारीको विषयमा छलफल गर्न सकिने भए पनि कर्मचारीको काम, कर्तव्य र अधिकारमा ट्रेड युनियनको अधिकार दिनुहुने बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘यो विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था छैन।व्यवस्था नभएको कुरालाई किन उप्काउने भन्ने हो।कर्मचारी युनियन बन्नुपर्छ भन्ने कुरा कतैकतै आएको भए गम्भीरतापूर्वक सोच्नुपर्थ्यो।अघि माननीयज्यूहरूले भनेजस्तै हामीले दुरुपयोग गरेर समस्या भएको हो।सदुपयोग गरेको भए केही समस्या हुँदैन थियो।कर्मचारीको विषयमा कहीँ त्यस्तो लेखेको रहेछ भने कर्मचारीसम्बन्धी दफालाई हेरौँला।भएन भने काम, कर्तव्य, अधिकारमा त्यो उल्लेख नगरौँ भन्ने आग्रह गर्न चाहन्छु ।’’
बैठकमा बोल्दै नेकपा(एमाले) की सांसद विद्या भट्टराईले ट्रेड युनियन अधिकार संविधानले प्रदान गरेको अधिकार भएको बताउनुभयो।बैठकमा बोल्दै नेकपा(एमाले) का सांसद महेश बर्तौलाले सुरक्षण मुद्रणमा काम गर्न कर्मचारीको छुट्टै संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले कर्मचारीको विशेष संयन्त्र बनाउँदा कर्मचारीको बदमासी र मनपरी पनि हुनसक्ने भन्दै त्यसतर्फ पनि कानुन बनाउँदा विचार पुर्याउनुपर्ने बताउनुभयो।