• १३ साउन २०८१, आइतबार

आठजना थारू महिला बने गाउँको भलमन्सा

blog

यसवर्ष भलमन्सा बनेका कैलारी गाउँपालिकाका महिला । तस्बिरःअविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ १८ गते । कैलालीमा यस वर्ष अहिलेसम्म आठ जना थारु महिला गाउँको भलमन्सा (बरघर) बन्न सफल हुनुभएको छ ।  गाउँवासीको भूरा खेलले उनीहरुलाई गाउँको नेतृत्व गर्न भलमन्साको जिम्मेवारी सुम्पेको हो ।

भलमन्सा प्रथा थारु समुदायमा सदियोंदेखि प्रचलनमा छ । माघ महिनाभरि भलमन्सा चयन गर्ने गरिएकाले भलमन्सा बन्ने महिलाको सङ्ख्या अझ बढ्न सक्ने विश्वास थारु अगुवाहरुको छ । यसअघि, भलमन्सा भएर पुरुषले मात्र काम गर्नेगरेका थिए । 

घोडाघोडी नगरपालिका –१२ कोटा गाउँमा इन्द्रा चौधरी, धनगढी उपमहानगरपालिका –१५ कनरी गाउँमा पहिलो पटक असरानी चौधरीले भलमन्साको जिम्मेवारी पाउनुभएको छ । यसअघि भएका भूरा खेल वा खोज्नीबोज्नीबाट दुवै गाउँमा पुरुषलाई नै भलमन्सा छान्ने गरिन्थ्यो । दुवै गाउँमा पहिलो पटक महिलाले आफ्नो क्षमता देखाउने अवसर पाएका छन् । 

यसैगरी, कैलारी गाउँपालिका –४ मा पाँच जना महिलाले यसवर्ष भलमन्साको जिम्मेवारी पाएका छन् । सो वडामा गणेशकुमारी चौधरी, शिवकुमारी चौधरी, गौरी चौधरी, विनिता चौधरी र उजलीदेवी कामी भलमन्सा बनेका छन् । धनगढी उपमहानगरपालिका –११ बासखेराका गाउँवासीले गीता चौधरीलाई यसवर्ष पनि भलमन्साको रुपमा निरन्तरता दिएका छन् ।

स्थानीय स्तरमा महिला नेतृत्वप्रति विश्वास बढ्दै गइरहेको यसअघि पनि भलमन्साको रुपमा काम गरिसक्नुभएकी कैलारी गाउँपालिका –४ कान्छीटोलकी भलमन्सा गौरी चौधरीले बताउनुभयो । 

भलमन्साले गाउँघरमा विकास निर्माण, कुलापानीको जनश्रमदानको कामदेखि भोजभतेरमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नेगरेका छन् । यसैगरी, गाउँघरमा भएको सामान्य झैझगडा मिलाउने काम पनि गर्दैआएका छन् ।