• २७ पुस २०८१, शनिबार

लुम्बिनीसँग जोडिएका क्षेत्रलाई बुद्धभूमिका रूपमा प्रचार गर्नुपर्नेमा जोड

blog

बुद्ध जन्मस्थल लुम्बिनी । फाइल तस्बिर ।

लक्ष्मण पौडेल

भैरहवा, माघ १८ गते । शान्तिका अग्रदूत गौतमबद्धको जन्मस्थल लुम्बिनी सहित जोडिएका रुपन्देहीका क्षेत्रहरूलाई बुद्धभूमिका रूपमा प्रचार र विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । 

रुपन्देहीको तिलोत्तमा १४ टिकुलीगढस्थित मायादेवी विश्वशान्ति बौद्ध विहारले आयोजना गरेको लुम्बिनी विकास कोष र स्थानीय विहारबिच सहकार्य एवम् दीप प्रज्जवलन कार्यक्रममा सहभागीहरूले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई बुद्धभूमिका रूपमा विकास गर्नुपर्ने बताएका हुन् । 

त्यस अवसरमा विश्व शान्तिको कामना गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले १०८ वटा दीप प्रज्वलन गरेका छन् । दीप प्रज्वलनसँगै गरिएको अन्तरक्रियामा कोषाध्यक्ष भट्टराईले शान्तिका अग्रदूत गौतम बुद्धकी आमा मायादेवीको स्मरणमा स्थानीय महिलाहरूको सक्रियतामा मायादेवी विश्वशान्ति बौद्ध विहारको स्थापना हुनु आफैँमा ऐतिहासिक काम भएको बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषले नीतिगत रूपमा स्थानीयसँग लुम्बिनी कार्यक्रमको अवधारणा लिएकाले आगामी दिनमा बौद्ध विहारहरूसँग सहकार्य र समन्वयका लागि आवश्यक पुलको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कोषाध्यक्ष भट्टराईले बुद्ध दर्शनको विचारलाई अङ्गीकार गर्ने समाज निर्माणमा बिहारहरूले निकै ठुलो योगदान गर्न सक्ने बताउनुभयो । उहाँले बुद्धको कालको समाज नै वास्तविक समाजवादी रहेको बताउँदै अब विश्वका लागि बुद्धको विचारलाई फैलाउन जरुरी रहेको बताउनुभयो । "बौद्ध शिक्षा लागू गरेर हुन्छ की, बुद्धको सन्देशलाई समाजमा फैलाएर हुन्छ, अब समाजलाई त्यतातिर लैजानुपर्छ", कोषाध्यक्ष भट्टराईले भन्नुभयो । उहाँले समुदायलाई जोडेर विकास गर्नुपर्ने पक्षमा आफू रहेको बताउँदै कोष पनि नागरिकसँग जोड्नुपर्ने पक्षमा रहेको बताउनुभयो । 

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले वडा न. १४ तिलोत्तमा बौद्ध अनुयायीहरू धेरै रहेको वडा समेत भएकाले यहाँको विकासका लागि लुम्बिनी विकास कोषसँगै स्थानीय सरकार समेत जोडिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले २०५० सालादेखि नै स्थानीय स्तरबाट समुदायले बौद्ध विहारको स्थापना गरेर बुद्धका विचार र दर्शनलाई समुदायमा फैलाउने काम गरेको बताउँदै अब बुद्धजन्मस्थल र लुम्बिनी विकास कोषसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

त्यस अवसरमा मायादेवी विश्वशान्ति बौद्ध विहारका अध्यक्ष गौमती पुनमगरले वि.सं. २०५० सालमा स्थानीय महिलाहरू जुटेर विहारको स्थापना गरेको स्मरण गर्दै लुम्बिनीसँग जोडिएर अगाडि बढ्न चाहेको बताउनुभयो । उहाँले आफूहरूले धेरै मेहनत गरेर विहार निर्माण गरेको तर, यहाँ ध्यान केन्द्र लगायतका अन्य पूर्वाधार निर्माणका लागि आर्थिक अभावका कारण सङ्कट भोग्नुपरेको बताउनुभयो । 

कार्यक्रममा विहारका नन्दबहादुर पुन, समाजसेवी भोजबहादुर बुढा, टिकुलीगढ युवा क्लबका सदस्य दीपक श्रीस, बुद्धि थापा लगायतले बोल्दै बुद्ध दर्शनको आवश्यकता बढ्दै गएकाले तिलोत्तमामा बौद्ध शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।