• २७ वैशाख २०८२, शनिबार

शालिग्राम संरक्षण प्राथमिकतामा

blog

हिन्दु धर्ममा शालिग्रामलाई अत्यन्तै पवित्र र पूजनीय मानिन्छ । शालिग्राम विशेष गरी भगवान् विष्णुको प्रतीकका रूपमा पुज्ने गरिन्छ । शालिग्रामको स्पर्श मात्रैले पनि लामो समयदेखि जान–अन्जानमा गरेका पाप नष्ट हुने र यसको पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक किंवदन्ती रहँदै आएको छ । स्कन्द पुराणमा उल्लेख भए अनुसार शालिग्रामबाट  सर्पभय, अग्निभय, दुःख, दरिद्र नाश हुनेसमेत उल्लेख छ । धार्मिक रूपमा मात्र नभई शालिग्रामको आर्थिक रूपमा समेत महत्व रहँदै आएको छ । शालिग्रामभित्र सुनलगायतका बहुमूल्य धातु रहने गरेको जानकारले बताउँदै आएका छन् । शालिग्राम कालीगण्डकी नदीको दामोदर कुण्डदेखि गुल्मीको रिडीसम्मको क्षेत्रमा पाइने गर्दछ ।

कालीगण्डकी नदीमा मात्र पाइने शालिग्रामलाई संरक्षण र प्रवर्धनका निम्ति लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । जसका लागि पाल्पा, स्याङ्जा र गुल्मी तीन जिल्लाको सङ्गम स्थल रिडीमा शालिग्राम महोत्सवमार्फत प्रवर्धन थालिएको हो । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनीका प्रदेश सचिव नारद गौतमले कालीगण्डकी नदी, शालिग्राम र ऋषिकेश मन्दिरलाई जोडेर धार्मिकसँगै पर्यटकीय रूपले विकासको सम्भावना प्रबल भएकाले महोत्सवमार्फत यसको उजागर गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले यसको संरक्षण, प्रचारप्रसार र प्रवर्धनका लागि योजना बनाएर काम गरिरहेको छ ।”

चार धाममध्येको एक रुरुक्षेत्रधाम एक महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थल मानिन्छ । प्रदेश सचिव गौतमले शालिग्रामको महत्वसँगै कालीगण्डकी नदी र ऋषिकेश मन्दिरलाई विश्वसामु परिचित गराउने गरी प्रदेश सरकार अघि बढेको बताउनुभयो । 

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले विश्वको एक मात्र शालिग्राम पाइने स्थल कालीगण्डकी नदी र शालिग्रामको महत्वका बारेमा सबैलाई जानकारी गराउनु अपरिहार्य रहेको बताउनुभयो । “पछिल्लो पुस्ता यसका बारेमा जानकार नभएकाले नयाँ पुस्तालाई यसका बारेमा जानकारी गराउनु आवश्यक छ,” उहाँले भन्नुभयो, “जसका कारण यसको संरक्षण गर्न थप टेवा पुग्ने छ ।” अध्यक्ष ज्ञवालीले कालीगण्डकी नदी र शालिग्रामसँग जोडिएको धार्मिक मूल्य र मान्यतालाई थप स्थापित गर्ने गरी प्रदेश सरकारले सहयोग पु¥याएको जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेश सरकारको पर्यटन मन्त्रालयले तानसेन नगरपालिकालाई ससर्त रूपमा बजेट उपलब्ध गराएपछि ऋषिकेश मन्दिर व्यवस्थापन समितिमार्फत कार्य हुँदै आएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार चार धाममध्येको रुरुक्षेत्र धाममा भएको शालिग्राम महोत्सवले यसको महत्वबारे थप उजागर गर्ने बताउनुभयो । “कालीगण्डकी नदी र शालिग्रामको महत्वलाई थप टेवा पु¥याउनका लागि यस्ता महोत्सव हरेक वर्ष गरिनु पर्छ,” उहाँले भन्नुभयो, “जसले पर्यटन विकासलाई पनि थप टेवा पुग्ने छ ।”

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठका अनुसार कालीगण्डकी नदी र शालिग्राम एकआपसका परिपूरक जस्तै भएकाले धार्मिक र पर्यटकीय रूपबाट विकास गर्न लागिएको हो । उहाँले यसको महत्व र विकासका लागि लुम्बिनी प्रदेश सरकारले गुरुयोजना नै बनाएर अगाडि बढेकाले आगामी दिनमा बहुवर्षीय रूपमा पनि थप प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभयो । यसलाई थप विकास गर्नका लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबिच समन्वय र सहकार्य हुँदै आएको छ । हाललाई लुम्बिनी प्रदेश सरकारको १० लाख रुपियाँ र नगरपालिकाको एक लाख रुपियाँबाट उक्त महोत्सव आयोजना गरिएको हो । उहाँले अपुग रकम तीन वटै स्थानीय तहको समन्वयबाट हुने उल्लेख गर्नुभयो । नेपालको कालीगण्डकी नदी क्षेत्र शालिग्राम शिलाको प्रमुख स्रोत हो । हालै भारतको अयोध्यामा राम मन्दिरको निर्माणका लागि नेपालबाट शालिग्राम शिला लगिएको स्मरणीय छ ।