• २६ वैशाख २०८२, शुक्रबार

विद्युतीकरणको काम अलपत्र

blog

पूर्ण विद्युतीकरणका लागि झारेका पोल अलपत्र अवस्थामा । तस्बिर : शङ्कर केसी

शङ्कर केसी

शारदा (सल्यान), वैशाख २६ गते । सल्यानको शारदा नगरपालिका वडा नं. ७ मा करिब एक वर्षअघि नै विद्युत् पोल झारिएको थियो । पोल झारेपछि बिजुली बत्ति बाल्छ कि भनेर स्थानीयले आआफ्नो घरमा वायरिङ पनि गरिसकेका छन् तर हालसम्म पोल ठडिएको छैन । वडाध्यक्ष लीलाबहादुर रोकाले आफ्नो वडामा ४०/४२ पोल मात्र झरेको भन्दै ठेकेदारका कुनै पनि प्रतिनिधि गाउँ नआएको र काम पनि सुरु नभएको बताउनुभयो ।

 यस्तै सिद्धकुमाख गाउँपालिका–५ का वडाध्यक्ष चुडामणी रेउलेले पूर्ण विद्युतीकरणको योजनाबाट सबै घरमा विद्युत् विस्तार हुने भनिए पनि विद्युतीकरणको काम अलपत्र अवस्थामा रहेको बताउनुभयो । जिल्लाकै कुमाख गाउँपालिका–४ मा पनि विद्युतीकरणको काम अलपत्र अवस्थामा छ । वडाध्यक्ष शोभीलाल बस्नेतका अनुसार आफ्नो वडाभित्र अझै ८०/९० वटा पोल आवश्यक रहे पनि हालसम्म कुनै काम हुन नसकेको बताउनुभयो । 

सल्यानका आठ स्थानीय तहमा पूर्ण विद्युतीकरणको जिम्मा पाएकोमा शक्ति क्रिस्टल जेभी, दोलखाले समयमै काम नगर्दा स्थानीय विद्युत् सेवाको उपभोगबाट वञ्चित हुनु परेको हो । शक्ति क्रिस्टल जेभीका इलेक्ट्रिकल इन्जिनियर लिल दर्लामीले विद्युतीकरणको काम भइरहेको दाबी गर्नुभयो । पोल, तार, ट्रान्समिटर विद्युत् प्राधिकरणले नै उपलब्ध गराउने भएका कारण केही तारलगायतका सामग्री कार्यालयले उपलब्ध गराउन नसकेको कारणले ढिला भएको उहाँले दाबी गर्नुभयो । “केही समय अघिसम्मको रेकर्ड अनुसार छ हजार ५४८ साना पोलमध्ये चार हजार छ सय पोल गाडिसकिएको छ । ४५० पोल आउनै बाँकी छ,” उहाँले भन्नुभयो, “ठुलो पोल दुई हजार ५४ मध्ये एक हजार चार सय गाडिसकिएको छ । ३५० किलोमिटर तार तान्नुपर्नेमा १५० किलोमिटर बढी तानिसकेका छौँ ।” 

कतिपय स्थानमा वडा कार्यालयको समेत निर्देशनमा स्थानीयले आफूखुसी पोल जबरजस्ती लगेका कारण त्यस्ता स्थानमा काम हुन नसकेको इन्जिनियर दर्लामीले बताउनुभयो । उता विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रादेशिक प्रमुख जितेन्द्रकुमार झाले विद्युतीकरणको बाँकी काम चाँडै सम्पन्न हुने बताउनुभयो । केही पोल, तार र निर्माण सामग्री विद्युत् प्राधिकरणबाटै खरिद प्रक्रियामा रहेकाले ढिला हुन पुगेको भन्दै उहाँले उपलब्ध गराएको सामग्रीमध्ये ७० प्रतिशत काम निर्माण कम्पनीबाट सम्पन्न भइसकेको बताउनुभयो । जिल्लाको दार्मा, सिद्धकुमाख, कुमाख, बागचौरमा विद्युतीकरणको काम अलपत्र र ढिलासुस्तीको अवस्थामा देखिएको छ । जिल्लामा अझै २१ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुग्न सकेको छैन । विद्युत् सेवाबाट वञ्चित हुनुपर्दा स्थानीय नागरिकको दैनिक जीवनमा विभिन्न असर पारेको छ ।