विविधतापूर्ण समाज नेपालको ठुलो सम्पत्ति हो । यही विविधताको सप्तरङ्गी इन्द्रधनुषी स्वरूपले नेपाललाई सुन्दर बनाएको छ । प्राकृतिक सौन्दर्यको दृष्टिले त नेपाल संसारकै सुन्दर देशमध्ये एक हो । नेपाललाई विविधतापूर्ण बनाउन योगदान गर्ने जातिमध्ये लिम्बूहरू पनि एक हुन् । यिनै लिम्बूहरूमध्ये एक समुदाय हो– खेवा । यी खेवा लिम्बूहरू तेह्रथुम र धनकुटामा बाँडिएर बसोबास गर्छन् । उनीहरू आवाद रहेको ठाउँलाई छथरथुम भनिन्छ । यही छथरथुम अन्तर्गत धनकुटा जिल्लामा पर्ने एउटा गाउँ छ, हात्तीखर्क । नेपालमा भूमिसुधार लागु हुनुभन्दा अघि हात्तीखर्क गाउँमा खेवाभित्रको पनि तिगेला थरका लिम्बूहरूको किपटिया सुवाङ्गी थियो ।
खेवा लिम्बूहरू यस गाउँमा आवाद हुनुअघि यहाँ छोङदेन थरका एउटा समूहको आवादी थियो । पछि छोङदेनहरू यस ठाउँबाट पलायन भई अन्यत्रै बसाइँ सरी गए । छोङदेनहरूले आफूहरूको अस्तित्व अर्को समूहबाट जोगाइदिएको गुन तिर्न खेवाहरूलाई आफूहरूको थातथलो नै जिम्मा दिएर उनीहरू अन्यत्रै बसाइँ सरेर गएको अनुश्रुति मात्रै होइन, ऐतिहासिक प्रमाणहरू नै पाइएका छन् ।
हात्तीखर्क गाउँ खेवा लिम्बूहरूलाई जिम्मा लगाउने छोङदेनहरू को हुन् ? उनीहरू किन आफ्ना प्राचीन थातथलो छाडेर अन्यत्रै बसाइँ सरे ? यसबारे अनुश्रुतिगत र प्रामाणिक आधारमा यस लेखमा चर्चा गरिएको छ ।
धनकुटा नगर क्षेत्रमा बसोबास गर्ने प्राचीन समुदाय हुन्– आठपहरिया राई । यो समुदायले आजसम्म आफ्नो मौलिक परम्परा, भाषा, संस्कृतिलाई जीवन्त बनाइराखेका छन् ।
यो समुदायमा १५ थर छन् । छिलिङ, माङबुङ, होम्वाराक, छारा, पाङसुङ, फोक्खिम, खावादुक, लेङसुहाङ आठपहरिया राईभित्रका थरहरू हुन् । यस समुदायका अन्य थरहरूमा किम्दाङ, चरिङ्मे, छोङदेन, पात्रे, छिगेवा, रोदुवा र चल्ले रहेका छन् । यी थरमा पनि उपथरहरू छन् । जस्तो कि छिलिङभित्र सायमाछा र असिमाछा; छाराभित्र सालोक्पा र सावोक्पा उपथर हुन्छन् ।
आठपहरिया राई समुदायमा आएर अन्य जातिका व्यक्तिहरू पनि घुलमिल भएको पाइन्छ । तीमध्ये एक हुन्, होम्वाराक थरका आठपहरिया राईहरू । उनीहरू पहिले लिम्बू थिए । धनकुटा नगरदेखि पारि ताङखुवा गाउँका तुङघङ थरका लिम्बूहरूको एक भाइ धनकुटा आएर आठपहरिया राईकी छोरी विवाह गरी ससुरालीतिरै बसोबास गरेर होम्बाराक थरका आठहपरिया राई कहलाए (उत्तमकुमार लिङ्थेप, स्व. भरत तुङघङ स्मृतिग्रन्थ, २०७९:५२–५३) ।
