• २६ वैशाख २०८२, शुक्रबार

दुबईमा दीपकराजलाई उद्धारको आवश्यकता

blog

 मुगु समाचारदाता

मुगु, वैशाख २६ गते । रोजगारीका लागि दुबई पुगेका दीपकराज भण्डारी  विदेशमा अलपत्र परेपछि उहाँका परिवार यहाँ शोकमा परेको छ । मुगुको छायानाथ रारा नगरपालिका–१४, सुम्ली गाउँका दीपकराज भण्डारी घरपरिवारको खुसी खोज्न दुबई पुगेका छोरा दुई महिनादेखि अलपत्र परेपछि उद्धारका लागि पहल गरिदिन भन्दै नजिकको सरकार छायानाथ रारा नगरपालिकाको कार्यालयमा धाउँदै हैरानी भएको हरिबहादुर भण्डारीले भावुक हुँदै भन्नुभयो । 

उहाँले भन्नुभयो, “छोराको उद्धारका लागि केन्द्र सरकारसँग पहल गरिदिन भनि छायानाथ रारा नगरपालिकामा धाउन थालेको एक महिना बित्यो तर अहिलेसम्म कुनै जानकारी पाएको छैन ।” छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले भण्डारीलाई विदेशबाट ल्याउन पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दीपकराजको उद्धारका लागि जिल्लाका सांसदसमेत रहनुभएका वनमन्त्री ऐनबहादुर शाहीसँग समन्वय भएको छ ।”

काठमाडौँमा रहेको फ्रन्टलाइन रिक्वाइटमेन्ट प्राली म्यानपावरमार्फत दीपकराज भण्डारी रोजगारीका लागि २०८० माघ १ गते दुबई जानुभएको थियो । नगरप्रमुख भामले दीपकराजलाई उद्धार गरेर चाँडै नेपाल ल्याउने बताउनुभयो । दुबईमा रहेका छायानाथ रारा नगरपालिका–१३ का तिलक बोहोराले वैदेशिक रोजगारीका लागि दुबई आएको चार महिना भयो भनेअनुसार आफूहरूले काम गरिरहेको बताउनुभयो । 

दीपकराज भण्डारी नेपालमा हुँदा पनि एकोहोरो हुने मानसिक रोगी जस्तो देखिनुहुन्थ्यो, यहाँ पनि उहाँमा त्यही समस्या देखिएको उहाँले बताउनुभयो । अस्पताल लैजाने तयारीमा रहेको बताउँदै उहाँले आफूहरू कामबाट फर्के आएर हेर्दा उहाँ कोठामा नरहेको बताउनुभयो । धेरै खोजबिन गर्दा पनि फेला नपरेको उहाँले बताउनुभयो । छायानाथ रारा नगरपालिका–७ का रतन रावलले दीपकराज भण्डारी दुबईको अलहर टु सहरमा मानसिक बिरामी अवस्थामा फेला परेको र उहाँलाई सुमन तामाङको सहयोगमा अहिले एक होटेलमा राखिएको बताउनुभयो । उहाँलाई चाँडै नेपाल लग्दा राम्रो हुने बताउनुभयो ।