• ७ जेठ २०८१, सोमबार

५१ बालिकाको सामूहिक विवाह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १७ गते । केशचन्द्र पारावत् महाविहारको मिसा पुच:ले इतुम्बहालमा सामूहिक बेल विवाह (इहि)को आयोजना गरेको छ । दुई दिने बेल विवाहको सो कार्यक्रममा ५१ जना बालिकाको सहभागिता रहेको थियो ।

नेवार समुदायमा जन्मदेखि मरणसम्म गर्नुपर्ने विभिन्न कर्मकाण्डमध्ये बालिकाहरूका लागि इहि एउटा विशेष संस्कार हो । नेवारबाहेक नेपालको अन्य समाजमा इहिको चलन छैन । यस कार्यक्रमका संयोजक सुजिता शाक्यले  समय, बसाइसराइ आदिले अहिलेको समयमा यो संस्कार गर्न कठिन भइरहेको स्थितिलाई ध्यानमा राख्दै इतुम्बहाः मिसा पुचःले बर्सेनि सामूहिक बेल विवाहको आयोजना गर्दै आएको जानकारी दिनुभएको छ ।

इहि नेवार समुदायका छोरीहरूको रजस्वला हुनु अगावै गर्ने गरिन्छ । इहि गर्ने दिन बालिका दिनभर व्रत बस्छन् । बेललगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गरेपश्चात् इहि गर्ने बालिकाका बुवाले कन्यादान गर्छन् । बेल विवाह नेवार समुदायका छोरीहरूको पहिलो विवाहको रूपमा लिने गरिन्छ ।

यसैगरी गुरुजुहरुको धारणाअनुसार छोरीहरूलाई शीलमा राख्न, उनीहरू ठुलो भएको महसुस गराउन र गृहस्थी जीवन प्रवेशको ज्ञान दिलाउन इहि गरिन्छ ।