काठमाडौँ, माघ २३ गते । ससाना बालबालिकादेखि युवापुस्तामाझ चर्यानृत्यको लोकप्रियता बढ्दै गएको छ ।
बौद्ध धर्मको वज्रयानी वज्राचार्य गुरुहरूले परम्परादेखि पूजाकोठाभित्र अभ्यास गर्दै आएका चर्यानृत्य संरक्षण गर्नुपर्ने उद्देश्यले ससाना बालबालिकालाई सो प्रशिक्षण दिइन थालेको छ । पछिल्लो दिनमा यो नृत्यप्रति अभिभावकदेखि बालबालिकाको आकर्षण बढ्न थालेको सरोकारवालाले बताएका छन् ।
चर्यानृत्य गुरु तथा प्रशिक्षक सञ्जय राजोपाध्यायले बालबालिकाका लागि यो नृत्य निकै आकर्षण हुन थालेको बताउनुभयो । बालबालिकाहरू पनि धेरै रुचिका साथ सिक्ने गरेको उहाँले अनुभव सुनाउनुभयो । उहाँका अनुसार नेपालको मौलिक शास्त्रीय नृत्य भनेकै चर्या हो । यसका गीत संस्कृत भाषामै गाइन्छन् । यो मुख्यतया मुद्राको आधारमा नृत्य गरिन्छ ।
हाम्रो संस्कार, संस्कृतिलाई हामीभित्रै मात्र राख्न हुँदैन भन्ने उद्देश्यका साथ अहिले बालबालिकादेखि युवापुस्तालाई प्रशिक्षण दिइन थालेको उहाँको भनाइ छ । स्व. संस्कृतिविद् सत्यमोहन जोशीको पुस्तक ‘बःचाधंगु नेवाः खँग्वः धुकू’ मा चर्याको अर्थ नेवार सम्प्रदायमा बौद्ध महायानीहरूको गुह्यपूजा हुने बेला गाइने धार्मिक शास्त्रीय गीत भनी उल्लेख छ । चर्या गीतको शाब्दिक अर्थ बौद्ध महायानी, गुभाजु, बजेजु आदि जातिहरूको आगं (कुल) पूजा गरिने बेला गाइने गोप्य गीत वा कुल वेद पनि भनिएको छ ।
यस्तै नृत्य गुरु चन्द्रमान मुनिकारले पनि चर्यानृत्यको संरक्षण गर्न बालबालिकालाई प्रशिक्षण दिइरहनुभएको छ । उहाँका अनुसार नृत्यको जग भनेको चर्यानृत्य हो । यो हरेक मानिसले सिक्नु र जान्नुपर्ने नाच हो ।
विगत छ महिनादेखि चर्यानृत्य सिक्दै गरेकी बालिका रजनी मानन्धरका अनुसार यो नृत्य गर्न खुब आनन्द आउने गरेको छ । यो नाच सिकेपछि ध्यान गर्न सिकेको र अनुशासनमा बस्न सिकेको अनुभव रजनीले सुनाउनुभयो ।
अर्का बालक कुनाल वज्राचार्यले चर्यानाच सिकेपछि नाचको अर्थ बुझेको जानकारी दिनुभयो । केटा भएर पश्चिमी नृत्य मात्र सिक्नुपर्ने जस्तो गर्छन् तर नेपालको लोक नृत्यमा नै नृत्यको अर्थ रहेको मैले बुझेँ– उहाँले भन्नुयभो ।
चर्यानृत्य
गुरु राजोपाध्याय भन्नुहुन्छ, “त्रिभङ्ग (खुट्टा, कम्मर र शिर) मा बसेर लास्य (नारी शक्ति नृत्य) र ताण्डव (पुरुष शक्ति) मा समावेश भई भावपूर्ण मुद्रामा सम्पूर्ण अङ्ग परिचालन गरी नृत्य गर्नेलाई चर्यानृत्य भनिन्छ । यो नृत्यमा देवीदेउताले जसरी नै पोसाक र गरगहना नियमानुसार पहिरिनु पर्छ । चन्द्रहार, बाजु (मुकुट), घाँटीको पेटी, कम्मर पेटी, मोतीमाला, धातुको मोटो सिक्री र देवीदेउताको वर्ण अनुसारको रङ्गीन टीका लगाउनु पर्छ ।”
उहाँले चर्यामा मञ्जु श्री, वज्रयोगिनी, पञ्चतारा, आर्यतारा, कुमारी, पञ्चबुद्ध, भैरवकाली, अन्नपूर्णलगायतका देवीका रूपमा नृत्य गरिने जानकारी दिनुभयो । चर्यानृत्यको आफ्नै मौलिक महìव छ । यसको विशेषता भन्नु संसारका कुनै पनि नृत्यसँग मेल नखानु हो । या नृत्यको अर्को विशेषता भनेको रागबाट सुरु भएर श्लोकमा टुङ्गिन्छ । यो नृत्य साङ्गीतिक रस अन्तर्गत नाचिन्छ । चर्यानृत्य नेपाली संस्कृतिको एउटा अति विशिष्ट नमुना मानिन्छ ।