• २८ पुस २०८१, आइतबार

'कांग्रेस सुधारमा युवा नेतृत्व आवश्यक'

blog

नागरिक संवाद कार्यक्रममा विचार राख्नुहुँदै नेता प्रदीप पौडेल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, माघ २१ गते । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई सुधार गरेर अगाडि बढाउन युवा नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका नेता पौडेलले नेतृत्व युवाको काँधमा ल्याउन प्रयास गरे पनि सफल हुन नसकेको विचार व्यक्त गर्नुभयो ।  

उहाँले भन्नुभयो, "हामीले निरन्तर प्रयास गरेका छौं तर हाम्रो प्रयास सफल हुनसकिरहेको छैन । पार्टीभित्र भएका विकृति र विसङ्गतिलाई न्यूनीकरण गर्दै बलियो पार्टी बनाउने हाम्रो प्रयास जारी छ ।" नेपाली कांग्रेस म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको नागरिक संवाद कार्यक्रमका सहभागीहरुले राखेका प्रश्न र जिज्ञासाको जवाफ दिनुहुँदै नेता पौडेलले स्वर्णिम इतिहास लेखिएको कांग्रेस पार्टी आज थुप्रै प्रश्नै प्रश्नले घेरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, "आज हामी जनताका प्रश्न र गुनासाहरुले घेरिएका छौं । ती प्रश्नको सही जवाफ हामीले दिन सक्नुपर्दछ । सुशासन र आर्थिक विकास जनताले चाहेका छन् । हामीले व्यवस्था परिवर्तन गर्‍याैं  अब जनताको अवस्थामा परिवर्तनतिर केन्द्रित हुनुपर्दछ ।" जनताको अवस्थामा परिवर्तन नआएकाले अहिलेको व्यवस्थामाथि जनताले प्रश्न गरेको उहाँको भनाइ थियो । 

"अहिले देशमा शिक्षा र स्वास्थ्य क्षेत्रमा अस्तव्यस्तता छ । जसले गर्दा आम नागरिकलाई असुरक्षित बनाएको छ । पहुँचका भरमा काम गर्ने अवस्था छ," नेता पौडेलले थप्नुभयो, नागरिक जस्तै असन्तुष्ट म पनि छु, आम नागरिकलाई आशा लाग्दो बनाउनका लागि भ्रष्टाचारका विरुद्धमा खरो रुपमा उत्रिनुपर्दछ ।" नागरिकलाई सुशासन दिन सकेमा लोकतन्त्र बलियो हुने उहाँको भनाइ छ। 

जनताका बिचमा पुगेर जनताका गुनासा र सुझाव लिएर कांग्रेस पार्टीलाई सुधार गर्न समुदायमा कांग्रेस अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । आम नागरिकले नेपाली कांग्रेसका बारेमा के भन्नुहुन्छ ? आजको राजनीतिका बारेमा नागरिकका गुनासो र सुझाव के छन् ती सबैलाई सङ्कलन गर्न नागरिक संवाद कार्यक्रम सञ्चालन गरेको नेता पौडेलको भनाइ थियो । 

स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, पार्टीका बारेमा जनताबाट सुझाव सङ्कलन गर्न नेपाली कांग्रेस म्याग्दीले नागरिक संवाद कार्यक्रम आयोजना गरेको पार्टीका उपसभापति हरिकुमार श्रेष्ठले बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका १६ जनाले जिल्लामा अलपत्र परेको बेनी अस्पतालको भवन निर्माण, बेनी –मालढुङ्गा सडक, शिक्षा, स्वास्थ्य र कांग्रेस पार्टीलाई सुधार गर्नुपर्ने जस्ता विषयमा प्रश्न र जिज्ञासा राखेका थिए । नागरिक संवादको सहजीकरण नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले गर्नुभएको थियो ।