गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । कैलालीको टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा ८७ जना दोषी ठहर भएका छन् । विशेष अदालतले एक वर्षपछि मुद्दाको अन्तिम फैसला सुनाउँदै अभियोग लगाइएका २४९ मध्ये ८७ जनालाई दोषी ठहर गरेको हो । अन्य प्रतिवादीले आरोपमा सफाइ पाएका छन् ।
न्यायाधीशहरू टेननारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले विकास समितिका तत्कालीन अध्यक्ष, पदाधिकारी, मालपोत र नापीका कर्मचारी तथा जग्गा खरिद गर्नेलाई समेत दोषी ठहर गरेको छ । अदालतले पदाधिकारी र कर्मचारी ११ जना तथा समितिको नाममा जग्गा किर्ते कागजातका आधारमा लिखत दाखिला गर्ने ७६ जनालाई दोषी ठहर गरेको छ । जग्गा विकास समितिकै नाममा हुने फैसला पनि अदालतले गरेको छ ।
विशेषले विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीलाई एक वर्ष नौ महिना कैद तोकेको छ । १३ लाख सात हजार ३०० रुपियाँ जरिबाना हुने अदालतको फैसला छ । यस्तै अर्का प्रतिवादी गणेशसिंह रावललाई एक वर्ष छ महिना कैद तथा १३ लाख सात हजार ३०० रुपियाँ जरिबाना फैसला गरेको छ । प्रतिवादीहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्र कुँवर, पदमराज न्यौपाने, खडकबहादुर शाह, अम्बादत्त जोशी, बलबहादुर कडायत, मानबहादुर चन्द र जयबहादुर विष्टलाई विशेषले तीन महिना कैद सजाय गरेको छ । बिगोका आधारमा दामासाही कायम भएको १३ लाख सात हजार ३०० रुपियाँ उनीहरूलाई पनि जरिबाना हुने अदालतको ठहर छ ।
प्रथम तहमा जग्गा खरिद गर्ने प्रतिवादी ७६ जनालाई जनही तीन महिना कैद सजाय हुने विशेषको फैसलामा उल्लेख छ । जस अनुसार अर्जुनबहादुर कडायत, अशोक स्वाँर, इन्द्रादेवी भण्डारी, ताराकुमारी थापा, दलबहादुर विष्ट, दुर्गा रावल, धनबहादुर बम, पदमराज जोशी, भवानीप्रसाद पण्डित, मणिराज देवकोटा, मदनकुमार भट्टराई, महादेव थारू चौधरी, मेदनी रावल, रतनदेवी रावल, लालबहादुर साउद, बिमादेवी कुँवर, शारदादेवी विष्ट, सुशीला हमाल, सङ्गीता स्वाँर, हर्कबहादुर विष्ट, हिमा रावल, अरुण केसी, अर्चना बम र आरती बमलाई तीन महिना कैद सजाय विशेषले सुनाएको छ ।
यस्तै ईश्वरी कुँवर, ईश्वरी विश्वकर्मा, कमलबहादुर धामी, कमलादेवी न्यौपाने, कलशा कुँवर, काशीलाल खत्री क्षेत्री, केशरबहादुर कुँवर र कोकिला भण्डारी, गणेशबहादुर खड्का, चन्द्रप्रकाश सोडारी, चेतराज जोशी, झपटसिंह बोहरा, टेकबहादुर रावल, तपेन्द्रबहादुर शाह, तिलकबहादुर विष्ट, दीपा ठकुल्ला, दुर्गादेवी बुढा, देवसरा भण्डारी, नामसराकुमारी शाह, पदमराज कठायत, परमानन्द जोशी, पशुपति रावललाई पनि तीन महिना कैद सजायको फैसला अदालतले गरेको छ ।
यस्तै पार्वतीदेवी भण्डारी, पूर्णप्रसाद शर्मा, पुष्पादेवी रावल, प्रवीण पौड्याल, प्रेमप्रसाद कठायत, भद्रा रोका, भवानीप्रसाद जैसी, भारतीदेवी कठायत, मानबहादुर कुँवर, मीनादेवी थापा, रामबहादुर कडायत, रेखा आचार्य, लक्ष्मीप्रसाद जैसी, लोकराज कडायत, वसुन्धरा कुँवर, विनिता न्यौपाने, सिद्धराज जैसी, सुनीतादेवी रावल, सूर्यबहादुर रावल, तर्कराज टमटा, मीनराज गिरी, रमेश खत्री, नरेशकुमार खत्री र हरिबहादुर कडायतलाई अदालतले तीन महिना कैद हुने फैसला गरेको छ ।
नगर विकासका तत्कालीन अध्यक्ष, पदाधिकारी, मालपोत कार्यालय, नापी कार्यालयका कर्मचारीसहित २४९ जनालाई प्रतिवादी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० माघ २५ गते विशेषमा मुद्दा दायर गरेको थियो ।