खलङ्गा समाचारदाता
जाजरकोट, वैशाख २८ गते । यहाँका मौरीपालन किसानलाई मौरीसहितका घार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटले मौरीको मह उत्पादन क्षेत्रका किसानलाई मौरीसहितका दुई सय घार वितरण गरिएको हो ।
मौरीको महमा आत्मनिर्भर बनाउन विगत वर्षदेखि काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भेरी नगरपालिका–१, २ र ४, नलगाड नगरपालिका–१, २ र ३, कुसे गाउँपालिका–५ का किसानलाई मौरीसहितका दुई सय घार वितरण गरेको छ । मौरीपालन गर्न इच्छुक किसानलाई १८२ वटा खाली घार वितरण गरिएको छ । जोन सञ्चालनमा काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मह उत्पादन हुने गाउँबस्तीका किसानले माग गरेका आधारमा मौरी घार दिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख गणेशबहादुर थापाका अनुसार मौरीपालन किसानबाट माग भएका मौरीसहितका दुई सय घार र मौरी राख्ने खाली १८२ वटा घार वितरण गरिएको छ । उहाँका अनुसार भेरी नगरपालिका, नलगाड नगरपालिका, कुसे गाउँपालिकाका केही वडामा महको पकेट क्षेत्र भएपछि मौरीको मह उत्पादनबाट किसानको आयआर्जनमा सुधार ल्याउन वितरण गरिएको छ ।
मौरीपालन किसानलाई काममा सजिलो बनाउन परियोजनाले मिनी ट्रिलर ५१ थान, खाडल खन्ने मेसिन एक थान, पावर स्प्रे चार थान, ब्रस कटर १४ वटा वितरण गरिएको छ । उहाँका अनुसार प्रधानमन्त्री आधुनिकीकरण परियोजनामा सूचीकृत भएका ४६ वटा समूह, सहकारीमार्फत आवश्यकता अनुसार वितरण गरिएको छ । कृषि पेसाबाट आत्मनिर्भर तथा जीविकोपार्जन गरेका जनताको जीवनस्तर परिवर्तन ल्याउन मौरी, ओखर, सुन्तला र दलहन जोनमा सात वटै स्थानीय तहमा काम गरेको प्रमुख थापाले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिक रश्मि न्यौपानेका अनुसार गत वर्षको उत्पादनका आधार यस वर्ष छ हजार किलो मह उत्पादन भएको छ । मौरीपालन व्यवसायको उत्पादकत्वमा वृद्धि भए पनि उत्पादन घटेको छ । उत्पादन घट्नुमा बेमौसमी वर्षाले मौरीले महका लागि बटुल्ने फूलको रस बगाउने गरेकाले मह उत्पादनमा कमी आएको छ । बेमौसमी वर्षाले मौरीको आहार चरन क्षेत्रको फूलको रस झारेपछि किसानलाई बचाउनसमेत समस्या हुने गरेको छ । मौरीको महबाट आम्दानी बढाउन मौरीपालनमा किसान आकर्षित भए पनि उत्पादनमा कमी आउन थालेपछि चिन्तित भएका छन् । मौरीसहितका घार पाएपछि खुसी भएका जनता मौरीले चर्ने आहारा पानीले बगाएपछि बचाउन समस्या हुने गरेको छ ।