छोङदेन थरका आठपहरिया राईहरू चाहिँ आफ्नो पुरानो थातथलो हात्तीखर्क गाउँ खेवा लिम्बूहरूलाई जिम्मा लगाई धनकुटा आएर आठपहरिया राई समुदायमा घुलमिल भएका हुन् । अल्पसङ्ख्यामा रहेका छोङदेनहरू धनकुटा नगरको तल्लोकोप्चे र माझगाउँमा बसोबास गर्छन् ।
छोङदेनहरूले हात्तीखर्क गाउँ खेवा लिम्बूहरूको हातमा सुम्पेर धनकुटातिर आएर बसोबास सुरु गरेकोबारे एउटा गजबको अनुश्रुति पाइन्छ । इतिहासकार तथा लोककथाकार शिवकुमार श्रेष्ठले ‘किराती लोककथाहरू’ (२०६९:५०) मा एउटा यस अनुश्रुतिलाई समेटेका छन् । जो यसप्रकार छ–
छोङदेनहरूको बेला बेलामा छिमेकी रुदुवाहरूसँग युद्ध भइरहन्थ्यो । एक पटक युद्ध कतिसम्म भयानक भयो भने रुदुवाहरूको आक्रमणमा परी छोङदेनहरूको ज्यान जाँदा केवल दुई जना दाजुभाइ बडो मुस्किलले बाँच्न सफल भए । उनीहरू लेकको बाटो गरी सुदाप क्षेत्रमा शासन चलाइरहेका खेवा लिम्बूहरूसँग सहयोग माग्न हिँडे । बाटोको जङ्गलमा भाइको देहान्त भयो भने दाजु चाहिँ बेहोस भए । उनलाई जङ्गलमा घाँसदाउरा गर्न आएकाहरूले भेटी औषधोपचार गरेपछि उनी एक्लै सुदाप पुगे र सहयोगको याचना गरे । खेवा लिम्बूहरूले सहयोग गरेबापत आफूहरूले के पाउने ? भन्ने जिज्ञासा वा सर्त राखे । छोङदेनले आफूहरूलाई सहयोग गरी आफ्ना शत्रु नाश गरिदिए पूजाका लागि एक मुरी फल्ने माटोबाहेक आफ्नो आधिपत्यको पूरै गाउँ दिने वाचा गरे ।
त्यसपछि खेवा लिम्बूहरू सिधुवाबाट माङमाया खोला झरी ओख्रेखोलामा बास बसी त्यहाँको फेदीबाट हात्तीखर्क उक्ले । उनीहरूको रुदुवाहरूसँग घमासान युद्ध भयो । उनीहरूले रुदुवाहरूलाई छामलाङभन्दा पारि कटाए । त्यसपछि हात्तीखर्क खेवा लिम्बूहरूको आधिपत्यमा आयो । पूर्वसर्त अनुसार छोङदेनले एक मुरी फल्ने माटो पाए । त्यसपछि छोङदेन धनकुटामा आई आठपहरिया राईहरूसँग सम्मिलित भए ।
पूर्ववाचा अनुसार खेवा लिम्बूहरूले छोङदेनहरूका लागि छुट्याएको जग्गा अहिले पनि हात्तीखर्क गाउँको माकलुङमा छ । धनकुटा आएर आठपहरिया राईहरूमा घुलमिल हुन पुगे पनि छोङदेनहरू धुलेपूजा (भूमिपूजा) गर्न हात्तिखर्क पुग्ने गर्छन् (काजीमान कन्दङ्वा, आठपहरिया राई जातिको दिनचर्या, २०५०:३–४) । उनीहरू हरेक वर्ष हात्तीखर्क र धनकुटा नगरको सिमानामा पर्ने तालखर्क डाँडामा पुगी हात्तीखर्कतिर फर्केर भूमि पूजा गर्छन् ।
ऐतिहासिक आधारहरू
