• १३ साउन २०८१, आइतबार

खगेन्द्र नवजीवन केन्द्रको बेथिति : समितिले थाल्यो छानबिन

blog

काठमाडौँ, माघ २१ गते । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको बेथिति, अनियमितता, सञ्चालन विधि र सम्भावित भ्रष्टाचारबारे अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समिति गठन शनिबारदेखि काम सुरु गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित सात सदस्यीय छानबिन समितिले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सङ्घको कार्यालय शनिबार अनुगमन र निरीक्षण गरेको हो । 

सहायक प्रजिअ ढुङ्गानाले छानबिन कार्य आरम्भ गरिएको बताउनुभयो । उहाँले नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको अनियमितता, बेथिति र भ्रष्टाचारको सन्दर्भमा विषय उठेपछि गठित समितिले छानबिन थालेको र स्थलगत निरीक्षणसँगै अन्य विषयमा पनि अध्ययन भइरहेको बताउनुभयो । अपाङ्गता अधिकारकर्मी एवं अधिवक्ता विदुरकुमार थापाले छानबिन समितिले केन्द्रमा भएको खर्च विवरण बिल भर्पाइँ र सम्पूर्ण हिसाब पेस गर्ने निर्देशन दिएको बताउनुभयो । 

“अध्ययन समितिले खगेन्द्र नवजीवन केन्द्रको सम्पूर्ण खर्चको विवरण, निर्णयका माइन्युट पेस गर्नुपर्ने निर्देशन दिएको छ । पदाधिकारीले सङ्घको सम्पत्ति दुरुपयोग गरेको सन्दर्भमा पनि छानबिन समितिलाई जानकारी गराएपछि त्यस विषयमा पनि छानबिन अघि बढाउने तयारी समितिले गरेको छ,” उहाँले भन्नुभयो । 

खगेन्द्र नवजीवन केन्द्रमा आश्रित नागरिकले मङ्सिर पहिलो सातादेखि सङ्घर्ष समिति गठन गरेर एक महिनासम्म तालाबन्दी र धर्नासहित आन्दोलन गरेका थिए ।