काठमाडौँ, पुस २७ गते । भवन नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकाले सहरी व्यवस्थापन विभागलाई निर्देशन दिएको छ ।
महानगरका तर्फबाट उपप्रमुख सुनिता डङ्गोलले सेवाग्राहीको सहजताका लागि नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन विभागलाई निर्देशन दिनुभएको हो ।
विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीलाई भवन निर्माणको गति, नक्शा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी, निर्णायकबाट हुने भवन नक्शा स्वीकृतिको प्रक्रियाका बारेमा जानकारी लिँदै उहाँले कगजी प्रक्रियासहितको व्यवस्था विस्थापन गर्न आग्रह गर्नुभयो ।
“विद्युतीय कगजी दुवै प्रणाली प्रयोग हुँदा कार्य सम्पादनमा विकृति आउने सम्भावना बढी रहन्छ । दुईमध्ये विद्युतीय कागजी प्रणाली आधिकारिक, विश्वसनीय र प्रभावकारी हुन्छ”, उपप्रमुखले भन्नुभयो, “विद्युतीय नक्शा पास प्रणालीलाई हामीले पूर्ण कार्यान्वयनमा ल्याएर कगजी प्रणाली विस्थापन गरौँ । विवरण सङ्कलनका लागि कगजी प्रक्रिया आवश्यक भए स्वीकृत भएका फाइल ‘प्रिन्ट’ गरेर सुरक्षा गर्ने काम तत्काल गरौँ ।”