छोङदेन र खेवा लिम्बूहरूको ऐतिहासिक सम्बन्ध पुष्टि गर्ने यथेष्ट स्रोतहरू उपलब्ध छन् । तिनै ऐतिहासिक स्रोतहरूको आधारमा अब केही चर्चा गरिने छ । श्रेष्ठ (२०६९:५०) ले उल्लेख गरेको अनुश्रुतिमा छामलाङ नामको ठाउँ परेको छ । यो ठाउँ लेगुवाको छुम्लिङ हो भन्ने प्रमाणहरू प्राप्त छन् । तत्कालीन राजाहरूले खेवाहरूको नाममा गरिदिएको लालमोहरहरूमा छुम्लिङ गाउँ पनि उल्लेख गरिएको छ । छुम्लिङ गाउँमा याक्खा समुदायको आवादी छ । ‘खेवा वंशावली’ (२०५५:३२) अनुसार त्यो बेला रुदुवाहरूसँगको युद्धमा छोङदेनहरूलाई सहयोग गर्ने खेवा लिम्बूहरूका तर्फबाट हाङजिलि हाङ्दुम्बाले नेतृत्व गरेका थिए । उनी छोङदेनको ससुराली थिए । उनीहरूले हात्तीखर्कपछि मूर्तिढुङ्गा गाउँलाई पनि आफ्नो आधिपत्यमा ल्याए ।
हात्तीखर्क क्षेत्रमा खेवा लिम्बूहरूलाई छोङदेनहरूले जग्गा सुम्पिएको अनुश्रुतिमा मात्रै सीमित नभई ऐतिहासिक रूपमै प्रामाणिक छ । इतिहासकार भगिराज इङनामले ‘लिम्बूवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ (२०७७ः६२–६३) मा प्रकाशित गरेको राजा रणबहादुर शाहले विसं १८५१ साउन सुदी १० रोज ४ मा खेवाहरूलाई दिएको लालमोहरमा यसबारे स्पष्ट उल्लेख छ । लालमोहरमा “आगे. षेवा राई के लाषाकुं छोंदेन्को गा अघि मोहर गरि वक्स्याको हो. ति मोहर चार किला भित्र वषत् छुमलिंको जागि वाहिकको वाझो षेत. हाम्रो सोझो टहलमा गरं ज्यां. थामि वक्स्यौं षातिरजामा संग वनाई विह«ाई भोग्य गर” भन्ने परेको छ । यसबाट खेवाहरूले छोङदेङहरूबाट हात्तीखर्कको जग्गा पाएको ऐतिहासिक रूपमै प्रामाणिक हुन्छ ।
छोङदेङहरूले खेवाहरूलाई छाडिदिएको हात्तीखर्कको जग्गाको साँधसिमानाका बारेमा काजी जसपाउ थापाले विसं १८४९ पुस सुदी ८ रोज ६ मा खेवा लिम्बू रामजित रायका नाममा एक कस्य रुक्का पढ्दा थाहा हुन्छ । इङनाम (२०७७ः५९६–९७) ले प्रकाशमा ल्याएको यो रुक्कामा “षेवा रामजित रायलाई दिइएको हौंगन्या षोला. मंमाया पुर्व. राम्च्या डांडा पछिम् फाकुवा षोला उतर पत्त्याक. दषिन. इति चार ४ किला भित्रको. रेषो वान्झो षेत समेत छौंदेन. छाप गरि मोहोर. वक्स्याको हो त्यहि मोहोर वमोजिम्. हामिले. छापको वाहालि दिञौं” भन्ने बेहोरा परेको छ ।
