• २८ पुस २०८१, आइतबार

हिमपातले मध्यपहाडी अवरुद्ध

blog

हिमपातले अवरुद्ध बनेको मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमपश्चिमको मुसीकोट नगरपालिका ७ र ८ को सिमा क्षेत्र । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, माघ १९ गते । हिजो बिहीबार बिहानैदेखि परेको वर्षासँगैको हिमपातले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडीको रुकुमपश्चिम र रुकुमपूर्वको सडकखण्डमा भएको बाक्लो हिमपातको कारण यातायात अवरुद्ध भएको हो । 

रुकुमपश्चिमको मुसीकोट नगरपालिका ७ र ८ को रिनदह क्षेत्र र रुकुमपूर्व र बागलुङको सिमाना क्षेत्र पातिहाल्नमा परेको हिमपातको कारण यातायात अवरुद्ध भएको बताइएको छ । मध्यपहाडी राजमार्ग अवरुद्ध भएपछि रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै काठमाडौँ जाने यातायातका साधनहरू छुटाइएको छैन । जिल्ला सदरमुकामबाट काठमाडौँका लागि जाने गाडीहरू राप्ती राजमार्ग हुँदै छुटाईएको छ । 

त्यसैगरी, जिल्लाका पश्चिमी क्षेत्रबाट काठमाडौँका लागि छुट्ने गाडीहरू सल्यानको सल्लीबजार, कोहलपुर, बुटवल हुँदै जानको लागि छुटाइएको छ । रुकुम सिस्ने यातायात प्रा.लि.का कर्मचारी डेबिट गौतमका अनुसार रुकुमपश्चिमबाट मध्यपहाडी हुँदै रुकुम पूर्व, बागलुङ, पोखरा, काठमाडौँ जाने कुनै पनि बस छुटेको छैन । काठमाडौँ जानका लागि भने सल्यान दाङ, बुटवल हुँदै बस पठाइएको छ । हिउँ नपन्छाउन्जेल वा नबिलाउन्जेलसम्म गाडी आउजाउमा मुस्किल हुने गौतमको भनाइ छ । 

हाल यहाँबाट रुकुम सिस्ने यातायात प्रा.लि., सानीभेरी यातायात सेवा प्रा.लि., बटालियन यातायात प्रा.लि., सानीभेरी यातायात सेवा प्रा.लि., कमलदह यातायात प्रा.लि., घोडाघोडी यातायात लगायतले काठमाडौँको लागि यात्रु सेवा दिँदै आएको छ ।