यो जग्गामा बेला बेलामा झगडा र मुद्दामामिला परेको पनि देखिन्छ । यो जग्गाको विषयमा मुद्दामामिला पर्दा डिट्ठा सुवुद्धि र विचारी जयकृष्ण पाठकले मुद्दा छिनेर खेवाहरूलाई विसं १८५८ कात्तिक सुदी ११ रोज २ दिएको जितापत्र पनि इङनाम (२०७७ः६१२–१३) ले प्रकाशमा ल्याएका छन् । पत्रमा “...छौदेन् जिमि अघि निराजो छंदा. रोदुवा. साधि. त्यो जगा उकास्दा. तम्रो पुर्षाले पायाको जिमिदार. छौदेन् हाङ्ले दियाको रहेछ. आजु रुपैञाँ. ७२५ रुपैञाँ दामलाई. याका मझिया ठोकि अरु महोर. विर्ता गन्र्या संग. झगरा गरि. अघिको आफ्नु रेष सच्याई...वक्साई. महोर गरि तेस् जग्गामा लाग्याका स्याक सरह तिरि भाम्याको आफ्नु जिमि. रहेछ. हामिले पनि अदालथवाट जाँचिवुझि. तम्रो चलन. थामिदिञुं” भन्ने परेको छ । तर इङनामले यस पत्रमा उल्लिखित मुद्दा छिन्ने एक व्यक्तिको नाम भने अशुद्ध रूपमा उल्लेख गरेका छन् ।
मुद्दा छिन्ने डिट्ठाको नाम श्री मु. बुद्धि लेखेका छन् तर सक्कलमा श्री शुबुद्धि रहेको छ । त्यो समय सुबुद्धि खड्का दरबारमा न्याय क्षेत्र हेर्ने भारदारका रूपमा सक्रिय थिए । इतिहासकार ज्ञानमणि नेपालले ‘नेपालमा महाभारत’ (२०५२ः४८–४९) ले उल्लेख गरे अनुसार विसं १८५८ असोज वदी ६ मा तत्कालीन मूलकाजी कीर्तिमानसिंह बस्न्यातको हत्या भयो । यस काण्डमा सरदार प्रतिमन राना, गर्भु खवास, इन्द्रसिंह खवास काटिए । काजी देवदत्त थापाको आँखा झिकियो । कतिपयलाई थुनामा राखियो भने कतिपय देशनिकाला भए । खाली हुन आएको मूलकाजीमा नायब महारानी सुवर्णप्रभाले कीर्तिमानसिंहकै भाइ बख्तावरसिंह बस्न्यातलाई मूलकाजी गराउँदा अमरसिंह थापालाई काजी र डिट्ठा सुबुद्धि खड्कालाई सरदार मान दिइएको थियो ।
खेवा लिम्बूहरूलाई छोङदेनको जग्गासम्बन्धी मुद्दामामिलामा जितापत्र दिने न्यायकर्मी पनि उनै सुबुद्धि खड्का हुन् भन्ने स्पष्ट छ ।
त्यसबेला छोङदेनहरूले खेवाहरूलाई छाडिदिएको यस जग्गासम्बन्धी उनीहरूको कोसँग मुद्दा मामिला परेको रहेछ छ त ? इङनाम (२०७७:६११) यसै जग्गा सम्बन्धमा विसं १८५८ अगहन (मङ्सिर) वदी ५ रोज ४ मा चैनपुर अदालतबाट विचारीहरू गंवतपति पाध्या र जोखु खड्काले खेवाहरूको पक्षमा मुद्दा छिनेर दिएको कस्यपत्रमा “षेवा राई के छुम्दिं जिमि वापत आङ्द्रुं मझिया सित वाझि आउदा...” भन्ने परेको छ ।
यताबाट हेर्दा त्यसबेला मझिया पद याक्खाहरूले पाउने गरेको र आन्द्रुङ (साकिकको अर्खौले जितपुर र हाल महालक्ष्मी नगरपालिका क्षेत्र याक्खाहरूकै पुरानो जिम्माको किपट भएकाले खेवाहरूको जग्गासम्बन्धी त्यसबेलाको मुद्दा याक्खाहरूसँग परेको भन्ने स्पष्ट हुन्छ ।